१९ मंसिर २०८२, शुक्रबार

राैटहटमा घाँस काट्न गएका तीन बालिकाको खाल्टोमा डुबेर मृत्यु

प्रकाशित मिति :  13 October, 2025 1:54 pm


काठमाडाैँ । रौतहटको राजदेवी नगरपालिका–८, लक्ष्मीपुर आज शोकमा डुबेको छ । बिहानै घाँस काट्न निस्किएका सात बालिकामध्ये तीनको जीवन पानीले भरिएको एउटा सानो खाल्टोमा समाप्त भयो ।

गाउँका लागि त्यो खाल्टो केवल पानीको थुप्रो थिएन, तीन परिवारका सपनाको समाधि बनेको छ । १३ वर्षिया आस्था बैठा, १५ वर्षिया राघनी यादव र १५ वर्षिया मौसमी बैठा घाँस काट्न जाँदै गर्दा बाटोमा परेको पानीको खाल्टो तर्ने प्रयासमा डुबेर मृत्यु भइन् ।

स्थानीयहरूका अनुसार ती बालिकाहरू बिहानै समूहमा निस्किएका थिए। चार साथीहरू खाल्टो पार गरे पनि ती तीन नानीहरू डुबेर हराइन् ।

खाल्टो साधारण देखिए पनि तलपट्टि गहिरो थियो, पानी मक्किएको र हरियो बुट्यानले ढाकिएकोले खतरा कसैले महसुस गरेको थिएन । जब उनीहरू हराइन्, गाउँभर त्रास फैलियो । उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी, सेना र भन्सार गार्डको टोली तत्काल घटनास्थल पुग्यो तर जब उनीहरूलाई बाहिर निकालियो, जीवनको कुनै चिन्ह बाँकी थिएन । अस्पताल पुर्‍याउँदा चिकित्सकहरूले मृत घोषणा गरेपछि गाउँमा रुवाबासी मच्चियो ।

यो घटना केवल डुबेर मृत्युको समाचार होइन, ग्रामीण जीवनको कडुवा यथार्थ हो-जहाँ बालिकाहरू खेल्ने उमेरमा श्रमका जिम्मेवारी बोकेर बिहान सबेरै खेततर्फ निस्किन्छन् ।

रौतहटलगायत तराईका गाउँहरूमा किशोरीहरू अझै पनि घरका काम, घाँस–दाउरा र पशुपालनमा व्यस्त हुन्छन् । उनीहरू विद्यालयको घण्टीभन्दा अघि खेतमा पुग्छन् र बाल्यकाल बिस्तारै जिम्मेवारीको बोझमा हराउँछ ।

बाल अधिकारकर्मीहरूको भनाइमा, यस्तो दुर्घटना बालश्रम, गरिबी र असुरक्षित जीवनको परिणाम हो, जसले हरेक वर्ष बालबालिकाको जीवन जोखिममा पारिरहेको छ ।

स्थानीय समाजसेवी सविता यादव भन्छिन्, “यी नानीहरू खेल्न होइन, परिवारको पेट पाल्न खेतमा गएका थिए। राज्यले उनीहरूको बाल्यकाल जोगाउन सकेन ।” यो कथन केवल तीन परिवारको पीडा होइन, सयौँ गरिब घरको साझा कथा हो, जहाँ बालबालिका शिक्षाको अधिकारभन्दा पहिले जिम्मेवारीको पाठ सिक्छन्।

घटनास्थल रहेको सडकमा न त पानी निस्कने निकास छ, न चेतावनी बोर्ड। वर्षा भएपछि सडक पोखरी बन्छ र पोखरी खाल्टोमा परिणत हुन्छ ।

स्थानीय शिक्षक गणेश बैठा भन्छन्, “यदि सडकमा पानीको निकास बनाइएको भए, आज यी बालिकाहरू बाँच्थे।” स्थानीय प्रशासनले अब खाल्टाहरू तत्काल पुरिने, चेतावनी बोर्ड राखिने र बालबालिकालाई जोखिमयुक्त स्थानमा नजान सचेत गरिने जनाएको छ। तर यस्ता प्रतिबद्धता विगतमा पनि धेरै पटक सुनिएका छन्, कार्यान्वयन भने दुर्लभ छ।

यो पहिलो घटना होइन । केही दिनअघि मात्र रौतहटकै देवाही गुनाही नगरपालिकाको कर्कच कर्मैया गाउँमा दुई बालिका पोखरीमा डुबेर मृत्यु भएकी थिइन् ।

प्रत्येक घटनापछि “दुःखद छ, अनुसन्धान हुन्छ” भन्ने वाक्य दोहोरिन्छ तर हरेक दोहोरिएको वाक्यसँगै राज्यको संवेदनशीलता अझै गहिरो खाल्टोमा डुबिरहेको अनुभूति हुन्छ।

रौतहटमा आज तीन नानीहरू पानीको खाल्टोमा हराइन्, तर वास्तवमा उनीहरू व्यवस्थाको गहिराइमा डुबेका हुन्— जहाँ गरिबी, असुरक्षा र राज्यको अनुपस्थिति छ। त्यो खाल्टो पुरिँदा केवल माटो होइन, चेतनाको तह पनि उचालिन जरुरी छ। ती बालिकाहरूको मृत्युले अर्को नानीको जीवन जोगाउने चेतना जगाओस्।



प्रतिक्रिया दिनुहोस !