१९ मंसिर २०८२, शुक्रबार

तिहारको मुखमा देश छाड्दै गर्दा युवाहरू भने-सरकारले राेजगारीकाे सिर्जना गराेस्

प्रकाशित मिति :  19 October, 2025 5:03 pm


काठमाडाैँ । तिहारको रौनक घरघरमा पस्न थालेको छ तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने उल्टो दृश्य देखिन्छ-हजारौँ नेपालीहरू परिवारको हात छोडेर परदेशतर्फ उड्दै छन् ।

पछिल्ला केही दिनमा विमानस्थलमा विदेशिने यात्रुको चाप उल्लेख्य रूपमा बढेको अध्यागमन कार्यालयले जनाएको छ । चाडबाडको बेला रोजगारी, अध्ययन र अन्य कारणले वैदेशिक गन्तव्यतर्फ प्रस्थान गर्नेहरूको संख्या तीव्र गतिमा बढिरहेको छ ।

अधिकांश यात्रुहरू खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया र अन्य श्रम गन्तव्यहरूतर्फ उडिरहेका छन् । घरमा दियो बाल्ने बेला परदेश उड्न बाध्य युवाहरूको अनुहारमा खुशीभन्दा बढी बिछोडको पीडा झल्किन्छ ।

वैदेशिक रोजगारीका लागि मलेसिया जान लागेका श्यामकुमार रैला भन्छन्, “चाडबाडको मुखमा आफ्नो स्वदेशी भूमि छाडेर विदेश जानुपर्दा हरेक नेपालीलाई नराम्रै लाग्छ । नयाँ सरकारले देशमै रोजगारीको वातावरण बनाओस् भन्ने हाम्रो चाहना हो ।”

रैलाको भनाइमा, नयाँ नेतृत्वले युवालाई देशमै टिकाउने नीतिगत परिवर्तन गर्न सके मात्रै “विदेशको फ्लाइटभन्दा नेपालमै अवसरको बाटो खुल्ने” छ ।

एकातिर देशभित्र तिहारको दीप र फूलमालाले उज्यालो बढ्दै छ । अर्कातिर विमानस्थलका डिपार्चर गेटमा देश छाड्ने युवाको लामो लाइन, जसले नेपालको यथार्थ झल्काउँछ-उत्सव घरमा बाँकी, र श्रम विदेशमा जारी ।



प्रतिक्रिया दिनुहोस !