तिहारको चौथो दिन गाई पूजा : गौमाताको संरक्षणमा अब धर्मको परीक्षा
काठमाडाैँ । नेपालभर आज तिहारको चौथो दिन गाई पूजा भव्य रूपमा मनाइँदैछ। यमपञ्चकको यस दिनलाई गाईको आराधना र कृतज्ञताको प्रतीकका रूपमा हेरिन्छ तर धार्मिक संस्कारसँगै अहिले यसको अर्थ ‘संरक्षणको जिम्मेवारी’ तिर पनि केन्द्रित हुन थालेको छ।
घरमा गाई भएका परिवारले बिहानै दुध, दही, अक्षता र माला चढाउँदै पूजा गरे भने शहरमा रहनेहरूले पशुपति र विभिन्न गौशालामा पुगेर गाईको आराधना गरेका छन्। पशुपति गौशालामा आज बिहानदेखि भक्तजनहरूको भीड लागेको छ।
वैदिक परम्पराअनुसार गाई पूजा गर्दा दुध दिने गौमाताप्रति आभार व्यक्त गरिन्छ। गाईलाई दियो बालेर मीठा परिकार चढाइन्छ र धार्मिक विश्वास अनुसार यस दिन गाईको पुच्छरमा रक्षाबन्धन बाँधिदिँदा मृत्युपश्चात वैतरणी नदी पार गर्न सजिलो हुन्छ।
तर धार्मिक उत्सवको बीचमा पनि गाईको व्यवस्थापन र संरक्षणप्रति चिन्ता बढ्दै गएको छ। पशुपति क्षेत्रमा गाईका लागि दाना र पानी व्यवस्थापनमा समस्या भइरहेकाे भन्दै सामाजिक अभियन्ता आर.बी. न्यौपानेले सरकारप्रति आक्रोश व्यक्त गरे।
“यो देश देवभूमि हो, तर जिउँदो देवता गाईको अपमान भइरहेको छ,” न्यौपानेले भने, “राति ९ बजेसम्म मात्रै दाना ल्याउन दिने, बिहान रोक्ने जस्ता निर्णयले गाईलाई भोकै राखिन्छ। गाई बचाउने अभियान अब धार्मिक कर्तव्य बन्नुपर्छ।”
उहाँले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई गाई संरक्षणलाई राष्ट्रिय नीति बनाउने आग्रहसमेत गर्नुभयो। “गाईको व्यवस्थापन सरकारका प्राथमिकतामा पर्नुपर्छ,” उनले जोड दिए ।
त्यस्तै, गाई संरक्षण अभियन्ता हीरा पाण्डेले गाईलाई केवल पूजा होइन, माताको रूपमा सम्मान गर्नुपर्ने बताइन्। “गाईमा ३३ कोटी देवताको वास छ,” उनले भनिन्, “जन्मदेखि मृत्युपर्यन्त गाई हाम्रो संस्कृतिसँग गाँसिएको छ। गाईको सम्मान गर्नु भनेको हाम्रो धर्म र अस्तित्वको रक्षा गर्नु हो।”
आजको गाई पूजा केवल परम्पराको पुनरावृत्ति होइन — यो समाज र राज्य दुवैको चेतना परीक्षणको क्षण बनेको छ। दीपावलीको उज्यालो जस्तै, गाईको संरक्षणमा पनि देशले उज्यालो सोच अपनाउने समय आएको छ।








