सुशासन र समाज रूपान्तरण सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन प्रवर्द्धन र समाज रूपान्तरणलाई सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् ।
तिहार–२०८२ का अवसरमा जारी शुभकामना सन्देशमा उहाँले तिहारले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको भावना मजबुत बनाउने विश्वास व्यक्त गरे।
मुख्यमन्त्री आचार्यले तिहारजस्ता सांस्कृतिक पर्वहरूले मानव, प्रकृति र प्राणीबीचको सम्बन्धलाई उजागर गर्दै समाजलाई सत्य, न्याय र सकारात्मक सोचतर्फ उन्मुख गराउने बताए ।
उनले देउसी–भैलोबाट सङ्कलित रकम समाजोपयोगी कार्यमा प्रयोग गर्ने परम्परा हाम्रो साझा सम्पदा भएकाले यसको संरक्षण सबैको दायित्व भएको उल्लेख गरे ।
उहाँका अनुसार प्रदेश सरकारले सुशासनलाई प्राथमिकतामा राख्दै पारदर्शिता अभिवृद्धि, भ्रष्टाचार न्यूनीकरण र चालू खर्च कटौतीका ठोस कदम चालेको छ ।
पूर्वविशिष्ट पदाधिकारीका सेवा–सुविधा खारेजदेखि नै जनउत्तरदायी शासन निर्माणमा सरकार प्रतिबद्ध रहेको उनले बताए ।मुख्यमन्त्री आचार्यले युवा पुस्ताको सोच र नवप्रवर्तनलाई आत्मसात् गर्दै आत्मनिर्भर र समृद्ध लुम्बिनी निर्माणको दिशामा सरकार अघि बढिरहेको उल्लेख गरे ।
कृषि, पशुपालन, उद्यम र रोजगारीलाई प्राथमिकता दिएर ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ अभियान सञ्चालन भइरहेको उनले जानकारी दिए ।
संविधानको पूर्ण कार्यान्वयनमार्फत मात्र देशका समस्या समाधान हुन सक्ने विश्वास प्रदेश सरकारले लिएको बताउँदै उनले स्थायित्व, सुशासन र विकासका लागि सबैको साझा प्रतिबद्धता आवश्यक रहेको धारणा व्यक्त गरे ।
मुख्यमन्त्री आचार्यले तिहार पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व बढाउँदै सामाजिक तथा सांस्कृतिक एकता सुदृढ बनाउने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरे ।








