देशभर स्थिर मौसम : केही पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
दाङ । देशभर हाल कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार दिउँसो देशका सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको हो ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
शनिबार राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी अधिकांश भागमा मौसम सफा रहने अनुमान गरिएको छ ।
मौसमविद्हरूका अनुसार हाल देशभर स्थिर मौसमी अवस्था रहेको भए पनि उच्च पहाडी क्षेत्रमा हल्का अस्थिरता देखिन सक्ने सम्भावना छ ।
सामान्य वर्षा र हिमपातका कारण चिसो बढ्ने भएकाले पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।








