देशभर पश्चिमी वायुको न्यून चापीय प्रणालीको प्रभाव : वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। यसका कारण आज देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली र केही स्थानहरूमा वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश सहितका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने तराईका क्षेत्रमा आंशिक बदली रहनेछ ।
उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ । आज राति पनि बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी क्षेत्रमा साधारणतया बदली रहने र बाँकी तराई भू–भागमा आंशिक बदली रहिरहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार विशेषगरी गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र अन्य प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ । मौसमविद्हरूले यस अवधिमा पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरेका छन् ।








