छठका बर्तालु बिहानै स्नान गरी निर्जल व्रत बसे, अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै
दाङ । कात्तिक महिनाको तेजिलो घामसँगै आज देशभर छठ पर्वको पवित्रता र भक्तिभावले वातावरण आलोकित बनेको छ। सूर्यदेव, षष्ठी माता र पवित्र नदीहरूको पूजाआराधना गरी मनाइने यो पर्वमा बर्तालुहरूले बिहानै स्नान गरेर कठोर निर्जल व्रत सुरु गरेका छन्।
आज कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन हो । दिनभर निराहार बसेका बर्तालुहरूले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै पूजाआराधना गर्ने परम्परा छ ।
तराईसहित देशका विभिन्न स्थानका नदी किनारमा निर्माण गरिएका छठघाटहरूमा भक्तजनहरूको भीड बढ्दै गएको छ। महिलाहरू पूजाका सामग्रीसहित घाटतर्फ लागेका छन् भने वरिपरि दीप र फूलमालाले सजिएका नदीकिनारले आध्यात्मिक वातावरण उज्यालो बनाएका छन् ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्य उपासना पर्व शनिबारदेखि सुरु भएको हो । ऐतिहासिक ग्रन्थ महाभारत अनुसार अज्ञातवासमा रहेका पाण्डव र द्रौपदीले सूर्यदेवको आराधना गरी गुप्तवास सफल होस् भनी यो व्रत गरेका थिए । त्यसै समयदेखि छठ पर्व मनाउने परम्पराको सुरुआत भएको जनविश्वास छ ।
सूर्य पुराणमा उल्लेख भएअनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेर अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेकी थिइन्। त्यही घटनाबाट यो पर्व धार्मिक परम्पराका रूपमा स्थापित भएको मानिन्छ।
व्रतविधि
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक मात्र भोजन गरेर बस्ने परम्परा छ। त्यसपछि पञ्चमीका दिन सक्खर मिसाइएको खीर (खरना) षष्ठी मातालाई अर्पण गरी बर्तालुले प्रसादस्वरूप ग्रहण गर्छन् ।
षष्ठीका दिन कठोर निराहार व्रत बस्दै बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने प्रमुख विधि हुन्छ। गुह्येश्वरी–गौरीघाट छठ पूजा समितिका अनुसार, सप्तमीका बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि व्रतको समापन गरिन्छ ।
धार्मिक विश्वासअनुसार यस व्रतमा सूर्यदेवलाई अघ्र्य अर्पण गर्नेले चर्मरोगबाट मुक्ति पाउँछन् र परिवारमा आरोग्यता, समृद्धि र सौभाग्य रहन्छ ।
तराई क्षेत्रमा सीमित रूपमा मनाइँदै आएको छठ पर्व विसं २०४६ पछि राष्ट्रिय पर्वको स्वरूपमा फैलिएको हो। त्यस वर्षदेखि नै सरकारले देशभर सार्वजनिक बिदा दिन थालेको छ। केही समय बिदा स्थगित गरिएको भए पनि हाल पुनः सार्वजनिक बिदा दिने परम्परा जारी छ ।
राजधानीमा छठ पर्वका लागि गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, बागमती, नक्खु र विष्णुमती नदी किनारलगायत स्थानहरू आकर्षक रूपमा सजाइएका छन् ।
बर्तालुहरू कार्तिक चतुर्थीदेखि नै सात्विक भोजन सेवन गर्दै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ परित्याग गर्छन्। कतिपय व्रतालुहरूले कोजाग्रत पूर्णिमापछि नै व्रतको तयारी आरम्भ गर्ने गर्छन् ।
सूर्य आराधना, आत्मसंयम र शुद्धताको प्रतीकका रूपमा स्थापित छठ पर्व आज देशभर श्रद्धा, समर्पण र आध्यात्मिक ऊर्जा सँगाल्दै मनाइँदैछ ।








