१९ मंसिर २०८२, शुक्रबार

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव : देशभर बदली, हिमपात र वर्षाको सम्भावना

प्रकाशित मिति :  28 October, 2025 8:13 am


दाङ । हाल नेपालमा पश्चिमी वायुको सक्रियता र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रभावका कारण देशभरको मौसम आज (मंगलबार) दिनभर साधारणतया बदली रहने अनुमान गरिएको छ ।

महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ । त्यस्तै, तराईका एक–दुई स्थानमा हल्का वर्षा हुने अनुमान गरिएको छ।

यससँगै बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाड तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा वा हिमपात पनि हुन सक्ने पूर्वानुमान गरिएको छ ।

आज राति कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश पहाडी भेगमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।

राति पनि गण्डकी प्रदेशका केही स्थानमा र बागमती, लुम्बिनी तथा कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले मौसमको प्रभावका कारण उच्च पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन, यात्रुहरूलाई सावधानीपूर्वक यात्रा गर्न र कृषि क्षेत्रका सरोकारवालाहरूले सम्भावित हानी रोकथामका उपाय अपनाउन आग्रह गरेको छ।



प्रतिक्रिया दिनुहोस !