१९ मंसिर २०८२, शुक्रबार

चक्रवात ‘मोन्था’को असर घट्दै : हिमपात र भारी वर्षाको जोखिम अझै यथावत

प्रकाशित मिति :  31 October, 2025 8:38 am


काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र त्यससँग सम्बन्धित न्यूनचापीय प्रणालीको प्रभावले देशभर परेको अविरल वर्षा आज साँझपछि क्रमशः घट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर, मौसम सुधारको संकेत देखिए पनि हिमाली र पहाडी क्षेत्रहरूमा अझै वर्षा र हिमपातको जोखिम कायमै रहेको महाशाखाको चेतावनी छ।

हाल कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आकाश पूर्ण रूपमा ढाकिएको छ भने बाँकी प्रदेशहरूमा सामान्य बदली छ। दिउँसोसम्म यी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा जारी रहने पूर्वानुमान गरिएको छ।

साथै, कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा तथा लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा भारी वर्षा हुन सक्ने सम्भावना छ।महाशाखाका अनुसार कोशी, बागमती र गण्डकीका उच्च पहाडी र हिमाली भूभागमा मध्यमदेखि भारी हिमपातको सम्भावना उच्च छ ।

हिमपातका कारण तापक्रममा उल्लेख्य गिरावट आउँदा दैनिक जनजीवन र यातायातमा असर पर्न सक्ने अनुमान गरिएको छ ।कृषक, यात्रु र सवारी चालकलाई सतर्क रहन महाशाखाले पुनः आह्वान गरेको छ ।

विशेष गरी पहाडी सडक खण्डहरूमा पहिरो र सडक अवरुद्ध हुने सम्भावना रहेकाले वैकल्पिक तयारी गर्न सुझाव दिइएको छ । मौसमविद्हरूका अनुसार ‘मोन्था’को सक्रियता क्रमशः कमजोर हुँदै गएको छ तर त्यसले ल्याएको चिसो हावाको प्रभाव केही दिन रहिरहनेछ। त्यसैले निकट भविष्यमा पनि उच्च भूभागमा हिमपात र चिसो हावाको असर कायम रहने सम्भावना छ।



प्रतिक्रिया दिनुहोस !