१९ मंसिर २०८२, शुक्रबार

आजकाे माैसम : पश्चिमी वायुको प्रभाव, चार प्रदेशमा वर्षाको सम्भावना

प्रकाशित मिति :  1 November, 2025 7:15 am


देउखुरी । बङ्गालको खाडीबाट विकसित भई पछिल्ला दिनमा सक्रिय रहेको चक्रवात ‘मोन्था’ गएरातिदेखि कमजोर हुँदै न्यूनचापीय क्षेत्रमा रूपान्तरण भएको छ ।

हाल यसको असर भारतको छत्तीसगढ आसपास केन्द्रित भए पनि यसको आंशिक प्रभाव नेपालमा अझै विद्यमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, चक्रवात कमजोर भए पनि त्यसले ल्याएको नमी र हावाको प्रभावका कारण नेपालका पूर्वी र मध्य भागमा अझै वर्षा र हिमपातको गतिविधि देखिँदैछ ।

हाल कोशी प्रदेशमा पूर्ण बदली छ भने बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि अधिकांश ठाउँमा बादल लागेको छ । बिहानैदेखि कोशी, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसोसम्म पनि पूर्वी र मध्यम भूभागमा सामान्य बदली रहने तथा कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, गण्डकी र कोशीका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का हिमपात हुन सक्ने चेतावनी दिइएको छ ।

महाशाखाका मौसमविद्हरूका अनुसार, अरब सागरमा विकसित अर्को प्रणाली र छत्तीसगढ क्षेत्रको न्यूनचापीय प्रणालीले नेपालको पूर्वी भागमा थप नमी पुर्‍याइरहेको छ । यसले मौसममा अस्थिरता ल्याउँदै हल्का वर्षा र हिमपातको अवस्था बनाइरहेको बताइएको छ ।

राति पनि आंशिक बदली रहने पूर्वानुमान छ । विशेषगरी पूर्व र मध्य पर्वतीय भेगमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना कायम रहनेछ ।

यद्यपि, मौसमविद्हरूले चक्रवात ‘मोन्था’को प्रभाव क्रमशः कमजोर हुँदै जाने र आगामी २४ घण्टामा मौसम क्रमशः खुल्ने अनुमान गरेका छन् । महाशाखाले विशेषगरी पूर्वी र हिमाली भेगमा यात्रा वा कृषिकर्म गर्ने नागरिकलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

पछिल्ला दिनमा चक्रवातका कारण नेपालका केही भागमा धेरै स्थानमा आकाश धुम्म, तापक्रम घट्ने र हल्का वर्षा हुने क्रम जारी रहेको थियो । अब प्रणाली कमजोर भएपछि देशभर मौसम क्रमशः सामान्यतर्फ फर्किने संकेत देखिएको छ।



प्रतिक्रिया दिनुहोस !