१९ मंसिर २०८२, शुक्रबार

देशभरको मौसममा सुधार : केही पहाडी क्षेत्रमा अझै वर्षा र हिमपातको सम्भावना

प्रकाशित मिति :  2 November, 2025 8:22 am


काठमाडौँ । बङ्गालको खाडीबाट उत्पन्न ‘मोन्था’ चक्रवातको प्रभाव कमजोर हुँदै गएपछि देशभरको मौसममा क्रमशः सुधार हुँदै गएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार चक्रवातको असर घट्दै गएसँगै आजदेखि मौसम थप सफा हुने क्रम जारी रहनेछ । यद्यपि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा आज पनि हल्का वर्षा र हिमपातको सम्भावना कायम रहेको छ ।

पश्चिमी वायु र अरब सागरमा विकसित न्यून चापीय प्रणालीको प्रभाव अझै बलियो रहेकाले देशका केही भूभागमा आंशिक बदली देखिएको विभागले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली र अन्य क्षेत्रमा मुख्यतया सफा मौसम रहने पूर्वानुमान गरिएको छ ।

त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने सम्भावना छ ।

विभागका अनुसार, चक्रवातको प्रभाव घट्दै गए पनि उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ ।



प्रतिक्रिया दिनुहोस !