१९ मंसिर २०८२, शुक्रबार

जनताको स्वास्थ्यका लागि एकजुट स्वास्थ्यकर्मी : राष्ट्रिय स्वास्थ्य महासंघको तेस्रो बैठक सम्पन्न

प्रकाशित मिति :  2 November, 2025 2:47 pm


देउखुरी । “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने नारा बोकेर राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, लुम्बिनी प्रदेश कार्यसमितिको तेस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम भालुबाङमा सम्पन्न भएको छ ।

बैठकले स्वास्थ्यकर्मीबीच एकता र जिम्मेवारीको भावना फैलाउँदै समुदायस्तरमा नसर्ने रोग नियन्त्रण, योग–ध्यान प्रवर्द्धन र मानसिक स्वास्थ्य सुदृढीकरणका अभियान विस्तार गर्ने निर्णय गरेको छ ।

साथै, हाल स्वास्थ्यकर्मी तथा नर्सिङ आन्दोलनमा ऐक्यबद्धता जनाउँदै प्रत्येक जिल्लामा प्रशासनमार्फत् ज्ञापनपत्र बुझाउने, रक्तदान कार्यक्रम सञ्चालन गर्ने तथा जनचेतनामूलक गतिविधि अघि बढाउने निष्कर्ष निकालेको छ ।

बैठकमा प्रमुख अतिथि महासंघका केन्द्रीय महासचिव भीमराज सिंह र विशेष अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुको उपस्थिति रहेकाे थियाे ।

मन्त्री सारुले नीति, नेतृत्व र व्यवस्थापनमा स्वास्थ्यकर्मीको भूमिकाबारे प्रस्तुत गर्दै भने “बिरामीको मर्म बुझेर आत्मानुभूति सहित सेवा प्रवाह गर्न सकियो भने स्वास्थ्य प्रणाली नै जनमुखी बन्न सक्छ ।”

त्यस्तै, डा. सूर्यमणि बेल्बासेले जनताको बहुदलीय जनवादका सैद्धान्तिक पक्षमा प्रशिक्षण दिएका थिए । वक्ताहरूले स्वास्थ्य सेवा चुस्त, दुरुस्त र प्रभावकारी बनाउन एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

बैठक अध्यक्ष दोर्णबहादुर ओलीको अध्यक्षतामा सम्पन्न भएकाे थियाे । उनले सांगठनिक तथा आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी स्वास्थ्य दर्पण प्रकाशन, सिएमई कक्षा सञ्चालन, घटक संगठनका भेला, स्वास्थ्य बीमा सुदृढीकरण, अस्पताल सरसफाइ तथा करार सेवामा कार्यरत कर्मचारीका तलब–सुविधा सुधारका विषयमा आगामी कार्ययोजना सार्वजनिक गरे ।

बैठकमा १२ जिल्लाका स्वास्थ्यकर्मी, जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र जिल्ला इन्चार्जहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा केन्द्रीय उपमहासचिव खगराज पोखरेल, अनुशासन आयोगका अध्यक्ष चिन्तामणि ज्ञवाली, डा. प्रशान्त पराजुली, प्रदेश इन्चार्ज राजकुमार पौडेललगायतका वक्ताहरूले संगठनको निरन्तरता र उद्देश्यप्रति शुभकामना व्यक्त गरेका थिए ।

बैठकले हाल चलिरहेको जेन्जी आन्दोलनका कारण स्वास्थ्य सेवा प्रवाहमा परेको असर र त्यसका समाधानका उपायहरूबारे पनि गम्भीर छलफल गरेको थियो ।

बैठकले अन्ततः जनताका लागि स्वास्थ्य सेवा अझ सहज, सुलभ र गुणस्तरीय बनाउने साझा प्रतिबद्धता व्यक्त गर्दै “स्वास्थ्यकर्मी एकताको सन्देश” सम्पूर्ण लुम्बिनी प्रदेशमा फैलाएको छ ।



प्रतिक्रिया दिनुहोस !