१९ मंसिर २०८२, शुक्रबार

पश्चिमी वायुको प्रभाव कायम : हिमाली क्षेत्रमा पुनः हल्का वर्षाको सम्भावना

प्रकाशित मिति :  3 November, 2025 6:39 am


देउखुरी । नेपालमा पश्चिमी वायुको प्रभाव अझै कायम रहँदा देशका पहाडी र हिमाली क्षेत्रमा फेरि हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार अधिकांश भू–भागमा आंशिक बदली रहनेछ भने देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।कोशी र गण्डकी प्रदेशका केही उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ।

हालै बंगालको खाडीमा विकसित ‘मोन्था चक्रवात’का कारण भएको वर्षाले देशका विभिन्न भागमा जनजीवन प्रभावित बनेको थियो। हिमाली क्षेत्रमा भएको लगातारको हिमपातका कारण मनाङको तिलिचो ताल क्षेत्रका १३ पर्यटक फसेका थिए, जसलाई सशस्त्र प्रहरीले सफलतापूर्वक उद्धार गरेको थियो ।

राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक १५ देखि १६ गते बिहानसम्म देशभरका ३०१ वर्षा मापन केन्द्रमध्ये १८५ केन्द्रमा उल्लेख्य वर्षा मापन गरिएको थियो । तीमध्ये सबैभन्दा बढी वर्षा लमजुङको बेंसीशहरमा ७१.१ मिलिमिटर र चार केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको तथ्यांकमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !