१९ मंसिर २०८२, शुक्रबार

लुम्बिनी प्रदेशको उद्योग क्षेत्र बढ्दै : उत्पादन र क्षमता उपयोग भने निरन्तर गिर्दै

प्रकाशित मिति :  17 November, 2025 1:55 pm


दाङ । लुम्बिनी प्रदेशमा उद्योग दर्ता, लगानी र कर्जा विस्तारको गति उल्लेखनीय रूपमा बढिरहेको देखिन्छ। प्रदेशमा हालसम्म ७५६ उद्योग दर्ता भएका छन् ।

रूपन्देहीले करिब ३८.६२ प्रतिशत उद्योग समेट्दै प्रदेशको औद्योगिक केन्द्रको रूपमा आफ्नो महत्त्व राखेको छ भने प्युठान र रोल्पामा उद्योगको उपस्थिति केवल ०.४० प्रतिशतमा सीमित छ ।

बुटवल र नेपालगञ्ज औद्योगिक क्षेत्रका केही उद्योग बन्द अवस्थामा हुनु प्रदेशको औद्योगिक संरचना पूर्णरूपमा गतिशील बन्न नसकेको संकेत हो। उद्योगको संख्यामा विस्तार भए पनि तिनको भौगोलिक वितरण कमजोर छ र सञ्चालनका क्रममा व्यवसायिक स्थिरता अभाव देखिन्छ।

लुम्बिनीको औद्योगिक क्षमताको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ । प्रदेशका २८ उद्योगहरूको औसत क्षमता उपयोग अघिल्लो वर्षको ५६.३६ प्रतिशतबाट घटेर यस वर्ष ५०.६० प्रतिशतमा झरेको छ ।

यसको मुख्य कारण कच्चा पदार्थको अभाव, अनियमित विद्युत् आपूर्ति, बजार मागको सुस्तता, राजनीतिक अस्थिरता तथा श्रम पलायनका कारण कुशल जनशक्तिको कमी हो ।

धेरै उद्योग आफ्नो वास्तविक क्षमताको आधाभन्दा कममा चलिरहेका छन्, जसले प्रदेशको कुल औद्योगिक उत्पादनमा प्रत्यक्ष नकारात्मक प्रभाव पारिरहेको छ ।

उद्योग क्षेत्रमा रोजगारीको अवस्था पनि स्थिर छैन । यो वर्ष नमुनामा समावेश उद्योगहरूले दिएको प्रत्यक्ष रोजगारी संख्या ४,९८८ मा झरेको छ, जुन गत वर्षको ५,०९४ भन्दा कम हो ।

दक्ष जनशक्ति विदेशतिर आकर्षित भइरहेकाले भित्र्याइएका लगानी र दर्ता भएका उद्योग सञ्चालनमा ठूलो चुनौती थपिएको छ। पर्याप्त अवसर हुँदाहुँदै पनि उद्योगहरूले उत्पादन विस्तारमा आवश्यक मानव संसाधन जुटाउन नसक्नु लुम्बिनीको औद्योगिक स्वास्थ्यको कमजोर पक्ष हो ।

यता, प्रदेशमा औद्योगिक कर्जा भने वृद्धि भएको छ । २०८२ असार मसान्तसम्म प्रदेशका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको उद्योगसम्बन्धी कर्जा ६.९३ प्रतिशतले बढेर कुल रु. १ खर्ब ४१ अर्ब २ करोड ६० लाख पुगेको छ ।

कुल कर्जामध्ये २४.४३ प्रतिशत हिस्सा उद्योग क्षेत्रमै गएको छ, जसले वित्तीय संस्थाहरूको उद्योगप्रतिको रुचि अझै कायम रहेको देखाउँछ तर गैर–खाद्य वस्तु तथा निर्माण क्षेत्रमा कर्जा घट्नु बजार सुस्त भएको संकेतका रूपमा लिइएको छ। उद्योग स्थापित भइरहेका भए पनि तिनलाई टेवा दिने बजार पक्ष बलियो नभए उत्पादन र व्यापार वृद्धि अवरुद्ध भइरहेकै छ।

उद्योग उत्पादनको अवस्थाले मिश्रित चित्र प्रस्तुत गरेको छ । केही उद्योगमा उत्पादन वृद्धि प्रभावशाली छ-जस्तै सिंथेटिक कपडा उद्योगले १७०.७७ प्रतिशतले वृद्धि भएको छ तर एलुमिनियमजन्य उत्पादनमा ६७.०१ प्रतिशत गिरावट आएको छ, यद्यपि यसमा उद्योग ढिलो दर्ता भई छोटो अवधिको उत्पादन मात्र समावेश भएकाले वास्तविक गिरावट जति देखिन्छ त्यति गम्भीर नहुन सक्छ ।

यी सबै चुनौतीबीच पनि लुम्बिनी प्रदेशमा उद्योग विस्तारका पर्याप्त सम्भावनाहरू देखिन्छन् । रुपन्देहीको मोतिपुर र बाँकेको नौवस्तामा विकास भइरहेका आधुनिक औद्योगिक क्षेत्रहरूले नयाँ उद्योग स्थापना तथा लगानी अभिवृद्धिमा ठूलो योगदान गर्न सक्ने अपेक्षा गरिएको छ ।

यसैगरी प्रदेशमा प्रशस्त मात्रामा पाइने उच्च गुणस्तरको चुनढुंगा सिमेन्ट तथा क्लिंकर उत्पादन विस्तार र भारततर्फ निर्यात बढाउने आधार बन्दै गएको छ ।

पहाडी तथा हिमाली क्षेत्रका जडिबुटीहरूले जडिबुटी प्रशोधन उद्योगको सम्भावना निर्माण गरेका छन् भने निकुञ्ज र वन क्षेत्रले वन पर्यटन तथा कच्चा पदार्थ–आधारित उद्योग विस्तारको सम्भावना थप उघार्दै छन् ।

व्याजदर घटिरहेको वित्तीय वातावरणले पनि उद्योगी तथा उद्यमीलाई नयाँ उद्यम स्थापना वा क्षमता विस्तारमा थप सहजता प्रदान गर्दै छ तर यी सबै सम्भावनाले ठोस परिणाम दिनका लागि उद्योगसम्बन्धी मुख्य अवरोध हटाइनु आवश्यक छ ।

कच्चा पदार्थ आपूर्तिको सहजता, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति, दक्ष जनशक्ति व्यवस्थापन, बजार विस्तार, तथा राजनीतिक स्थिरता जस्ता समस्याको समाधान नगरेसम्म उद्योग क्षेत्रबाट अपेक्षित योगदान प्राप्त हुन कठिन देखिन्छ ।

लुम्बिनीमा उद्योग दर्ता, लगानी र कर्जा विस्तार सकारात्मक संकेत भए पनि उत्पादन, क्षमता उपयोग र रोजगारीजस्ता सूचकमा निरन्तर गिरावटले प्रदेशको वास्तविक औद्योगिक स्वास्थ्य कमजोर रहेको प्रमाणित हुन्छ। यदि सरकारले नीति स्थिरता, अवरोध न्युनिकरण र औद्योगिक पूर्वाधार सुधारमा तीव्रता देखायो भने, मोतिपुर–नौवस्ताजस्ता नयाँ औद्योगिक क्षेत्र र प्राकृतिक स्रोतहरूको स्मार्ट उपयोगले लुम्बिनीको औद्योगिक विकास आगामी वर्षहरूमा सुदृढ र गतिशील बन्ने सम्भावना बलियो छ।



प्रतिक्रिया दिनुहोस !