१९ मंसिर २०८२, शुक्रबार

बाढी–पहिरोदेखि आँधी–हुरीसम्मः सबै पूर्वचेतावनी अब एउटै ‘प्लेटफर्म’बाट

प्रकाशित मिति :  30 November, 2025 4:37 pm


काठमाडाैँ । नेपालमा विपद् पूर्वशतर्कता प्रणालीलाई प्रभावकारी बनाउन ‘कमन अलर्टिङ प्रोटोकल’ कार्यान्वयनमा आउने भएको छ ।

विश्व मौसम सङ्गठनको सहयोगमा मौसम विज्ञान विभागले ‘कमन अलर्टिङ प्रोटोकल’ कार्यान्वयनका लागि तयारी शुरु गरेको हो ।

विपद् सम्बन्धी जुनसुकै सूचना प्रवाहका लागि अब विभागले एकिृत सञ्चार माध्यम ‘कमन अलर्टिङ प्रोटोकल’ विधि अपनाउने भएको छ ।

यसका लागि विभागले आज यस क्षेत्रसँग सम्बन्धीत सरोकारवालाहरूसँग छलफल गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका सिनियर जलवायुविज्ञ विनोद पराजुलीले विभिन्न माध्यमबाट छुट्टाछुट्टै रूपमा जानकारी प्रवाह हुँदै आएको वर्तमान संरचनाले विपद्को सूचनामा एकरूपता कायम गर्न कठिनाइ भएकोले कमन अलर्टिङ प्रणालीको आवश्यक रहेकोे बताए ।

देशभर फैलिएका सूचना–प्रवाहका माध्यमहरूलाई एकीकृत गर्नुपर्ने आवश्यकतालाई मनन गर्दे विभागले अब सबै पूर्वचेतावनीलाई एउटै प्लेटफर्मबाट प्रवाह गर्ने तयारी शुरु गर्न लागेको बताए ।

उनले भने,“अहिले जल तथा मौसम सम्बन्धि सूचना हामीले विभिन्न माध्यमबाट प्रवाह गरिरहेका छौँ र त्यो माध्यमहरूमा उदाहरणका लागि हामीले वेभसाइटको प्रयोग गर्छौँ सामाजिक सञ्जालहरुमा सूचनाहरू राख्छौँ, एसएमएसका माध्यमबाट पनि सूचना पठाइरहेका छौँ,टोल फ्री सेवा पनि सञ्चालन गरिरहेका छाैँ र भविष्यमा हामी सेल बोर्डकास्ट, फ्ल्यास एसएमएस पठाउने आइभिआर अथवा भ्वाईस कल नै पठाउने त्यस्तो किसिमको तयारी गर्दैछौँ ।”

जलवायु तथा विपद् विज्ञ धर्मराज उप्रेतीले नेपालमा जलवायुजन्य जोखिम बढ्दै गइरहेको उल्लेख गर्दै जोखिममा सूचना प्रशारणको चुनौतीलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने बताए ।

विश्वका धेरै राष्ट्रहरूमा यो कमन अलर्टिङ प्रणाली लागू भइसकेको बताउदै उनले नेपालमा पनि यसको विकासक्रम जारी रहेको बताए ।

उप्रेतीले नेपालमा हरेक वर्ष बाढी, पहिरो, आँधी–हुरी तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्दो अवस्थामा रहेको भन्दै यस प्रणालीको विकासले राष्ट्रिय पूर्वसूचना संरचनालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

उनले भने,“जन्य जोखिमहरूलाई चाहीँ कसरी सञ्चार गर्ने र जलवायु जन्य जोखिमहरू नेपालमा बढ्दै गहिरहेको छ, त्यो बढ्दै गइरहेको जोखिम चाहीँ प्रत्येक सिजनअनुसार हाम्रो जोखिम छ । जस्तो प्रि मनसुनमा, मनसुन हुन भन्दा अगाडिको एक खालको जोखिम हुन्छ, हावाहुरीको जोखिम हुृन्छ भने मनसुन अवधिमा चाहीँ पहिरोको बाढीको जोखिम हुन्छ ।”

कार्यक्रममा देशभर प्रयोग गर्ने चेतावनी प्रणालीलाई एउटै ढाँचामा ल्याउने, सूचनाको समयानुकूल प्रशारण गर्ने तथा विपद् जोखिमबाट जनजीवन र सम्पतीको सुरक्षा प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको छ ।



प्रतिक्रिया दिनुहोस !