१९ मंसिर २०८२, शुक्रबार

माैसम अपडेट : कम वर्षा र बढ्दो तापक्रम-नेपाल ‘गरम र सुक्खा’ हिउँदतर्फ धकेलिँदै

प्रकाशित मिति :  4 December, 2025 7:31 am


दाङ (देउखुरी) । यस वर्षको हिउँद नेपालका अधिकांश भूभागका लागि मौसमको ‘परम्परागत चित्र’ भन्दा धेरै भिन्न रहने संकेत स्पष्ट भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको ताजा आकलनले देशले मङ्सिर १५ देखि फागुन १६ सम्म सुक्खा र तापक्रमीय असामान्यता बोकेको हिउँद व्यतित गर्ने सम्भावना उच्च देखिएको छ ।

वर्षौंदेखि हिउँदलाई अनियमित पानी, पश्चिमी वायुसँगै आउने चिसो र स्थिर तापक्रमको मौसमका रूपमा लिइँदै आएको नेपाल अहिले नयाँ हिउँदे ट्रेन्डतर्फ धकेलिँदै गएको संकेत वैज्ञानिकहरूले देखाएका छन् ।

वर्षाको असमान वितरण : धेरै क्षेत्रमा पानी नपर्ने उच्च सम्भावना

विभागको आकलन अनुसार देशको ठूलो भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना उल्लेखनीय रूपमा बढी छ। सुदूरपश्चिम र कर्णालीका केही उत्तरी भागमा तीनै प्रकार-कम, सरदर र बढी वर्षाको समान सम्भावना रहे पनि देशको मुख्य कृषि र बसोबास केन्द्रित क्षेत्रहरूमा सुक्खा हिउँदको जोखिम देखिएको छ।

सूचना अधिकारी दिनकर कायस्थका अनुसार,
सुदूरपश्चिमका पूर्व–दक्षिण, कर्णालीका दक्षिण, लुम्बिनीका पश्चिम, बाग्मतीका दक्षिण, मधेशका उत्तर र कोशीका मध्य–पूर्व भूभागमा कम वर्षाको सम्भावना ५५–६५ प्रतिशत छ।

यही प्रतिशतले नेपालका दक्षिण र पूर्वी क्षेत्रमा सुक्खा मौसम हावी हुने चित्र देखाउँछ-जसको प्रत्यक्ष असर कृषिमा पर्ने सम्भावना छ।

तापक्रम ‘अलार्म’ : हिउँद पनि चिसो नहुने ट्रेन्ड तीव्र

विभागको प्रक्षेपणले यो हिउँद नेपालका अधिकांश भूभाग असामान्य रूपमा न्यानो हुने संकेत दिएको छ। अधिकतम तापक्रम गण्डकी, बाग्मती र कोशीका उत्तर–दक्षिण भूभागमा ५५–६५ प्रतिशत सम्भावनासहित सरदरभन्दा बढी हुने देखाइएको छ।

कर्णाली र लुम्बिनीका धेरै भूभाग तथा प्रदेश १, ३ र ४ का अन्य क्षेत्रहरूमा पनि तापक्रम बढ्ने सम्भावना ४४–५५ प्रतिशत छ।
यसले हिउँदमा हुने सर्तक चिसोपन घट्ने मात्र होइन, धुँवा–धुलो, मौसमी रुघाखोकी, आगलागी जोखिम र सुख्खा हवाको प्रभाव बढ्ने संकेत गर्दछ।

न्यूनतम तापक्रम पनि उच्च : चिसो रात घट्दै

अझ चकित पार्ने तथ्य—देशभर न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना उच्च देखिएको छ। सुदूरपश्चिम, कर्णालीका मध्य–उत्तर, लुम्बिनी र मधेशका अधिकांश भूभागमा न्यूनतम तापक्रम ५५–६५ प्रतिशत सम्भावनासहित बढ्ने अनुमान गरिएको छ।

यसले हिउँदको रात सामान्यभन्दा न्यानो हुने, ठण्डी बर्साइ घट्ने, र उच्च पहाडी क्षेत्रमा हिउँ पर्ने सम्भावना समेत घट्ने संकेत दिन्छ ।

वर्षा घट्ने र तापक्रम बढ्ने दुवै ट्रेन्डले यो हिउँद सुक्खा, न्यानो र सम्भावित रूपमा चुनौतीपूर्ण बन्न सक्ने संकेत स्पष्ट छ।
कृषि क्षेत्र, जलस्रोत, वन–आगो व्यवस्थापन, स्वास्थ्य तथा खानेपानीको आपूर्ति व्यवस्थामा यसको प्रभाव परिहाल्ने देखिन्छ।

जलवायु परिवर्तनका असरहरू हरेक मौसममा जाँगरले महसुस भइरहेको बेला विभागले जारी गरेको यो आकलन—हिउँद अब नेपालका लागि पहिलाजस्तो रहने छैन भन्ने बलियो संकेत बोक्छ।



प्रतिक्रिया दिनुहोस !