२५ मंसिर २०८२, बिहिबार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान : उपकुलपतिका लागि सात दिनभित्र आवेदन माग

प्रकाशित मिति :  11 December, 2025 12:31 pm


दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि रिक्त रहेको उपकुलपति पद पूर्ति गर्न सिफारिस समितिको सचिवालयले नयाँ आवेदन आह्वान गरेको छ ।

बिहीबार सार्वजनिक गरिएको सूचनामा योग्य तथा इच्छुक व्यक्तिहरूलाई ७ दिनभित्र आवेदन दिन अनुरोध गरिएको छ । प्रतिष्ठानले जारी गरेको सूचनाअनुसार उपकुलपतिका आवेदकले प्रतिष्ठान ऐन–२०७४ र नियमावली–२०७४ मा उल्लेखित शैक्षिक योग्यता, अनुभव, कार्यदक्षता र अन्य कानुनी मापदण्ड पूरा गर्नुपर्नेछ ।

आवश्यक कागजातहरूको पूर्ण सेट बुझाएर मात्र आवेदन मान्य हुने सूचनामा उल्लेख छ। उपकुलपति डा. विकास लामिछानेले २९ असोजमा राजीनामा दिएको केही महिनामै प्रतिष्ठानले नेतृत्व खाली राख्न नचाहेको स्पष्ट संकेत दिंदै चाँडो चयन प्रक्रिया अघि बढाउने तयारी देखाएको छ ।

प्रतिष्ठानका स्रोतहरूका अनुसार संस्थाको शैक्षिक तथा प्रशासनिक कार्यक्रम प्रभावित हुन नदिन उपकुलपति छानोटलाई उच्च प्राथमिकतामा राखिएको छ ।

इच्छुक उम्मेदवारले तोकिएको समयभित्र सिफारिस समितिको सचिवालयमा आवेदन दर्ता गराउन सक्नेछन्। समितिले आवेदन मूल्यांकनपछि योग्य व्यक्तिको नाम सूची सरकारसमक्ष पेश गर्नेछ।



प्रतिक्रिया दिनुहोस !