११ बैशाख २०८१, मंगलबार

राप्ती गाउँपालिकाकाे बजेट शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार नीतिगत प्राथिमकतामा (पूर्णपाठ)

प्रकाशित मिति :  24 June, 2020 7:33 pm


मसुरिया, १० असार ।

दाङकाे राप्ती गाउँ पालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधारलाइ प्राथमिकतामा राखेकाे छ । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिकाकाे छैटाैं गाउँ सभाले ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार राप्ती गाउँपालिकाको आधार’ मुल नारा सहित प्राथिमताकाे क्षेत्र निर्धारण गरेकाे हाे ।

राप्ती गाँउपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रमकाे पुर्ण पाठः

राप्ती गाँउपालिका
मसुरिया, दाङ
५ नं. प्रदेश नेपाल
राप्ती गाउँपालिकाका
आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम
“शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार राप्ती गाउँपालिकाको आधार”

राप्ती गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, गाउँ सभाका सदस्यहरु, सर्वप्रथम राप्ती गाउँपालिकाको गाउँसभाको छैठौं अधिवेशनमा हार्दिक स्वागत गर्दछु ।

राप्ती गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम, यस गरिमामय सभा समक्ष प्रस्तुत गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । यस अवसरमा म नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना र स्थानीय स्वशासनको लागि नेपाली जनताले गर्दै आएको ऐतिहासिक जनआन्दोलनहरुमा जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, राष्ट्रियता, स्वाधिनता र स्वाभिमानको कठिन परिस्थितिमा त्याग र नेतृत्व गर्ने सम्पृर्ण प्रति उच्च सम्मान गर्दछु । साथै न्यायपूर्ण समाज निर्माण र समृद्धिको मार्गमा एकताबद्ध रहेका राप्तीबासी जनसमुदाय तथा नेतृत्व प्रति उच्च सम्मान प्रकट गर्न चाहान्छु।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ कोरोना भाइरसका कारण लाखौको संख्यामा संक्रमण र ज्यान गुमाउनु परेको छ । कोरोना भाइरसका कारण नेपालमा हजारौंको संख्यामा संक्रमण र क्रमिक रुपमा यसबाट मृत्यु हुनेको संख्या पछिल्लो दिनहरुमा बढि रहेको छ । कोभिड-१९ कोरोना भाइरसको संक्रमण भई नेपालभित्र र विदेशमा ज्यान गुमाउनेका शोकाकुल परिवारजनप्रति राप्ती गाउँपालिका समवेदना व्यक्त गर्दछ ।

नेपाल सरकारले कोरोना संक्रमण नियन्त्रण र रोकथाम तथा सुरक्षाका लागि बन्दाबन्दीको अवधी कायम गरेको छ । मानवीय जीवनका विविध पक्षहरुमा कोरोनाको प्रत्यक्ष असर तथा प्रभाव परेको छ । क्षेत्रगत रुपमा सामाजिक, आर्थिक पूर्वाधार र व्यावसायिक संरचना तथा अन्तर सम्बन्धित पक्षहरुको श्रृङ्खला परिवर्तन भएको छ । विकासको सन्दर्भमा अबलम्बन गरिएको सोच,विचार, योजना,नीतिका सन्दर्भमा आमूल परिवर्तनको अवस्था सिर्जना भएको छ ।

कोभिड-१९ कोरोना भाइरसका कारण मुलुकको अर्थव्यवस्थामा गम्भिर असर पुर्या एको छ । यस महामारीबाट राप्ती गाउँपालिकामा समेत प्रत्यक्ष प्रभाव परेको छ । उद्योग, व्यापार, व्यवसाय प्रभावित भएको छ । सबै विद्यालयहरु बन्द छन् । धेरैको रोजगारी गुमेको छ । विकास निर्माणका कार्यहरु सोचे अनुरुप अघि बढ्न सकेको छैन् ।

राप्ती गाउँपालिकामा बसोबास गर्ने कोही व्यक्ति भोको नरहुन भन्ने उद्देश्यले गाउँपालिकाले वडा कार्यालयहरु मार्फत राहत सामाग्रीहरु वितरण गरेको छ । राप्ती गाउँपालिका मध्ये भागमा पूर्व पश्चिम राजमार्ग रहेको छ । बन्दाबन्दीको क्रम अन्य स्थानीय तह, प्रदेश र क्षेत्रका नागरिकहरु यहि बाटो भएर घर फर्कने क्रम जारी रह्यो । उक्त अवधीमा गाउँपालिकाले त्यस्ता व्यक्तिहरुलाई सामुहिक रुपमा खाना खुवाउने गन्तव्य स्थानसम्म पठाउने कार्य समेत गरेको छ ।

नेपालका विभिन्न जिल्ला र क्षेत्र, भारत तथा तेस्रो मुलुकबाट यस गाउँपालिकामा आउने नागरिकहरुलाई सहजीकरण गरी गाउँपालिकासम्म ल्याउने बन्दोबस्त मिलाइएको छ । त्यसरी विभिन्न स्थानबाट आउने व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने तोकिएको अवधी पुरा भएपछि स्वास्थ्य परिक्षण गर्ने जस्ता कार्य गरिएको छ । नेपाल सरकारले अबलम्बन गरेको रणनीति तथा निर्णयका आधारमा संघीय सरकार, प्रदेश सरकार, अन्य स्थानीय तह तथा विभिन्न संघसंस्थाहरुसँग समन्वय र सहकार्य गरी कोरोना संक्रमणलाई सामुदायिकरण हुन नदिन अहोरात्र रुपमा स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी तथा जनप्रतिनिधि खटिइ कार्य सञ्चालन गरिएको छ ।

कोरोना भाइरस संक्रमण थप फैलिन नदिन र यस महामारी माथि विजय हाँसिल गर्न आगामी दिनमा अझ बढी सतर्कता, समन्वय र एकता आवश्यक भएकोले एक भएर दृढताका साथ लाग्न म सबैमा आह्वान गर्दछु । यस जोखिमको परिस्थितिमा अग्रपंक्तिमा रहेर सेवा गर्नुहुने वडाध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, गाउँ सभाका सदस्यहरु, चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, महिला स्वास्थ्य स्वयमसेविका, स्वयमसेवक, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, सामाजिक संघसंस्था, विद्यालयहरु, नीजि तथा व्यावसायिक क्षेत्र, सञ्चारजगत तथा राहत कार्यमा सहयोग पुर्याेउनु हुने सम्पूर्ण महानुभावहरु लगायत सम्पूर्ण राप्तीबासी जनसमुदायको उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद दिन चाहान्छु ।

यस महामारीको संक्रमण रोकथाम, नियन्त्रण र उपचारको कार्यमा गाउँपालिकाबासीले दिएको साथ,सहयोग र अगाध मायाबाट प्रेरित भई स्वस्थ, सुरक्षित, सम्भावनायुक्त तथा जीवन्त गाउँपालिकाको रुपमा अगाडी बढाई गाउँपालिकाको गौरवलाई उच्च राख्ने गरी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम गाउँ सभा समक्ष प्रस्तुत गर्न पाउँदा गौरवको अनुभूति गरेको छ । आगामी वर्ष २०७७/७८ का नीति तथा कार्यक्रमहरु निम्नानुसार रहेकाछनः

आर्थिक विकास

कृषि

१. कृषि क्षेत्रलाई आधुनिकिकरण ,व्यवसायीकरण गरी रोजगारी र आय वृद्बि गरी राप्ती गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाइनेछ
२. अर्गानिक खेतीमा जोड दिई विस्तारै बिषादि मुक्त क्षेत्र बनाइनेछ ।
३. कृषक समुह ,फर्म तथा सहकारीमा आवद्ब ,व्यवसायी कृषकहरुलाई उन्नत विऊ विजन ,फलफुल विरुवा ,च्याउँको विऊ ,कृषि औजार आदिमा अनुदान दिई प्रोत्साहन गरिनेछ ।
४. राप्ती नदिको किनारमा खेर गइराखेको जमिनमा बगर खेती गरी जमिनको सदुपयोग गरिनेछ ।
५. कृषि प्रसारको माध्यमबाट कृषि पेशालाई सम्मानित र आर्कषक बनाई कृषिमा निजिक्षेत्रको लगानी प्रोत्साहन गरिनेछ ।
६. दुर्गम र पिछडिएका बस्तीमा बेमौसमी तरकारी खेतीमा प्रोत्साहन गरी आयस्तर बढाई जिवन स्तरोन्नती गरिनेछ । यस गाउँपालिका भित्रको विभिन्न स्थानमा माटो परिक्षण गराई माटो सुधारको कार्यक्रम संचालन गरिनेछ ।
७. पशुपन्छीपालनलाई आर्थिक विकासको मेरुदण्डको रुपमा विकास गर्ने पशुपन्छीको नश्ल सुधार , पौष्टिक दाना र आहराको ब्यवस्था पशुपन्छी स्वास्थ सेवा एवम उत्पादित पशुजन्य पदार्थको बजारीकरण यी चार पक्षलाई समानन्तर रुपमा अघि बढाई एकीकृत रुपमा सेवा प्रदान गर्ने गरि कार्यक्रम आयोजनाहरु तर्जुमा गरि संचालन गरिनेछ ।
८. राप्ति गाउँपालिकालाई क्रमस : अण्डा ,दुध र मासुमा आत्मनिर्भर बनाउन अगामीआ.व.०७७/०७८ मा पशुपन्छीपालन क्षेत्रलाई व्यवसायीकरण गर्ने निती अवलम्वन गरिनेछ ।
९. राप्ती गाउँपालिकाको आधारभुत पशुपञ्छी आधारभुत ल्याव सञ्चालन गरिनेछ ।
१०. भुल्केमा स्थानीय जातको कुखुराको संरक्षण र संवर्धन गर्ने कार्यक्रम सञ्चालन गरिने नीति अवलम्बन गरिनेछ ।
११. उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिनेछ ।

सहकारी नीति

१. यस गाउँपालिकाभित्र भएका सहकारीहरुलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहकारी दिवस तथा सहकारी शिक्षा तथा अनुगमन मूल्याङ्कन गराई सहकारी विकासमा प्रवर्धन गर्ने नीति अवलम्बन गरिनेछ ।
२. सहकारी मार्फत कृषिलाई व्यावसायिकरण गर्ने नीतिलाई प्राथमिकता दिइनेछ ।
३. एकै प्रकृतिका सहकारीमा रहेको दोहोरो सदस्यता हटाउनको लागि गोष्ठी तथा सभा सञ्चालन गर्ने नीति अवलम्बन गरिनेछ ।
४. कृषि सहकारी मार्फत उत्पादनमा आधारित अनुदान कार्यक्रम सञ्चालन गरिनेछ ।

उद्योग तथा वाणिज्य नीति

१. राप्ती गाउँपालिकाको सौन्दर्यता र स्वच्छता राख्ने गरी अटो भिलेज निर्माण गर्ने अवधारणालाई क्रमिक रुपमा अगाडि बढाइनेछ ।
२. गाउँपालिकाभित्रका बजार क्षेत्रमा जैविक तथा अजैविक फौहोरमैला व्यवस्थापन कार्यक्रम सञ्चालन गरिनेछ ।
३. गाउँपालिकभित्रका बासिन्दाहरुलाई आत्मनिर्भर बनाउन साना तथा घरेलु उद्योगहरु सञ्चालन गर्न विशेष प्राथमिकता दिइनेछ ।
४. सिसहँनिया र भालुबाङ बजार क्षेत्रमा हातबजार र संकलन केन्द्रको स्थापना तथा संचालन गरिनेछ ।
५. भालुबाङ सिसहँनिया बजार क्षेत्रमा ग्रिन पार्कको स्थापना तथा संचालन गरिनेछ ।
६. वैदेशिक रोजकगारी गुमाएका तथा स्वदेशमा कोभिड १९ बाट प्रभावित साना र सुरवाती उद्यमीहरुलाई प्रबर्धन गर्न सहुलियत पूर्ण ऋण उपलब्ध गराउन बैकंहरु संग साझेदारी गरिनेछ ।
७. गाउँपालिका भित्र रहेका साना उद्योगहरु स्यनेटरी प्याड, पाउरोटी, गारमेट, डाना उद्योग तथा ह्याचरीहरुको सहकार्यमा ति उद्योगहरुलाई चाहिने जनशक्ती साझेदारी सिपमुलक तालिमहरु संचालन गरिनेछ ।
८. बजार,होटेल तथा रेष्टुरेन्टहरुको नियमित अनुगमन गरिने छ ।
९. ब्यवसायिहरुलाई कर सम्बन्धी सचेतनात्मक कार्यक्रहरु संचालन गरिनेछ ।

संस्कृति तथा पर्यटन प्रवर्धन

१. राप्ती गाउँपालिकाभित्रका पर्यटकिय क्षेत्रहरुको पहिचान गरी पर्टयकिय पूर्वाधारहरुको निर्माण गर्ने नीति अवलम्बन गरिएको छ ।
२. गाउँपालिकाभित्र रहेका धार्मिक पर्यटकिय स्थलहरु खड्केश्वरी मन्दिर, देविकोटमा रहेको भद्राक्षीदेवी मन्दिर, खौराह बाबा मन्दिर, वडका सिसहनिया स्थित वि.स. १७२५ मा स्थापना भएको शिव मन्दिर, रामघाटको रामजानकी मन्दिर, देविकोट मस्जितको गुरुयोजना निर्माण गरी क्रमिक रुपमा विकास गरिनेछ ।
३. हर्सेडाँडा तथा बसन्तापुरको स्वीजरल्याण्ड पार्क निर्माण तथा व्यवस्थापनलाई निरन्तरता दिइनेछ ।
४. स्यानीघोष मगर होमस्टे, बगासोती मगर होमस्टे, बगरापुरमा रहेका थारु सामुदायिक होमस्टेहरुको लागि आवश्यक पर्ने पूर्वाधारहरुलाई क्रमिक रुपमा स्तरोन्नती गरिनेछ ।
५. यस गाउँपालिका आन्तरिक विमानस्थलको सम्भाव्यता अध्ययन गरिनेछ ।
६. राप्ती गाउँपालिका वडा नं ८ कोल्वास्थित श्रीनगर डाँडामा बौद्ध गुम्वाको निर्माण कार्यलाई निरन्तता दिइनेछ ।
७. राप्ती नदिमा र्या पटिङ र बोटिङको लागि सम्भाव्यता अध्ययन गरिनेछ ।
८. थारु संस्कृतिको संरक्षण विकास पुस्तान्तरणको लागि थारु भाषा संस्कृतिको विकास गरिनेछ ।
९. थारु संस्कृति र सभ्यताको विकासका लागि थारु संस्कृति अध्ययन केन्द्र तथा संग्रहालयको विकासका लागि पहल गरिनेछ ।
१०. देविकोटको भद्राक्षी देवी मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटक वृद्धिका लागि भ्यूटावरको निर्माणका साथसाथै विकासका लागि एकिकृत योजना निर्माण गरिनेछ ।
११. भालुवाङ पुल्चोक उत्तरको पार्क र महांङ्काल मन्दिर र सो भन्दा माथिको टाकुरीमा मन्दिर तथा मूर्ति स्थापना गरी पर्यटकहरुलाई आर्कषण गर्ने नीति अवलम्बन गरिनेछ ।

सामाजिक विकास क्षेत्रको नीति

शिक्षा क्षेत्र

१. विद्यालय शिक्षामा पहुँच तथा गुणस्तर अभिवृद्धि

• जीवनोपयोगी शिक्षा, व्यावसायिक, प्रविधिमैत्री शिक्षामा जोड दिदै आधारभुत विद्यालय उमेर समूहका बालबालिकालाई आधारभुत शिक्षामा पहुँचको सुनिश्चतता प्रदान गरिनेछ । बालमैत्री विद्यालयको अवधारणालाई क्रमश अवलम्बन गरिनेछ ।
• विद्यालय शिक्षामा स्थानीय पाठ्यक्रम बनाई यसै वर्ष जारी गरिनेछ । यसरी निर्माण गरिने पाठ्यक्रममा देउखुरी उपत्यकाको भाषा, रहनसहन, संस्कृति र नैतिक शिक्षाका साथै देउखुरी उपत्यका कृषि कार्यका लागि प्रयाप्त सम्भावनाको क्षेत्र भएकोले कृर्षि कार्यलाई स्थानीय पाठ्यक्रममा समेटिने छ ।
• आधारभुत तहसम्मको शिक्षा अनिवार्य गर्न विचैमा विद्यालय छाड्ने प्रवृत्तीलाई निरुत्साहित गर्न आवश्यक पूर्वाधार निर्माण गर्नुका साथै बालमैत्री शिक्षण विधि अबलम्बन गरिनेछ । जेहेन्दार, गरिब तथा विपन्न वर्गका बालबालिकाहरुलाई आवश्यकता अनुसार पाठयपुस्तक, पाठ्य सामग्री र पोशाक लगायतका सामाग्री उपलब्ध गराई अभिभावकत्व प्रदान गर्ने कार्यको सुरुवात गरिनेछ । अपाङ्गता भएका र आर्थिक रुपले विपन्न नागरिकलाई कानून बमोजिम शिक्षा पाउने कार्यलाई निरन्तरता दिइनेछ ।
• विश्वभर फैलिएको कोरोनाको प्रभावबाट शिक्षा क्षेत्रमा भएको क्षतिलाई न्यूनिकरण गर्न वैकल्पिक प्रणाली मार्फत शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने तथा अतिरिक्त कक्षा सञ्चालन गर्ने कार्यलाई अगाडी बढाइनेछ ।

२. शैक्षिक सुशासन अभिवृद्धि
• कोरोनाको प्रभाव कम वा न्यूनिकरण भएमा शैक्षिक सुशासन अभिवृद्धिका लागि निम्नानुसार कार्य सञ्चालन गरिनेछ ।
• गाउँपालिकाको शिक्षा नीति, योजना तथा आवश्यक कानूनहरुको तर्जुमा गरिनेछ ।
• विद्यालयका प्रधानाध्यापकहरुसँग कार्य सम्पादन करार गरिनेछ ।
• सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुका लागि अनलाइन अफलाइन विषयगत तालिमको व्यवस्था गरिनेछ । बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरुको क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
• संस्थागत विद्यालयहरुको प्रभावकारी नियमन अनुगमन गरिनेछ तथा संस्थागत विद्यालयका लगानीकर्ता तथा व्यवस्थापकसँग छलफल तथा अन्तरक्रियाका कार्यक्रम सञ्चालन गरिनेछ ।
• विद्यालयको लेखा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण तालिमको व्यवस्था गरिनेछ ।

३. शिक्षक र विधार्थीलाई विद्यालयमा टिकाउने नीति
• विषयगत उपलब्धी तथा कार्यसम्पादनको आधारमा उत्कृष्ट शिक्षक, विधार्थी र अभिभावकलाई पुरस्कृत गरिनेछ भने विद्यालयमा अनियमित हुने तथा आचरण विपरितका कार्य गर्ने शिक्षक उपर विभागीय कारबाही गरिनेछ ।
• विद्यालयहरुमा विज्ञान शिक्षकको अभावलाई हटाउन एकमुष्ट शिक्षक अनुदानको व्यवस्था गरिनेछ ।
• सामुदायिक विद्यालयहरुमा बाल विकास कक्षा देखि कक्षा ५ सम्म दिवा खाजा कार्यक्रम सञ्चालन गरिनेछ ।
• विद्यालयमा शिक्षक र विद्यार्थीको स्वास्थ्य परिक्षणको लागि शिक्षा र स्वास्थ्यको साझेदारी कार्यक्रमलाई जोड दिइनेछ ।
• विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने गरी कार्यक्रम सञ्चालन गने नीति अवलम्बन गरिनेछ ।
• सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुका लागि स्यानिटरी प्याडको व्यवस्था गरिनेछ ।

४. परीक्षा तथा मुल्याङ्कन
• आधारभुत तहको परीक्षालाई व्यवस्थित सञ्चालन तथा व्यवस्थापन गरिनेछ । माध्यमिक तहमा सञ्चालन हुने परीक्षाहरुको आवश्यक अनुगमन तथा मूल्याङ्कन गरिनेछ ।

५. शैक्षिक प्रविधि तथा सिकाई
• कक्षाकोठामा सूचना प्रविधिको प्रयोग मार्फत कक्षा सञ्चालन गर्न प्रोत्साहन गरिनेछ ।
• सामुदायिक सिकाई केन्द्रमा पुस्तकालयको व्यवस्था गरिनेछ ।

६. विद्यालयको भौतिक संरचना निर्माण तथा मर्मत
• विद्यालय भवन तथा शौचालयको निर्माण र मर्मत गरिनेछ । विद्यालयहरुलाई सुरक्षित बनाउन विद्यालय क्षेत्रमा कम्पाउडवाल तथा तारबार, फर्निचर तथा खानेपानीको व्यवस्थापन गर्ने नीति अवलम्बन गरिनेछ ।

७. युवा तथा खेलकुद क्षेत्र
• भानपुरमा पालिकास्तर खेलकुद मैदान रङगशाला निर्माणको लागि प्रदेश र संघीय सरकारसँग आवश्यक पहल गरिनेछ । वडास्तरमा खेलकुद क्षेत्रको विकासका लागि खेलमैदान तथा आवश्यक संरचना विकासकासाथै विभिन्न खेल प्रतियोगिता आयोजना गर्ने नीति अवलम्बन गरिनेछ ।
• पालिकास्तरमा खेलकुदको विकासका प्रशिक्षक/ प्रशिक्षण तालिम कार्यक्रम आयोजना गरिनेछ ।
• कोरोना संक्रमणले खेलकुद क्षेत्रमा पारेको प्रभावलाई न्यूनिकरणका लागि खेल क्षेत्र पुनर्जिवन कार्यक्रम सञ्चालन गरिनेछ. ।
• कोरोना संक्रमण नियन्त्रण आए पश्चात आगामी आर्थिक वर्षमा विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिनेछ ।
• युवा लक्षित तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरी रोजगारी अवसर सिर्जना र प्रोत्साहन गर्ने ।
• युवा लक्षित व्यावसायमूलक तालिम कार्यक्रम सञ्चालन गरी स्वरोजगार सिर्जना गर्ने ।
• युवा लक्षित कार्यक्रम सञ्चालनको लागि प्राविधिक शिक्षा उपलब्ध गराउने विद्यालयहरुसँग सहकार्य गर्ने नीति अवलम्बन गरिनेछ ।

स्वास्थ्य क्षेत्रको नीति

• प्राथमिक स्वास्थ्य सेवा जनताको मौलिक अधिकार भएकोले विभिन्न उपचारात्मक प्रवर्धनात्मक र प्रतिकारात्मक कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गरी गुणस्तरीय सेवा प्रदानमा जोड दिइनेछ ।
• सरुवा रोग नियन्त्रण अन्तरगत कोभिड-१९ रोग नियन्त्रण गरी समुदायमा महामारी फैलिन नदिन विभिन्न उपायहरु अबलम्बन गरिनेछ ।
• संस्थागत प्रसुतिलाई प्रोत्साहन गर्दै शुन्यहोम डेलिभरी घोषणा गर्दै जाने कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थामा प्रसुति भएकालाई उपाध्यक्ष कोसेली कार्यक्रम सञ्चालन गरिनेछ ।
• गाउँपालिका अन्तरगतका कार्यालयहरुमा पोषण कक्ष स्थापना गरी सञ्चालन गरिनेछ र शौचालयहरुमा सेनिटरी प्याड राख्ने व्यवस्था गरिनेछ ।
• चालु आर्थिक वर्षमा स्वास्थ्य संस्थाहरु नभएका वडाहरुमा आधारभुत वडा स्वास्थ्यकेन्द्र स्थापना गरी सञ्चालन गरिनेछ
• निजीस्तरमा सञ्चालित स्वास्थ्य संस्थाहरुको प्रचलित ऐन नियम अनुसार कार्यविधि बनाई संस्थादर्ता तथा नविकरण गर्ने कार्य गरिनेछ ।
• एस.वि.ए. तालिम प्राप्त स्वास्थ्यकर्मीबाट गर्भ जाँच र स्वास्थ्य संस्थामा प्रसुति गराउन जोड दिइ शुन्य होम डेलिभरी वडा घोषणा गर्दै जाने कार्यक्रमलाई निरन्तरता दिइनेछ साथै Waiting home सञ्चालन गरिनेछ ।
• स्वास्थ्य संस्थाको निःशुल्क औषधी उपचारका लागि सुचिकृत औषधीहरुको अभाव हुन नदिने व्यवस्था मिलाइनेछ
• दुर्गम पहाडी क्षेत्र र स्वास्थ्य संस्थाको पहुँच नपुगेका वडाहरुमा स्वास्थ्य सेवाको पहुँच पुर्यापउने उद्देश्यले स्थापना भएका सामुदायिक स्वास्थ्य इकाइबाट प्रभावकारी रुपमा सेवा प्रवाहमा जोड दिइनेछ ।
• निःशुल्क स्वास्थ्य शिविर, खोप क्लिनिक, गाउँघर क्लिनिकलाई थप प्रभावकारी रुपमा सञ्चालन गरी स्वास्थ्य सूचकमा वृद्धि गरिनेछ र पूर्ण खोपलाई निरन्तरता दिइनेछ ।
• गाउँपालिकाभित्र बढ्दो क्रममा रहेको क्षयरोग प्रकोपलाई नियन्त्रण गर्न क्षयरोग मैत्री कार्यक्रम र सामुदायिक डट्स कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
• एच.आइ.भि. एडस, औलो, झाडापखला, निमोनिया, कुष्टरोग, हात्तिपाइले जस्ता सरुवा रोग तथा नसर्ने रोग, किशोराकिशोरी प्रजनन स्वास्थ्य, बाल स्वास्थ्य, परिवार नियोजन, वातावरणीय सरसफाई सम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन तथा प्रशारण गरी समुदायको स्वास्थ्य स्थितिमा सुधार गरिनेछ ।
• महिला स्वास्थ्य स्वयसेविका तथा स्वास्थ्य आमा समूहको कार्यलाई प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयमसेविका र स्वास्थ्य आमा समूहलाई प्रोत्साहन गरिनेछ ।
• परिवार नियोजनको साधन प्रयोगदर बढाउन महिला स्वास्थ्य स्वयसेविका संघ संस्था र सरोकारवाला निकायहरु बीच अभिमुखिकरण कार्यक्रम सञ्चालन गरी अभिलेख प्रतिवेदनलाई व्यवस्थित गरिनेछ ।
• गाउँपालिका अन्तरगतका सबै स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाइहरुको कार्य प्रगतिको अभिलेख व्यवस्थित गरी DHIS-2 प्रणालीलाई अनलाइन प्रतिवेदनको निरन्तरता दिइनेछ ।
• सम्पूर्ण बालबालिकाहरुको उमेर अनुसारको पोषण बारे जानकारी पाउन वृद्धि अनुगमन Growth Monitoring गरी उनीहरुलाई बालभिटा, भिटामिन ए, जुकाको औषधी आवश्यकता अनुसार वितरण गर्ने र लक्षित समुहलाई अभिमुखिकरण गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
• मानसिक स्वास्थ्य अनतरगत मनोविमर्श सेवा तथा मानसिक स्वास्थ्य प्रवर्धन कार्यलाई निरन्तरता दिइनेछ ।
• एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन एम्बुलेन्सहरुको भाडादरमा एकरुपता ल्याई गाउँपालिका क्षेत्रभित्रका सरकारी स्वास्थ्य संस्थाद्धारा सञ्चालित एम्बुलेन्सलाई सरकारी स्वास्थ्य संस्थामा प्रसुति गराउँदा एम्बुलेन्स भाडामा छुटको व्यवस्था गरिनेछ ।
खानेपानी तथा सरसफाई
• गाउँपालिकाभित्रका जनतालाई शुद्ध, स्वच्छ र सफा खानेपानीको उपलब्धता गराउने कार्यका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता योजना (Wash Plan) बनाउने कार्यलाई आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ ।
• खानेपानीको सुविधा नपुगेका वडा तथा वस्तिहरुमा खानेपानी सुविधा उपलब्ध गराउन पहल गरिनेछ ।
• एक पसल एक डस्टविनको अवधारणा अवलम्वन गरी फोहोर मैला व्यवस्थापनमा जोड दिईनेछ ।
• फोहर व्यवस्थापनका लागि फोहरको वर्गिकरण सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिनेछ
• आगामी पाँच वर्षमा यस गाउंपालिकालाई प्लाष्टिक झोला मुक्त गाउँपालिका घोषणा गरिनेछ
• खानेपानीका मूहान, जलाधार क्षेत्र पहिचान गरी सरसफाई, संरक्षण र सदुपयोग गरिनेछ ।
• गाउँपालिका क्षेत्रभित्रको फोहोरमैला व्यवस्थापनको लागि कार्यदल बनाई ल्याण्डफिल्ड साईडको खोज गरी आगामी आर्थिक वर्षमा डिपीआरको कार्य सम्पन्न गरि फोहोरमैला व्यवस्थापन कार्य अगाडी बढाईनेछ ।
• गाउँपालिका भित्रको फोहोरमैला व्यवस्थापन गर्न र व्यवस्थित अटो भिलेजको अवधारणालाई कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाईनेछ ।
• खानेपानी मर्मत सम्भार कार्यकर्तालाई पलम्विङ सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गरिनेछ । टोल विकास संस्थालाई सरसफाई सम्बन्धी कार्यमा परिचालन गर्ने नीति अवलम्बन गरिनेछ ।
महिला, बालबालिका, जेष्ठ नागरिक,अपाङ्गता, लैंगिक समानता र सामाजिक समावेशीकरण
• लिङ्गका आधारमा र जातिय आधारमा हुने सबै प्रकारका विभेदहरुलाई क्रमश न्यूनिकरण गर्दै आगामी पाँच वर्ष भित्र यस गाउंपालिकालाई सबै प्रकारका विभेदहरु मुक्त गाउँपालिका घोषणा गरिनेछ ।
• समावेशी र समानुपातिक प्रतिनिधित्वको सिद्धान्तको आधारमा सबै वर्ग र क्षेत्रको अवसर र पहुँच स्थापित गर्न गाउँपालिकाभित्रका सबै संस्थागत संयन्त्रहरुमा त्यस्ता वर्ग र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिनेछ ।
• ज्येष्ठ नागरिकहरुमा रहेको ज्ञान, सीप र अनुभवहरुलाई युवा पुस्तामा स्थानानतरण गर्न विभिन्न अन्तरक्रिया कार्यक्रमहरु संचालन गरिनेछ ।
• ज्येष्ठ नागरिकहरुको आत्मसम्मान कायम गर्न निश्चित मापदण्डका आधारमा सम्मान गरिनेछ ।
• महिला तथा बालवालिका सम्बन्धी कार्यक्रम संचालनमा रकम अभाव हुन नदिन महिला तथा बालबालिका कोषमा पर्याप्त रकमको ब्यवस्था मिलाईनेछ ।
• गाउँपालिका क्षेत्रभित्र निर्माण भएका र निर्माण गरिने सवै सरकारी तथा सामुदायिक संरचनाहरु किशोरी मैत्री, अपांग मैत्री, वातावरण मैत्री, लैंगिक मैत्री र वाल मैत्री बनाउन जोड दिईनेछ ।
• बालविवाह तथा लागु पदार्थ दुर्व्यसनी सचेतना कार्यक्रम सञ्चालन गरिनेछ ।
• गाउँपालिकाभित्रका अपाङगता भएका व्यक्तिहरुलाई सहयोग सामाग्री उपलब्ध गराइनेछ ।
• जेष्ठ नागरिकहरु संरक्षणका लागि दिवा सेवा केन्द्र स्थापना गरी सञ्चालन गरिनेछ ।
• असहाय, अभिभावक विहिन तथा सडक मानवमुक्त गाउँपालिका घोषणा भई सकेको सन्दर्भमा त्यस्ता व्यक्तिहरुको संरक्षण र हेरचाहका लागि भवन निर्माण लगायतमा सहयोग गर्ने नीति अवलम्बन गरिनेछ ।
• महिला शसक्तिकरण सम्बन्धी तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।

पूर्वाधार विकास

१. राप्ती गाउँपालिकाको आवाधिक योजना तर्जुमा गरि कार्यन्यनमा ल्याईनेछ र आगामी आवदेखि सो योजनामा समावेश भएका योजनाहरु प्राथमिकताका आधारमा बजेट विनियोजन र कार्यान्वयनमा जोड दिइनेछ ।
२. राप्ती चक्रपथ राप्ती गाउँपालिकाको गौरबको बहुवर्षिय योजना भएकोले यसको ठेक्कासमेत भई सकेकोले आगामी आ.व. का लागि स्तरोन्नती तथा कालोपत्र गर्ने कार्यलाई निरन्तरता दिइएको छ ।
३. गाउँपालिकाको गौरवका योजनाको रुपमा रहेको पत्थरगढवा सानो नदी पुल तथा डोलैखोला पुल आगामी आ.व.भित्र सम्पन्न गरिनेछ ।
४. गाउँपालिकाको प्रशासकिय भवन निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।
५. राप्ती चक्रपथको सहायक मार्गको रुपमा आपँखोली-बगासोती, हर्सेडाँडा-खुरुरिया, भानपुर-बसन्तापुर, महादेवा बगरापुर पत्थरगढवा सडक निर्माण कार्यलाई निरन्तरता दिइनेछ ।
६. गाउँपालिकाको मापदण्ड पुरा भएका सडकहरुलाई मात्र योजनामा छनौट गर्ने नीति अवलम्बन गरिनेछ ।
७. हेभि इक्वपमेन्ट प्रयोग हुने तथा जटिल प्रकृतिका कार्यहरु (भवन निर्माण, कालोपत्रे, पुल तथा कलभर्ट) उपभोक्ता समितिबाट गराउन नहुने नीति अवलम्बन गरिनेछ ।
८. उपभोक्ताबाट हुने कार्यहरुमा कम्तिमा ३० प्रतिशत काम स्टक्चरको हुनुपर्ने छ ।
९. उपभोक्ता समिति मार्फत हुने कार्यहरुमा नियम विपरित उपभोक्ता समितिले अन्य व्यक्तिहरुलाई ठेक्का दिने कार्य गरेको पाइएमा नियमानुसार कार्यवाही गर्ने नीति अवलम्बन गरिनेछ ।
१०. उपभोक्ता समितिबाट सञ्चालन हुने योजनाको समेत मर्मत सम्भारको कम्तिमा १ वर्षको दायित्व लिने नीति अवलम्बन गरिनेछ ।
११. उपभोक्ता समितिबाट सम्झौता गर्ने म्याद बढीमा फाल्गुण मसान्तसम्म कायम गरिनेछ ।
१२. उपभोक्ता समितिबाट हुने कार्यहरुमा योजना सञ्चालनको विषयमा वडा कार्यालयलाई जिम्मेवार बनाईनेछ ।
१३. निर्माण कार्यलाई गुणस्तरिय तथा व्यवस्थित बनाउनका लागि कर्मचारीसहित ल्यावको व्यवस्था गरिने तथा उपभोक्ता समिति, ठेक्का प्रणाली लगायतका माध्यमबाट भए गरेका आयोजनाहरुको गुणस्तर परिक्षणको व्यवस्था मिलाइनेछ ।
१४. निर्माण कार्यलाई गुणस्तरिय बनाउन १० लाख भन्दा माथिका योजनाहरु अवस्था हेरी टेन्टर प्रक्रियाबाट सञ्चालन गरिनेछ
१५. आ.व. २०७४/७५ देखि पछाडि बनेका घरहरुलाई अभिलेखिकरणमा समावेश गर्दा तोकिएको नियमानुसार जरिवाना शुल्क लिई घर/नक्साको दर्ता प्रक्रिया अगाडि बढाइने छ र आगामी आर्थिक वर्षदेखि नियमानुसार गर्ने नीति अबलम्बन गरिनेछ ।
१६. राप्ती गाउँपालिकामा रहेका सम्पुर्ण खेतियोग्य जमिनमा सिचाई सेवा पुर्‍याउन पुराना बोरीङहरुको मर्मत सुधार, प्रगन्ना सिचाई आयोजनाको नहरवाट खेतियोग्य जमिन सम्मका सिंचाई नहरहरु निर्माण गर्न पहल गरिनेछ ।
१७. भवन निर्माण कार्यलाई ब्यवस्थीत बनाउन नेपाल सरकार शहरी विकास मन्त्रायबाट स्वीकृत “बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभुत निर्माण मापदण्ड, २०७२”कार्यान्यनमा ल्याईनेछ ।
१८. विद्युत नपुगेको बस्तीहरुमा विद्युत विस्तार कार्यलाई प्राथमिकता दिनका लागि प्रदेश सरकार संघीय सरकारसँग पहल गरिनेछ ।
१९. आम नागरिकहरुमा सूचना तथा संचारको पहुँच बढाउन विशेष ब्यवस्था गरिनेछ ।
२०. पूर्वाधार विकासलाई दिगो बनाउन र विकास आयोजना प्रति जनताको अपन्वत्वबोध गराउन १५ प्रतिशत श्रममा आधारित जनसहभागीका अनिवार्य गरिनेछ । आयोजना वापतको कन्टेन्जेन्सी ३ प्रतिशत लिइनेछ र विद्यालय तथा स्वास्थ्य संस्थाहरुका लागि कन्टेन्जेन्सी वापत १ प्रतिशत लिने नीति अवलम्बन गरिनेछ ।
२१. योजना तथा कार्यक्रमहरुको प्राथमिकता निर्धारण गरी आगामी आव देखि सोहि प्राथमिकताका आधारमा योजना छनौट गर्ने पद्धतीको विकास गरिनेछ ।
२२. आगामी पाँच वर्षमा सबै खेति योग्य जमिनमा सिचाई सुविधा उपलब्ध गराउन विशेष पहल गरिनेछ ।
२३. आयोजनाहरुको साझेदारीका लागि पालिका तथा उपभोक्ताहरुबाट ५०/५० को अवधारणालाई अवलम्बन गरी विशेष योजनाहरुको कार्यान्वयन गरिने गरी स्रोतको व्यवस्था गरिनेछ ।
२४. ठेक्का भई सकेका वडा कार्यालयका भवनहरु आगामी आ.व.मा सम्पन्न गरिनेछ ।

रोजगार सम्बन्धी नीति

• गाउँपालिमका रोजगार सेवा केन्द्रमा सुचिकृत हुने बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारिको प्रत्याभुति गर्नका लागि कामका लागि पारिश्रमिकमा अधारित सामुदायिक आयोजना तथा युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना संचालन गरि समुदायको विकास संगै बेरोजगारी न्यनीकरण गरिनेछ।
• संघ तथा प्रदेश सरकारले ल्याउने रोजगार तथा सिपमुलक कार्यमा अपनत्व कायम गर्दै रोजगारीका क्षेत्र विस्तार गरिनेछ ।
• निजी, सहकारी, गैह्रसहकारी क्षेत्र तथा अन्य सरोकारवाला निकायसंग समन्वय र सहकार्यमा आन्तरिक रोजगारी सिर्जनामा जोड दिइनेछ।
• रोजगार सेवा केन्द्रमा सुचिकृत बेरोजगारलाई पालिका स्तरिय आयोजनाहरुमा परिचालन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गरिनेछ ।
• रोजगार सेवा केन्द्र संचालन तथा व्यवस्थापनमा थप प्रभावकारी बनाइनेछ ।
• गरिवि तथा बेरोजगारी न्यनिकरण गर्नको लागि सुचिकृत बेरोजगार व्यक्तिहरुलाई गाउँपालिका रोजगार कार्यक्रम अन्तरगत अध्यक्ष आत्मनिभर योजना संचालन गरि विकास निर्माण र सामाजिक सेवा क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको लागि आवश्यक सीपमुलक तालिमको पहिचान गरि संचालन गरिनेछ ।
• व्यावसायिक कृषि, भौतिक पूवधार निर्माण, उद्योग र सेवामा रोजगारी पहिचान गरी रोजगार सेवा केन्द्र मार्फत रोजगारीका अवसर प्रदान गरिनेछ ।
• बेरोजगारी न्यनिकरणको लागी व्यावसायिक तथा सिप विकास सम्बन्धि विभिन्न शाखा तथा वडा कार्यलयका कार्यक्रमहरुलाई एकीकृत रुपमा कार्यान्वयनमा ल्याईनेछ ।
• वेरोजगारी तथा गरिवि न्यनिकरण गर्न मेरो ठाउँ म आफै बनाउछु अभियान संचालन गरि शिक्षित बेरोजगार, बैदेशिक रोजगारीबाट फर्किएका, रोजगारी गुमाएका युवाहरुलाई उद्यमि/ कृषि उद्यमि वनाउन आर्थिक तथा प्राविधिक सहयोग गरिनेछ।
• उद्योग रोजगारी सृजनाको मुख्य आधार भएको कारण साना मझेउला तथा ठुला उद्योग स्थापनाको लागि आवश्यक वातावरण सृजना गरिनेछ ।
• स्वरोजगारलाई प्रोत्साहित गर्नका लागि स्थानिय उत्पादनमा जेड दिउ, स्थानिय वस्तुको उपभोग गरै अभियान संचालन गरिनेछ ।

वातावरण तथा विपद व्यवस्थापन

१. विपद पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा प्रक्रिया नयाँ योजना तयार गरी कार्यान्वयन गर्ने र भैरहेको योजनालाई नियमति रुपमा पुनरावलोकन तथा अध्यावधिक गर्ने नीति अवलम्बन गर्ने ।
२. पूर्व तयारी र प्रतिकार्य गतिविधिहरुमा संलग्न एक सक्रिय सूचना व्यवस्थापन संयन्त्र सुनिश्चित गरिने छ ।
३. स्थानीय तहमा आपतकालीन कार्य सञ्चालन केन्द्रको स्थापना गरिनेछ ।
४. जोखिम तथा प्रकोपका क्षेत्रहरुको अध्ययन गरी विपदसँग सम्बन्धित स्रोत नक्सा तयार गरिनेछ ।
५. हरियाली प्रवर्धन गर्न आगामी आ.व. मा राप्ती नदिको तटबन्धको उत्तर तर्फ वृक्षारोपण गरिनेछ ।
६. हरित गाउँपालिकाको अवधारणालाई कार्यान्वयन गर्न प्रत्येक घरधनीले कम्पाउन्डभित्र कम्तिमा २ वटा बहुवर्षिय रुख वा फलफुल जाजका विरुवा रोप्ने अभियान सञ्चालन गरिनेछ ।
७. सरकारी तथा सामुदायिक वन संरक्षण तथा नियमन गरिनेछ ।
८. राप्ती गाउँपालिकाको प्रकोप व्यवस्थापनको गुरुयोजना बनाई कार्यान्वयन गरिनेछ ।
९. उदार तथा राहतका कार्यक्रम सञ्चालनमा रकम अभाव हुन नदिन आगामी आवमा प्रकोप व्यवस्थापन कोषको स्थापना गरी सञ्चालनमा ल्याइनेछ ।
१०. गाउँपालिकास्तरमा स्थानीय तह प्रकोप व्यवस्थापन समिति तथा वडास्तर वडास्तरिय प्रकोप व्यवस्थापन समितिको गरी विपद योजना तयारी तथा प्रतिकार्यका लागि क्रियाशिलता बढाइनेछ ।
११. बाढी, पहिरो, नदि कटानको जोखिम न्यूनिकरणका लागि तटबन्ध निर्माण कार्यका लागि पहल गरिनेछ ।
१२. विपद व्यवस्थापनका लागि एक वडा एक खुला एव सुरक्षित क्षेत्र पहिचान गरिनेछ ।
१३. सवारी साधनहरु मापदण्ड अनुसार पुराना चलाउन नमिल्ने साधनहरु प्रयोगमा निषेध गर्न आवश्यक पहल गरिनेछ । ध्वनी प्रदुषण हुने कार्यक्रम संचालनलाई निरुत्साहित गरिनेछ ।
१४. विपदको समयमा उद्धारका लागि आश्रयस्थल, सार्वजनिक भवन, हेलिप्याड, वारुणयन्त्र तथा एम्बलेन्स लगायतको व्यवस्थापनका लागि पहल गरिनेछ ।
१५. नदिजन्य पदार्थको उपयोगलाई व्यवस्थित र सुरक्षित प्रयोग गरिनेछ ।

संस्थागत विकास तथा सुशासन

• वडा तथा शाखा कार्यालयमा Face reading द्धारा हाजिरी गर्ने ब्यवस्था गरिनेछ ।
• सुचना समाचार डिजिटल माध्यमबाघ प्रवाह गरिने ब्यवस्था गरिनेछ ।
• सिसहँनिया प्रहरी चौकीलाई क बर्गमा स्तर उन्नती गर्न पहल गरिनेछ ।
• मसुरिया प्रहरी चौकीको लागि आश्यक पर्ने बजेट संघीय सरकार तथा प्रदेश सरकारमा माग गर्ने र जग्गा उपलब्ध गराउन आवश्यक पहल गरिनेछ ।
• नियमित रूपमा सार्वजनिक सार्वजनिक सुनवाई, सामाजिक परीक्षण तथा सार्वजनिक परीक्षण गर्ने व्यवस्था गरिनेछ ।
• निगरानी समुहलाई क्रियाशिल बनाइनेछ ।
• वडामा आउने सुचनाहरु छिटो र कम समयमा आउने ब्यवस्था गरिनेछ ।
• कर्मचारीको कार्यक्षमता अभिवृद्धीका लागि प्रशिक्षण तथा सिपमुलक कार्यक्रम सञ्चालन गरिने छ ।
• गाँउपालिका भित्र सम्पुर्ण कार्यालयहरुलाई डिजिटल तथा अनलाईन पद्धतिमा एकिकृत गरिने छ ।
• गाँउपालिका तथा हरेक वडामा डिजिटल नागरिक वडापत्रको व्यवस्था गरिने छ ।
• गाँउपालिका अन्तरगतका सबै शाखा तथा कार्यालयहरुको प्रमुख प्रशासकीय अधिकृतको निगरानीमामा रहने गरी सिसिटिभी जडान गरिनेछ ।
• स्वच्छ हरित वातावरण निर्माण अभियान अन्तरगत हरेक महिनाको दोस्रो शनिबार सरसफई वृक्षारोपण लगायत का रचनात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।
• हरेक कार्यालयमा गुनासो सुझाव पेटिकाको ब्यवस्था गरी कार्यालयमा आएका गुनासोको सम्बोधन गरिनेछ
• वडा तथा शाखा कार्यालयहरुको भौतिक संरचना निर्माण गर्दा अपाङ्ग मैत्री संरचना निर्माण गर्न जोड दिईनेछ ।
• कर्मचारी हरुको क्षमता , योग्यताका आधारमा जिम्मेवारी बाँडफाँडको निमित्त पहल गरिनेछ ।
• गाँउपालिका अन्तरगतका सबै शाखा तथा कार्यालयहरुको प्रमुख प्रशासकीय अधिकृतको निगरानीमामा रहने गरी सिसिटिभी जडान गरिनेछ ।
• हरेक कार्यालयमा गुनासो सुझाव पेटिकाको ब्यवस्था गरी कार्यालयमा आएका गुनासोको सम्बोधन गरिनेछ ।
• सेवाग्राहीका लागि सेवाग्राहीमैत्री वातावरण प्रतिक्षालय, पानी ईत्यादी व्यवस्था गरिनेछ ।
• कर्मचारीहरुको क्षमता , योग्यताका आधारमा जिम्मेवारी बाँडफाँडको निमित्त पहल गरिनेछ ।
• संघियताको मर्म अनुरुप स्थानीय तहको कार्यालय तथा विषयगत शाखाहरुको व्यवस्थापनका आवश्यक व्यवस्थापन गरिनेछ ।
• गाउंपालिकाको हरेक सुचनाहरुलाई अद्यावधिक गर्नका लागि आधुनिक प्रविधिको सूचना केन्द्रको स्थापना र विकास गरिनेछ ।

• सेवा प्रवाहको गुणस्तर सार्वजनिक जवाफदेहिता उत्तरदायित्व र पारदर्शिता अभिवृद्धि गर्नका लागि सार्वजनिक सुनुवाई सामाजिक लेखापरिक्षण आवधिक समिक्षा कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
• सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई वैज्ञानिक बनाउँदै यसलाई पारदर्शी र व्यवस्थित गरिनेछ ।
• गाउँपालिकाको आर्थिक स्रोतको पहिचान गर्न राजश्वको सम्भाव्यता अध्ययन गरिनेछ ।
• खाद्य सुरक्षा तथा स्वस्थ मासुजन्य पदार्थको भण्डारण वितरण तथा नियमनका लागि निर्देशिका बनाई कार्यान्वयन गरिनेछ
• बालमैत्री गाउँपालिका घोषणाका लागि सूचकहरु पुरा गर्न आवश्यक कार्यक्रम विभिन्न संघसंस्थाको सहयोग र सहकार्यमा सञ्चालन गरिनेछ ।
• गाउँपालिकाको स्थायी भरपर्दो दिगो स्रोत पहिचान तथा कर प्रणालीलाई व्यवस्थित गर्न करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने कार्यलाई अगाडि बढाइनेछ ।
• गाउँपालिकाको गतिविधि प्रकाशन तथा प्रशारण गरिनेछ ।
• स्थानीय तहबाट प्रदान गरिने सेवा सुविधाहरुलाई प्रभावकारी बनाउन प्रयाप्त मात्रामा कम्प्युटर इन्टरनेट फर्निचर लगायतको समुचित व्यवस्थापन गरिनेछ ।
• राजश्व प्रशासनलाई आधुनिकिकरण गरी कम्प्युटर प्रणाली मार्फत कर असुली प्रक्रियाको थालनी गरिनेछ ।
• वैज्ञानिक र प्रगतिशिल कर प्रणाली ( एकिकृत सम्पत्ति कर ) आगामी आवमा लागु गरि राजश्वलाई वैज्ञानिक र व्यवस्थित गरिनेछ ।
• कार्य बोझ र कार्य सम्पादन साथै अतिरिक्त समय काम गर्ने कर्मचारीहरुलाई प्रोत्साहन गरिनेछ ।
• आगामी आवदेखि कम्प्युटर प्रणालीमा आधारित व्यक्तिगत घटना दर्ता प्रक्रियाको सुरुवात गरिनेछ र सो को लागि वडा सचिवहरुलाई तालिमको व्यवस्था गरिनेछ ।
• गाउँपालिकाको पार्शव चित्र तयार गरी विकास र सेवा प्रवाहलाई तथ्य सूचना र तथ्याङ्कमा आधारित बनाइनेछ र स्व पार्शव चित्रलाई प्रत्येक वर्ष अध्यावधिक गर्दै लगिनेछ ।
• एकिकृत सम्पत्ति कर, ब्यवसाय कर तथा अन्य राजस्व कर असुली प्रणालीलाई ब्यवस्थित र प्रविधि मैत्री वनाउन एवं गाउंपालिकाको लेखा श्रेष्तालाई ब्यवस्थित गर्नका लागि कर राजस्व सम्वन्धी तथा लेखाङ्कन सम्वन्धी Software खरिद र जडान गरिनेछ ।
• क्षतिपूर्ति सहितको नागरिक वडापत्र तयार गरि कार्यान्वयनमा ल्याईनेछ ।
• भष्टाचारमा शुन्य सहनशीलताको नीतिलाई अवलम्बन गरी गाउँपालिकालाई सुशासन युक्त गाउँपालिकाको रुपमा विकास गरिनेछ ।
• गाउँपालिकाभित्र रहेका सञ्चार क्षेत्रलाई समानुपातिक रुपमा सूचना र विज्ञापनहरु उपलब्ध गराउने नीति अवलम्बन गरिनेछ ।
• तथ्याङ्कमा आधारित विकास र सेवा प्रवाहको अवधारणालाई कार्यान्वयन गर्न आगामी आव देखि हरेक घर परिवारको पारिवारिक विवरण तथा लगत संकल्न गर्ने कार्यको थाल्नी गरिनेछ ।
• यस गाउँपालिका क्षेत्र भित्र रहेका अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने र संघीय सरकार तथा प्रदेश सरकारसँगको सहकार्य र समन्वयमा कानूनी रुपमा वैधता प्रदान गर्ने तर्फ आवश्यक पहल गरिनेछ ।
• आगामी आ.व.मा गरिब घरधुरी सर्वेक्षण कार्य सञ्चालन गरिनेछ ।
• रोजगार अभिवृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिनेछ ।
धन्यवाद ।

नुमानन्द सुवेदी
अध्यक्ष
राप्ती गाउँपालिका

मितिः २०७७/०३/१०



प्रतिक्रिया दिनुहोस !