चुनावबाट भाग्दैनौँ, बहुमत ल्याउने हैसियत छ : ओली
भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी चुनावबाट भाग्ने भन्ने आरोपलाई अस्वीकार गर्दै, त्यसलाई राजनीतिक भ्रम र दबाब सिर्जना गर्ने रणनीति को रूपमा चित्रण गरेका छन् ।
११औँ राष्ट्रिय महाधिवेशनको मञ्चबाट ओलीले चुनावी आत्मविश्वास मात्र होइन, वर्तमान राजनीतिक प्रक्रियामाथि गम्भीर प्रश्नसमेत उठाए ।
ओलीका अनुसार, डर, दबाब र प्रतिशोधबाट मुक्त वातावरणमा भएको चुनावमा एमालेले बहुमत ल्याउने सामर्थ्य राख्छ । यही क्षमताका कारण एमाले चुनावबाट भाग्ने होइन, बरु निष्पक्ष चुनावको पक्षमा दृढतापूर्वक उभिएको उनको दाबी छ ।
तर अध्यक्ष ओलीले अहिले चुनाव हुँदैछ भन्ने चर्चा वास्तविकताभन्दा बढी राजनीतिक हल्ला भएको टिप्पणी गरे । चुनावको कुनै संवैधानिक र व्यवहारिक प्रक्रिया सुरु नभइसकेको अवस्थामा चुनावको कुरा उठाएर देशलाई अन्योलमा राख्न खोजिएको उनको आरोप छ ।
यसै सन्दर्भमा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको माग दोहोर्याउँदै, वर्तमान राजनीतिक संकटको समाधान चुनावको नारा होइन, संवैधानिक व्यवस्थाको पुनःस्थापनाबाट खोजिनुपर्ने धारणा राखे ।
महाधिवेशनको मञ्चबाट आएको यो अभिव्यक्तिलाई एमालेले केवल चुनावी जवाफका रूपमा होइन, राजनीतिक एजेन्डा नियन्त्रण गर्ने प्रयास र सत्तापक्षको रणनीतिमाथि प्रतिप्रश्न उठाउने सन्देशका रूपमा प्रस्तुत गरेको देखिन्छ ।








