१५ चैत्र २०८०, बिहिबार

स्याङ्जाका कोरोना संक्रमित एक जनाको मृत्यु, गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमणको पुष्टि

प्रकाशित मिति :  25 June, 2020 7:34 am


काठमाडौं, ११ असार ।

स्याङ्जाका कोरोना संक्रमित एक जनाको उपचारका क्रममा पोखरामा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान,पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

असार ८ गते अस्पतालमा भर्ना भएका स्याङ्जाको सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गएराति ११ः३५ बजे मृत्यु भएको अस्पतालका सहप्रध्यापक डा. अर्जुन आचार्यले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।

संक्रमित निमोनिया,डाईभेटिजका विरामी रहेको र स्वास्थ्य बिग्रिँदै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गराएकै बेला उनको निधन भएको आचार्यले जनाएका छन् । योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।

यस्तै,गण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विहान विज्ञप्ति जारी गरेर प्रदेशका ४ जिल्लामा ११ जना संक्रमित थपिएको जानकारी गराएको हो । निर्देशनालयका अनुसार म्याग्दीमा ६ जना, स्याङ्जामा १ जना, बागलुङमा २ जना, नवलपरासी पूर्वमा २ जना संक्रमित भेटिएका हुन् ।

संक्रमित मध्य नवलपरासी पूर्वका संक्रमितलाई आसोलेशनमा राखिसकिएको र अन्य जिल्लाका संक्रमितलाई सम्बन्धित जिल्लामा रहेका आईसोलेशनमा लैजाने तयारी भएको विज्ञप्तिमा उल्लेख छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ५३ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !