६ पुस २०८२, आइतबार

लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा चिसो ह्वात्तै बढ्यो : जनजीवन प्रभावित

प्रकाशित मिति :  21 December, 2025 12:12 pm


दाङ (देउखुरी) । केही दिनयता लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा चिसो एक्कासि बढ्न थालेको छ । दाङ, बर्दिया, रुपन्देही, कपिलवस्तु, बाँके, पाल्पा, गुल्मी र अर्घाखाँचीसहितका जिल्लामा शीतलहरको प्रभाव बढ्दै गएको महसुस गरिएको छ ।

शीतलहरसँगै चिसो हावा र कुहिरो चलेपछि बुटवल तथा भैरहवाका सडकमा चहलपहल घटेको छ । घरबाहिर निस्कनसमेत समस्या हुने अवस्था सिर्जना भएको स्थानीयवासी बताउँछन् ।

जाडोका कारण विशेष गरी बालबालिका, विपन्न वर्ग, वृद्धवृद्धा बढी प्रभावित भएका लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. इन्द्र ढकालले जानकारी दिए ।

यसैबीच, रुपन्देही जिल्ला विपद् व्यवस्थापन समितिको केही दिनअघि बसेको बैठकले ‘शीतलहर जोखिम पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८२’ स्वीकृत गरी प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले उक्त योजना सक्रिय रूपमा लागू गरिने बताए ।

बाँकेमा बाक्लो हुस्सु र कुहिरो

बाँके जिल्लामा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारदेखि चिसो अत्यधिक बढेको छ । चिसोले जनजीवन प्रभावित हुनुका साथै यहाँबाट संघीय राजधानी काठमाडौँ र पश्चिम नेपालका पहाडी जिल्लातर्फ हुने हवाई उडानसमेत प्रभावित भएका छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार बाक्लो कुहिरो र शीतलहरका कारण चिसो बढ्दै गएको हो । उनले बाँकेमा ‘शीतलहर आकस्मिक योजना–२०८२’ स्वीकृत गरी कार्यान्वयन भइसकेको र अति विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिलालगायत जोखिममा रहेका समुदायको पहिचान गरी जोगाउने तयारी गरिएको बताए ।

हवाई उडान प्रभावित

बाक्लो हुस्सु र कुहिरोका कारण मौसम बिग्रिएपछि शुक्रबार दिनभर नेपालगन्ज विमानस्थलबाट काठमाडौँ, पोखरा तथा पश्चिम नेपालका पहाडी जिल्लातर्फ हुने हवाई उडान रद्द गरिएका थिए ।

शनिबार पनि बिहान मौसम पूर्ण रूपमा नखुलेका कारण केही उडान मात्र सञ्चालन भए भने पहाडी जिल्लातर्फका उडान अनियमित बनेका छन् ।

नागरिक उड्डयन कार्यालयका अनुसार मौसमको खराबीले विशेष गरी बिहानका उडान बढी प्रभावित भएका छन् । नेपालगन्जबाट दैनिक जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा, बझाङ साथै काठमाडौँ र पोखराका लागि २५ भन्दा बढी उडान हुने गरेका छन् ।

बर्दियामा सडक सुनसान

बिहीबारदेखि मौसममा आएको एकाएक परिवर्तनका कारण बर्दियाका विभिन्न बजार क्षेत्र सुनसान देखिएका छन् । गुलरिया, मैनापोखर, सानोश्री, राजापुर, भुरीगाउँ र बाँसगढी बजारमा चहलपहल घटेको छ भने सवारी चापसमेत कम हुँदै गएको छ । चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिकलाई बढी समस्या देखिएको छ ।

गुलरिया नगरपालिका–५ का स्थानीय अजय शर्माका अनुसार चिसो बढेपछि बालबालिकालाई विद्यालय आउन–जान कठिनाइ भएको छ । पछिल्ला तीन दिनमा तापक्रम लगातार घट्दै शनिबार दिउँसो १३ डिग्री सेल्सियससम्म पुगेको छ ।

शीतलहरको प्रभाव अझै केही दिन रहने सम्भावना रहेकाले स्थानीय प्रशासनले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !