राष्ट्रिय सभा निर्वाचन : यी हुन् काङ्ग्रेस-एमाले गठबन्धनका उम्मेदवार
दाङ । राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा (एमाले) ले उम्मेदवार टुङ्गो लगएका छन् ।
तीन रिक्त सिटका लागि महिलातर्फ एमालेले, अन्य र अपाङ्गतर्फ काङ्ग्रेसले उम्मेदवारी दर्ता गर्ने तयारी भएकाे एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए ।
महिला क्लस्टरमा एमालेले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई अघि सारेको निर्णय सामान्य सिफारिसभन्दा फरक देखिन्छ।
गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने आकांक्षा बोकेकी झाँक्रीलाई राष्ट्रिय सभामा पठाउने निर्णय केन्द्रीय कमिटीले गरेकाे हाे ।
उता, नेपाली कांग्रेसले अन्यतर्फ गुल्मीका चन्द्र केसी र अपाङ्गता क्लस्टरमा दाङका बासुदेव जंगली घिमिरेलाई उम्मेदवार बनाउने सहमति गरेको छ ।
बासुदेव जंगलीको नाम अन्तिम समयमा टुंगिएको भए पनि कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन र गुटीय समीकरण यस निर्णयसँग जोडिएको देखिन्छ।
मंगलबार रातिसम्म कांग्रेस नेतृत्व पनि पार्टी सभापति शेरबहादुर देउवाको निवासमै छलफलमा जुटेको थियो ।
दलहरूबिच सहमतिमा निर्वाचन लड्ने समझदारी रहे पनि कुन क्लस्टर कसले पाउने भन्ने प्रश्नले अन्तिम घडीसम्म निर्णय लम्बिएको हो ।
यही कारण मनोनयन तालिका नजिकिँदासमेत शीर्ष नेताहरू काठमाडौँमा बसेर भागबन्डा मिलाउन व्यस्त देखिए ।
लुम्बिनी प्रदेशबाट खुला, महिला र अपाङ्गता क्लस्टर गरी तीन जना राष्ट्रिय सभा सदस्य चयन हुनेछन् । फागुन २० गतेदेखि पदावधि सकिन लागेका एमालेका गोपाल भट्टराई (खुला), विमला घिमिरे (महिला) र माओवादीका जगप्रसाद शर्मा (अपाङ्गता)को ठाउँमा नयाँ सदस्य आउनेछन्।
मतभारको हिसाबले कांग्रेस र एमाले दुवै बलियो देखिन्छन् । प्रदेशमा कुल मतभार ८,७५३ रहेको छ, जसमा कांग्रेसको ३,१७९, एमालेको २,८१० र माओवादी–एकीकृत समाजवादी गठबन्धनको २,६८६ मतभार छ ।
यस्तै राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति, जनमतलगायत साना दलहरूको मतभार निर्णायक हुन सक्ने आँकलन गरिएको छ ।








