असमानता विरुद्ध सचेत नागरिक निर्माण आवश्यक- केशवराज भुसाल
लक्ष्मी पाेखरेल
दाङ । असमानता विद्रोहका नागरिक उत्पादन गर्ने मूल कारण भएकाले त्यसविरुद्ध सचेत र सक्रिय नागरिक निर्माण अपरिहार्य रहेको गैह्रसरकारी महासङ्घ लुम्बिनी प्रदेशले देउखुरीमा आयाेजना गरेकाे छलफल कार्यक्रमका सहभागीले बताएका छन् ।
छलफल कार्यक्रममा बोल्दै महासङ्घका संयोजक केशवराज भुसालले नेपालमा समान अवसरमा आधारित समाज निर्माण गर्न नागरिक स्वयं सक्रिय हुनुपर्नेमा जोड दिएका छन् ।
आर्थिक, सामाजिक र शैक्षिक असमानताले दीर्घकालीन रूपमा समाजमा असन्तोष र विद्रोह जन्माउने जोखिम बढाउने उनकाे भनाइ थियाे ।
“असमानताले नागरिकलाई निराश बनाउँछ, निराश नागरिक विद्रोहतर्फ धकेलिन्छ,” उनले भने, “यसलाई रोक्न समान अवसर सुनिश्चित गर्ने नीति र नागरिक सहभागिता दुवै आवश्यक छन् ।”
उनले शिक्षा, स्वास्थ्य, रोजगारी र न्यायमा सबैको समान पहुँच बिना समृद्ध र स्थिर समाज कल्पना गर्न नसकिने उल्लेख गरे । राज्यका नीति, योजना र कार्यक्रमहरू लक्षित वर्गसम्म प्रभावकारी रूपमा नपुग्दा असमानता झनै गहिरिँदै गएको उनको भनाइ थियो ।
भुसालका अनुसार गैरी सरकारी संस्थाहरूले नागरिक सचेतना अभिवृद्धि, अधिकारमुखी अभियान र स्थानीय तहसँगको सहकार्यमार्फत् समान अवसरको समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् ।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि सामाजिक न्याय, समावेशिता र समान पहुँचलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए ।








