२१ माघ २०८२, बुधबार

मानसिक अस्पताललाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रूपमा विकास गर्ने मन्त्री गौतमको प्रतिबद्धता

प्रकाशित मिति :  4 February, 2026 2:05 pm


काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले पाटनस्थित मानसिक स्वास्थ्य अस्पताललाई ‘राष्ट्रिय मनोस्वास्थ्य केन्द्र’को रूपमा विकास गर्न सरकारका तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

बुधवार ललितपुरको पाटनमा रहेको मानसिक स्वास्थ्य अस्पतालको अनुगमनका क्रममा मन्त्री गौतमले मानसिक स्वास्थ्यसम्बन्धी सेवाको विस्तार र सुधारका लागि संस्थागत रूपमा अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएकी हुन् ।

मानसिक रोगप्रति समाजमा रहेको हेयभाव र गलत धारणा हटाउन अस्पतालको नाम परिवर्तन गर्नु उपयुक्त हुने अस्पताल प्रशासनको प्रस्तावलाई आफूले सकारात्मक रूपमा लिएको स्पष्ट पारिन्।

मन्त्री गौतमका अनुसार मानसिक रोगलाई अझै पनि समाजमा लाञ्छनाका रूपमा हेर्ने प्रवृत्ति विद्यमान छ, जुन गलत हो। उनले उच्च रक्तचाप, मधुमेह वा क्यान्सरजस्तै मानसिक समस्या पनि सामान्य स्वास्थ्य समस्या नै भएको उल्लेख गर्दै मस्तिष्क र मनको असन्तुलन हुँदा उपचार आवश्यक पर्नु स्वाभाविक प्रक्रिया भएको बताइन् ।

“मानसिक स्वास्थ्य अस्पताल वा मानसिक रोगी भन्नेबित्तिकै समाजमा नकारात्मक सोच आउँछ। यही स्टिग्मा हटाउन यसलाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रूपमा विकास गर्ने सोच सही लाग्यो,”मन्त्री गौतमले भनिन्, “यद्यपि निर्वाचन आचारसंहितालगायतका कारण अहिले धेरै काम गर्न सक्ने अवस्था छैन। मैले सकेजति प्रयास गर्छु, बाँकी काम आउने सरकारले निरन्तरता दिओस् भन्ने मेरो आग्रह छ।”

उनले नेपालमा मानसिक रोगीको संख्या बढ्दै गइरहेको उल्लेख गर्दै यसको उपचार, पूर्वाधार र जनचेतनाका लागि अब बन्ने सरकारले विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याइन्।



प्रतिक्रिया दिनुहोस !