आगो लगाएर मार्नेहरूले उल्टै मलाई हत्यारा भन्छन्ः ओली
काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रघाती तत्वहरूले अराजकता सिर्जना गरी आफूविरुद्ध झुटा आरोप लगाइरहेको आरोप लगाएका छन्।
झापामा आयोजित झापावासीहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले केही तत्वहरूले योजनाबद्ध रूपमा उपद्रव मच्चाएर राष्ट्रिय स्तरको अराजकता सिर्जना गर्ने प्रयास गरेको बताएका हुन् ।
अध्यक्ष ओलीले गत भदौ २३ र २४ गते भएका घटनाप्रति संकेत गर्दै आफूले पहिल्यै यस्तो सम्भावनाबारे सचेत गराएको भए पनि पूर्ण रूपमा रोक्न नसकिएको स्वीकार गरे । उनका अनुसार आगजनी र हत्या गर्ने समूहहरूले उल्टै आफूलाई हत्यारा, षड्यन्त्रकारी भन्दै घृणित आरोप लगाएर देशलाई बदनाम गर्ने प्रयास गरिरहेका छन्।
प्रधानमन्त्रीले गोली चलाउने आदेश दिन नसक्ने स्पष्ट पार्दै ओलीले प्रधानमन्त्रीले गोली चलायो भन्ने आरोप लगाउनेहरू या त बेबकुफ हुन् वा अपराधी भएको टिप्पणी गरे ।उनले सुरक्षा संयन्त्रले परिस्थितिअनुसार निर्णय गर्ने स्पष्ट पार्दै प्रधानमन्त्री प्रत्यक्ष रूपमा त्यस्ता आदेश दिन नसक्ने दाबी गरे ।
उनको यो अभिव्यक्ति भदौ २३ गते भएको जेन–जी आन्दोलनसँग सम्बन्धित रहेको छ। उक्त आन्दोलनका क्रममा प्रदर्शनकारीहरूको आक्रमण, आगजनी तथा प्रहरी कारबाही हुँदा दर्जनौं व्यक्तिको ज्यान गएको थियो।
सो घटनापछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले त्यसयता पटक–पटक गोली चलाउने आदेश नदिएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गर्दै आएका छन् ।
अध्यक्ष ओलीले उपद्रव मच्चाएर लुटपाट गर्ने, आगो लगाउने तथा हत्या गर्ने तत्वहरूले नै षड्यन्त्रपूर्वक आफूविरुद्ध झुटा प्रचार गरिरहेको आरोप लगाउँदै यथार्थ कुरा आम नागरिकसमक्ष पुर्याउन आवश्यक रहेको बताए। झुटको प्रचार गरेर विभिन्न आरोप लगाइए पनि सत्य तथ्य जनताले बुझ्नुपर्ने उनको भनाइ थियो।









