२८ माघ २०८२, बुधबार

आज तराईमा हुस्सु, उच्च पहाड र हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

प्रकाशित मिति :  11 February, 2026 8:38 am


दाङ । हाल तराईका धेरै स्थानसहित उपत्यकाहरूमा हुस्सु लागेको छ भने हिमाली तथा उच्च पहाडी भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भागमा साधारणतया बदली रहनेछ भने बाँकी पहाडी भागमा आंशिक बदली र तराईमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ।

यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति तराईका केही स्थानमा तुँवालो लाग्ने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना कायमै छ। महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।



प्रतिक्रिया दिनुहोस !