स्वघोषणापत्र सार्वजनिक गर्दै राप्रपाका समानुपातिक उम्मेदवार बुढाथोकीद्वारा समतामूलक विकासको प्रतिबद्धता
काठमाडाैँ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का समानुपातिक सांसद उम्मेदवार गजेन्द्रसिंह बुढाथोकीले आफ्नो स्वघाेषणापत्र सार्वजनिक गरेका छन् ।
तीन दशक लामो आर्थिक पत्रकारिताको अनुभव, अपाङ्गता अधिकार तथा सामाजिक रुपान्तरण अभियन्ताका रूपमा निरन्तर सक्रियता र सचेत नागरिकको हैसियतका आधारमा आफू संसदीय दौडमा होमिएको उनले बताएका छन् ।
बुढाथोकीले फ्रान्सेली दार्शनिक ब्यारन दे मन्टेस्क्युद्वारा प्रतिपादित शक्ति पृथकीकरणको सिद्धान्तअनुसार राज्यका तीन अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका स्वतन्त्र र प्रभावकारी रूपमा सञ्चालन भए मात्र मुलुकको विकास सम्भव हुने उल्लेख गरेका छन् । नेपालमा लामो समयदेखिको राजनीतिक अस्थिरता र राज्यका अंगहरूबीचको प्रभावकारी समन्वय अभावका कारण नागरिक अपेक्षा पूरा हुन नसकेको उनको भनाइ छ ।
उनले व्यवस्थापिकालाई राज्यको सबैभन्दा प्रभावकारी अंगका रूपमा उल्लेख गर्दै समन्यायिक तथा समतामूलक आर्थिक विकास, अपाङ्गता सचेतना र सुसंस्कृत मिडिया उद्यम विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएको जानकारी दिएका छन् ।
राप्रपाले सार्वजनिक गरेको संकल्पपत्रलाई आधार मानेर अगाडि बढेको बताउँदै उनले पार्टीका निर्देशन मण्डलका अध्यक्ष तथा पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लाेहाेनीले २०४२ सालमा सुरु गरेको आर्थिक उदारीकरणको पहिलो चरणलाई नयाँ पुस्ताबाट ‘आर्थिक सुधार ३.०’ का रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पत्रकारितालाई राज्यको ‘चौथो अंग’ का रूपमा व्याख्या गर्दै बुढाथोकीले आफ्नो ३१ वर्षे पत्रकारिताले सधैं राज्यका तीनै अंगमाथि खबरदारी गर्दै आएका छन् । पाँच वर्षदेखि टक्सार म्यागजिनका प्रधान सम्पादककाे भूमिका निर्वाह गरिसकेका उनले आफू आबद्ध रहेको टक्सार म्यागजिनले निरन्तर आर्थिक नीति र विकासका विषयमा बहस उठाउँदै आएको उल्लेख गर्दै आफ्नो उम्मेदवारीका कारण पत्रिकाको स्वतन्त्रतामा कुनै प्रभाव नपर्ने स्पष्ट पारेका छन् ।
“टक्सार टीमले पत्रकारिताबाटै थप स्वतन्त्र अभ्यास गरिरहनेछ भने म प्रत्यक्ष/अप्रत्यक्ष टक्सारकाे साथमा रहनेछु । मलाई परिवारकाे सदस्यमात्र नभइ अभिभावकीय भूमिकामा सम्मान र अवसर प्रदान गरेकाेमा टक्सारकाे प्रकाशक कम्पनी बाेधी सञ्चार प्रा.लि. र मेरा सबै सहकर्मीप्रति आभारी छु,” बुढाथाेकीले प्रष्ट्याएका छन्, “टिमले दिएकाे माया, सम्मान र सल्लाह सुझावलाइ मनन गर्दै अघि बढ्ने छु, हिजाे म र मेराे टिमले बनाएकाे नीति टक्सारकाे रहेकाे थियाे भने भूमिका फेरिँदै गर्दा म संसदमा पुग्दा टक्सारकाे नीतिलाइ मैले बाेकेर गएकाे हुनेछु भन्ने पनि स्पष्ट गर्न चाहन्छु ।”
राप्रपाले ‘संवर्धनवाद’ को अवधारणासहित आर्थिक सुधार ३.० को रोडम्याप अघि सारेको जनाउँदै उनले सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै राष्ट्र निर्माण गर्ने पार्टीको मूल ध्येय रहेको बताएका छन् । ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी १० वर्षभित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित ‘ऊर्जा उत्पादन दशक’ घोषणा गरिएको जनाउँदै उनले संसद र सरकारमा बलियो उपस्थिति बनाएर राष्ट्र निर्माणको अधुरो सपना पूरा गर्ने दाबी गरेका छन् ।
बुढाथोकीले संसदमा पुगेपछि अर्थतन्त्र, बजेट प्रणाली, लघु तथा साना उद्योग, भूमिहीन किसान, विपन्न तथा तल्लो मध्यम वर्ग र निजी क्षेत्रका मुद्दा सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाएका छन् । साथै अपाङ्गता भएका नागरिक, अल्पसङ्ख्यक तथा अवसरबाट वञ्चित समुदायको हकहितका लागि आवाज बुलन्द गर्ने बताएका छन् ।
उनले फागुन २१ गते हुने निर्वाचनमा राप्रपाको चुनाव चिह्न ‘हलो’ मा मतदान गरी आफूलाई संसदमा प्रश्न गर्ने नैतिक तथा कानुनी हैसियत प्रदान गर्न मतदातासँग अपिल गरेका छन् । विस्तृत एजेन्डा अध्ययन गरी रचनात्मक सुझाव दिन पनि उनले आग्रह गरेका छन् ।
यस्ताे छ पूर्णपाठः
आगामी निर्वाचनकाे सन्दर्भमा म गजेन्द्र बुढाथाेकीकाे स्वघाेषणा
मेराे तीन दशककाे आर्थिक पत्रकारिताकाे अनुभव, अपाङ्गता अधिकारकर्मी/सामाजिक रुपान्तरण अभियन्ताकाे निरन्तर अभ्यास र एक प्रश्न गर्न सक्ने सचेत नागरिकका हैसियतले आउँदाे फागुन २१ गते हुने निर्वाचन निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीकाे तर्फबाट समानुमातिक सूचीमा निर्वाचन आयाेगमा नाम दर्ता भएकाे समस्त शुभचिन्तकमा पुनः स्मरण गराउन चाहन्छु ।
फ्रान्सेली दार्शनिक ब्यारन डी मन्टेस्क्युले प्रतिवादन गरेकाे शक्ति पृथकीकरणको सिद्धान्त (Theory of Separation of Powers) अनुसार विश्वमा राज्य चल्ने गरेकाे छ । जसअनुसार राज्यका तीन अंगहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले स्वतन्त्र रूपमा काम गरेमा राज्यकाे विकासकाे गति सहज रूपमा अगाडि बढ्दछ । तर, नेपालले लामाे समय राजनीतिक अस्थिरता भाेग्दै आएकाे छ भने तीन वटा राज्यका अंगहरूले राम्राेसँग काम गर्न नसक्दा नेपाली जनताकाे भविष्य अलमलमा रहेकाे सबैले भाेगेकै कुरा हाे ।
राज्यकाे समग्र विकास र दरिलाेपनका लागि सबैभन्दा बढी प्रभावकारी अंग भनेकाे व्यवस्थापिका (संसद) नै हाे । त्यसैले मैले मुख्यतः तीन वटा विषय समन्यायिक, समतामूलक आर्थिक विकास, अपाङ्गता सचेतना र सुसस्कृत मिडिया उद्यम विकासकाे मुद्दा बाेडेर संसदीय दाैडमा हाेमिएकाे छु ।
साथमा राष्ट्रिय प्रजातन्त्र पार्टीले सार्वजनिक गरेकाे संकल्प पत्र चुनावका एजेन्डाका रूपमा अंगिकार गरेर अगाडि बढेकाे छु । जसमार्फत मूलतः राप्रपाका हाल निर्देशन मण्डलको अध्यक्ष रहनु भएका उदारीकरणका पिता डा. प्रकाशचन्द्र लोहनीले २०४२ सालमा नेपालमा सुरुवात गर्नुभएको पहिलो चरणको आर्थिक सुधारलाई अब नयाँ पुस्ताबाट नयाँ चरणको आर्थिक सुधार अगाडि बढाउन म प्रतिबद्ध छु ।
राज्यका तीन अंकहरू भन्दा पनि माथि चाैथाे अंग छ, पत्रकारिता । मैले जीवनभर कमाएकाे कमाइ भनेकाे स्वतन्त्र, निस्पक्ष र भयरहीत निरन्तर पत्रकारिता हाे । विश्वले मानेकाे स्वतन्त्र पत्रकारिताकाे मर्म अनुरूप राज्यका तीनै अंगलाइ निगरानी गर्ने क्षेत्र पत्रकारिता हाे । विशेषगरी पछिल्लाे ३१ वर्षमा मैले गरेकाे पत्रकारिताकाे अनुभवमा तीनै अंगकाे खबरदारी गर्न कुनै कसर बाँकी नराखेकाे पनि स्पष्ट पार्न चाहन्छु । पछिल्लाे समयमा म सम्बद्ध टक्सार म्यागजिनका पाँच वर्षका हरेक अंकले पनि नेपालकाे आर्थिक विकासकाे एजेण्डालाइ नीतिगत सम्बाेधनका लागि सधै झकझकाइरहेकाे छ ।
टक्सार टीमले पत्रकारिताबाटै थप स्वतन्त्र अभ्यास गरिरहनेछ भने म प्रत्यक्ष/अप्रत्यक्ष टक्सारकाे साथमा रहनेछु । मलाई परिवारकाे सदस्यमात्र नभइ अभिभावकीय भूमिकामा सम्मान र अवसर प्रदान गरेकाेमा टक्सारकाे प्रकाशक कम्पनी बाेधी सञ्चार प्रा.लि. र मेरा सबै सहकर्मीप्रति आभारी छु । टिमले दिएकाे माया, सम्मान र सल्लाह सुझावलाइ मनन गर्दै अघि बढ्ने छु । हिजाे म र मेराे टिमले बनाएकाे नीति टक्सारकाे रहेकाे थियाे भने भूमिका फेरिँदै गर्दा म संसदमा पुग्दा टक्सारकाे नीतिलाइ मैले बाेकेर गएकाे हुनेछु भन्ने पनि स्पष्ट गर्न चाहन्छु ।
मेराे व्यक्तिगत र म सम्बद्ध पार्टीकाे कुनै पनि प्रभाव टक्सारमा पर्नेछैन भन्ने पनि प्रतिवद्धता गर्न व्यक्त गर्नु मेराे धर्म र कर्म दुबै हाे जस्ताे लाग्छ । राज्यका तीनै अंग र समाजलाइ मैले जहिले प्रश्न गर्दै आएकाे छु र गरिरहने छु । प्रश्न गर्ने थलाे अब संसद हुनेछ भन्ने दृढ विश्वासकासाथ मैले नेपाली समाजकाे विकासमा थप याेगदान गर्नेछु ।
राजनीतिक अभ्यासमा मेराे मार्गदर्शन गर्ने पार्टी राप्रपाले घोषणापत्र (संकल्प पत्र) पनि सार्वजनिक गरिसकेकाे छ । हामीले ‘संवर्धनवाद’बाट आर्थिक सुधार ३.० सम्मको रोडम्याप प्रस्तुत गरका छाैँ । राप्रपा सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै राष्ट्र निर्माणमा विश्वास राख्छ। बडामहाराजाधिराज पृथ्वीनारायण शाह लाई आदर्श पुरुष मान्दै ‘पृथ्वीपथ’ मार्गदर्शन सिद्धान्त बनाइकाे छ पार्टीले । अहिलेको परिप्रेक्षमा राप्रपा देशको एकमात्र वैकल्पिक राजनीतिक शक्ति हो भन्नेमा कुनै अर्को मत छैन ।
राजसंस्था र हिन्दू राष्ट्रको अवधारणामा हामी स्पष्ट छाैँ । वर्तमान संघीय संरचनामा व्यापक सुधार र बलियो स्थानीय तहको दुई तहको सरकार र गैर-दलीय निर्वाचन प्रणाली हाम्राे प्रस्ताव छ ।
नेपालको आर्थिक नीति र विकास मार्गलाई पुनरावलोकन गर्दै नयाँ चरणको आर्थिक सुधार ३.० को अवधारणामा मुलुकलाई अघि बढाउन आवश्यक छ। जलस्रोत र ऊर्जा क्षेत्रमा पार्टीले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित ‘ऊर्जा उत्पादन दशक’ घाेषणा गर्द आउँदाे संसद र सरकारमा बलियाे उपस्थिति जनाएर राष्ट्र निर्माणकाे अधुराे सपना पूरा गर्ने वाचा गर्दछाैँ ।
यतिन्जेल मैले धेरै प्रश्न गरेकाे छु, अब म प्रश्न गर्नेसँगै प्रश्न सुन्ने भूमिकामा पनि छु । त्यसैले मलाई सल्लाह, सुझाव, साथ दिन र प्रश्न गर्न अनुराेध गर्दछु । मेरा सबै सामाजिक सञ्जालका एकाउन्टहरू मेरो सार्वजनिक पोस्टबक्स हुन्- खासगरि देशको अर्थतन्त्र, बजेट प्रणाली, लघु, घरेलु, तथा साना उद्योगी/व्यवसायी (एमएसएमइ), भूमिहीन र साना किसान, विपन्न र तल्लो मध्यम वर्गसहित निजी क्षेत्रको समग्र प्रतिनिधित्व गर्दै संसदमा यी क्षेत्रका मुद्दाहरूलाई गहन रुपमा उठाउने छु ।
मेरो मूल दायित्व समावेशी, समन्यायिक नेपालमा हालसम्म केबल भोट बैंकमात्र मानिएका अपाङ्गता भएका नागरिकहरू, अल्पसंख्यक र अवसरबाट बञ्चित समुदायको हकहित रक्षाका लागि सशक्त आवाज बन्ने प्रतिबद्धता जनाउँदछु । त्यहाँसम्म पुगेर तपाईँको सशक्त आवाज बन्ने बाटाेलाई सुनिश्चित गर्न राप्रपाकाे हलाे चिन्हमा भाेट गर्न अनुराेध गर्दछु । किनकी तपाइँहरूले पार्टीलाइ दिने भाेट बाट नै म संसदमा प्रश्न गर्ने नैतिक र कानुनी हैसियतमा उपस्थित हुने हाे । विस्तृत एजेण्डा राप्रपाकाे घाेषणा पत्रमा रहेकाले अध्ययन गरेर रचनात्मक सल्लाह सुझावका लागि पुनः आव्हान गर्दछु ।
जदौ
जय राष्ट्रवाद्र
गजेन्द्रसिंह बुढाथाेकी
समानुपातिक सांसद- उम्मेदवार, राप्रपा
चुनाब चिह्न हलो
तोपचराको गुँड, कपन, काठमाडाैँ ।








