३ चैत्र २०८२, मंगलबार

२४ घण्टामा विपदमा परी ४ जनाको मृत्यु : साढे २ करोडभन्दा बढी क्षति

प्रकाशित मिति :  17 March, 2026 3:21 pm


काठमाडौँ । नेपालभर पछिल्लो २४ घण्टामा विभिन्न प्राकृतिक तथा गैर–प्राकृतिक विपद्का घटनामा परी ४ जनाले ज्यान गुमाएका छन् भने साढे २ करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुलेटिनअनुसार चैत २ गते बिहान १० बजेदेखि चैत ३ गते बिहान १० बजेसम्म देशका ४३ जिल्लामा कुल ७३ वटा विपद्का घटना रेकर्ड भएका छन्। ती घटनामा १४ जना घाइते भएका छन्।

मृत्यु हुनेमा हावाहुरीबाट २ जना, सर्पदंशबाट १ जना र चट्याङ लागेर १ जना रहेका छन्। यस अवधिमा सबैभन्दा बढी हावाहुरीका ४६ वटा र आगलागीका १२ वटा घटना दर्ता भएका छन्।

विपद्का कारण २ करोड ४१ लाख ६ हजार ९ सय रुपैयाँ बराबरको अनुमानित क्षति भएको प्राधिकरणले जनाएको छ। साथै, २७ वटा चौपायाको समेत क्षति भएको छ। उद्धार तथा व्यवस्थापनका लागि ३ सय ४९ जना प्रहरी परिचालन गरिएको थियो।

यसैबीच, चालु वर्ष (वैशाख १ देखि चैत ३ सम्म) देशभर ६ हजार ९ सय ५१ वटा विपद्का घटना भइसकेका छन्। यी घटनामा हालसम्म ४ सय ७५ जनाले ज्यान गुमाएका छन् भने ३८ जना बेपत्ता छन्। साथै, १ हजार ८ सय ४६ जना घाइते भएका छन् र १२ हजार ६ सय ५० परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

तथ्यांकअनुसार यस वर्ष सबैभन्दा बढी मानवीय क्षति आगलागीबाट भएको छ, जसमा १०० जनाको मृत्यु भएको छ। त्यसपछि सर्पदंशबाट ९८, पहिरोबाट ७४, जनावरको आक्रमणबाट ५४ र चट्याङबाट ४७ जनाको मृत्यु भएको उल्लेख छ।

मौसमतर्फ, पछिल्लो २४ घण्टामा देशका ३ सय ३४ मध्ये १२३ वर्षा मापन केन्द्रमा वर्षा रेकर्ड गरिएको छ। सबैभन्दा बढी वर्षा धनकुटाको मुलघाटमा ३५.० मिलिमिटर मापन गरिएको छ।

तापक्रमका हिसाबले रुपन्देहीको भैरहवा सबैभन्दा तातो स्थान बनेको छ, जहाँ अधिकतम तापक्रम ३४.५ डिग्री सेल्सियस पुगेको छ। त्यस्तै, मनाङको हुम्दे सबैभन्दा चिसो स्थान रहँदै न्यूनतम तापक्रम माइनस ८.५ डिग्री सेल्सियस मापन गरिएको छ।



प्रतिक्रिया दिनुहोस !