५ चैत्र २०८२, बिहिबार

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : देशका विभिन्न स्थानमा वर्षा, असिना र हिमपातको सम्भावना

प्रकाशित मिति :  19 March, 2026 6:21 am


काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण देशभर मौसममा आंशिकदेखि सामान्य बदली देखिएको छ ।

महाशाखाका अनुसार अहिले देशको हिमाली भूभागमा सामान्य बदली रहेको छ भने कोशी प्रदेशको पहाडी भूभाग र मधेस प्रदेशमा आंशिक बदली छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङ्ग र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

सुदूरपश्चिम प्रदेशको तराईका एक–दुई स्थानमा समेत यस्तै प्रकारको वर्षा हुन सक्ने जनाइएको छ । आज राति पनि देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा चट्याङ्ग, असिना र मध्यम वर्षाको सम्भावना रहेको छ । साथै बागमती र कोशी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हिमपातसमेत हुन सक्ने महाशाखाले जनाएको छ ।

मौसमविद्ले चट्याङ्ग, असिना तथा वर्षाका कारण दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !