५ चैत्र २०८२, बिहिबार

चैते दसैँ सुरु : घटस्थापनाका लागि बिहान ७:५१ शुभ समय

प्रकाशित मिति :  19 March, 2026 6:44 am


काठमाडौँ । वसन्त ऋतुसँगै आत्मशुद्धि, साधना र ऊर्जा जागरणको सन्देश बोकेको चैत्र नवरात्र आजदेखि सुरु भएको छ। शक्ति उपासनाको यो विशेष पर्वले केवल धार्मिक अनुष्ठान मात्र होइन, आत्मिक अनुशासन र सकारात्मक जीवनशैलीतर्फ उन्मुख गराउने अवसरका रूपमा पनि महत्व राख्छ।

आज बिहान ७ः५१ बजे शुभ साइतमा देशभर घटस्थापना गरिएको छ । राजधानीको हनुमानढोका दरबारसहित विभिन्न शक्तिपीठमा विधिपूर्वक नवदुर्गा देवीको आवाहन गर्दै पूजा आराधना सुरु गरिएको छ । उत्तर फर्केर घटस्थापना गर्ने परम्परागत विधि पनि यसपालि पालना गरिएको छ ।

चैत्र नवरात्रलाई विशेषगरी नयाँ ऊर्जा र सकारात्मक सोचको सुरुवातको रूपमा लिइन्छ । धार्मिक विश्वासअनुसार यी नौ दिनमा देवी दुर्गाका विभिन्न स्वरूपको आराधना गर्दा मनोकामना पूरा हुने र नकारात्मक शक्तिमाथि विजय प्राप्त हुने मान्यता छ ।

देशभरका शक्तिपीठ र देवी मन्दिरहरूमा भक्तजनको उल्लेख्य भीड लाग्ने क्रम सुरु भइसकेको छ । कतिपयले व्रत बस्ने, ध्यान गर्ने तथा सात्विक जीवनशैली अपनाउने परम्परा पनि यो अवधिमा विशेष रूपमा पालन गर्छन् ।

शास्त्रीय दृष्टिले वर्षमा चारपटक नवरात्र मनाइने भए पनि असोजको नवरात्र (बडादसैँ) र चैत्र नवरात्रलाई बढी महत्व दिइन्छ। आसार र पुस महिनामा पर्ने नवरात्रलाई भने ‘लुप्त नवरात्र’ का रूपमा चिनिन्छ ।

यसरी, चैत्र नवरात्र केवल धार्मिक अनुष्ठानमा सीमित नभई आत्मिक रूपान्तरण, अनुशासन र सकारात्मक जीवनको अभ्यास गर्ने एक महत्वपूर्ण अवसरका रूपमा स्थापित हुँदै गएको छ।



प्रतिक्रिया दिनुहोस !