७ चैत्र २०८२, शनिबार

पश्चिमी प्रणाली सक्रिय : देशभर वर्षा, हिमपात

प्रकाशित मिति :  21 March, 2026 9:11 am


काठमाडौँ । देशभर मौसममा उल्लेख्य परिवर्तन देखिएको छ । पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको संयुक्त प्रभावका कारण आज अधिकांश भूभागमा बदली, वर्षा र हिमपातको अवस्था बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल मधेशदेखि सुदूरपश्चिमसम्मका प्रदेशहरूमा आंशिकदेखि पूर्ण बदली रहेको छ भने पहाडी तथा हिमाली क्षेत्रमा मौसम अझ बढी सक्रिय देखिएको छ ।

विशेषगरी बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपातसमेत सुरु भएको छ ।

महाशाखाका अनुसार दिउँसोको समयमा मौसम अझ सक्रिय हुने सम्भावना छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा पनि यस्तै किसिमको मौसमको प्रभाव देखिन सक्नेछ ।

यसैबीच, हावाहुरी र चट्याङका कारण दैनिक जनजीवन, कृषि तथा यातायात क्षेत्रमा असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । विशेषगरी खुला स्थानमा काम गर्ने, यात्रा गर्ने तथा पशुपालन गर्नेहरूले सावधानी अपनाउनुपर्ने देखिन्छ ।

रातिको समयमा भने मौसम केही सुधारिए पनि देशभर सामान्य बदली रहनेछ । पहाडी र हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायम रहनेछ ।

मौसमविद्हरूका अनुसार यो प्रणाली अझ केही दिन सक्रिय रहने संकेत देखिएकाले आगामी दिनहरूमा पनि मौसमको नियमित अद्यावधिक जानकारी लिँदै आवश्यक सतर्कता अपनाउनु पर्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस !