९ चैत्र २०८२, सोमबार

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना

प्रकाशित मिति :  23 March, 2026 6:19 am


काठमाडौँ । हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार (चैत ९) देशका अधिकांश पहाडी तथा हिमाली भू–भागमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ।

विभागका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना छ। त्यस्तै, बाँकी पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा पनि यस्तै प्रकारको मौसम गतिविधि देखिन सक्ने जनाइएको छ।

रातिको समयमा पनि देशको पहाडी तथा हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली कायम रहनेछ। कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा अन्य केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

विभागले मेघगर्जन र चट्याङका कारण हुन सक्ने सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। साथै, उच्च हिमाली क्षेत्रमा हिमपातका कारण आवागमन तथा दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकाले सावधानी अपनाउन पनि सुझाव दिइएको छ।



प्रतिक्रिया दिनुहोस !