१५ चैत्र २०८२, आइतबार

नामियाको एक दशक: वार्षिक १२ अर्बको कृषि यान्त्रीकरण मूल्य श्रृखला

प्रकाशित मिति :  29 March, 2026 10:10 am


काठमाडौं।

नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्थापना भएको एक दशक पूरा गरेको अवसरमा दशौँ वार्षिक साधारणसभा तथा वार्षिकोत्सव मनाएको छ।

नेपालमा कृषि यान्त्रिकीकरणका लागि संस्थागत रूपमा काम गर्न थालेको १० वर्षको अवधिमा करिब १२ अर्ब रुपैयाँ बराबरको वार्षिक कृषि यान्त्रिकीकरण मूल्य श्रृंखला निर्माण भएको संघले जनाएको छ।

यस अवधिमा कृषि यन्त्र तथा प्रविधिसँग सम्बन्धित व्यवसाय विस्तार भई ठूलो संख्यामा रोजगारी समेत सिर्जना भएको संघको दाबी छ।

कार्यक्रममा संघका अध्यक्ष कृष्ण शर्माले सरकारी नीति, निजी क्षेत्रको लगानी र व्यवसायीहरूको निरन्तर मेहनतका कारण कृषि यान्त्रिकीकरण किसानको घरघरमा पुग्न सफल भएको बताए। उनले कृषि विकास, उत्पादन वृद्धि र लागत घटाउन यान्त्रिकीकरण अपरिहार्य रहेको बताए।

उनले भने, “कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण र उत्पादन वृद्धि गर्न यान्त्रिकीकरण मुख्य आधार हो। पछिल्लो दशकमा नेपालमा कृषि यन्त्रको प्रयोग उल्लेखनीय रूपमा बढेको छ र यसले कृषि प्रणाली परिवर्तन गर्न सहयोग गरेको छ।”

शर्माका अनुसार विगतमा हातको भरमा हुने धान, गहुँ, मकै खेती, रोपाइँ, कटाइ, थ्रेसिङ लगायतका काम अहिले ट्र्याक्टर, पावर टिलर, मिनी टिलर, कम्बाइन हार्भेस्टर, रिपर, रोपाइँ मेसिन, थ्रेसर, स्प्रेयर लगायतका उपकरणबाट हुन थालेका छन्। यसले कृषि कार्य छिटो, सहज र कम लागतमा गर्न सम्भव भएको छ।

उनका अनुसार सिँचाइ प्रविधि, प्लास्टिक टनेल, ग्रीनहाउस, संरक्षित खेती, व्यावसायिक तरकारी तथा फलफूल खेतीमा समेत आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको छ। विश्वमा डिजिटल कृषि, ड्रोन प्रविधि, अटोमेसन, रोबोटिक्स र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग बढिरहेको अवस्थामा नेपालमा पनि यस्ता प्रविधि विस्तार गर्न आवश्यक रहेको उनले बताए।

नामियाका अनुसार कृषि यन्त्र तथा प्रविधिसँग सम्बन्धित व्यवसायमा वार्षिक अर्बौँ रुपैयाँ बराबरको कारोबार भइरहेको छ भने यस क्षेत्रमा हजारौँको संख्यामा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना भएको छ। कृषि यान्त्रिकीकरणले उत्पादन लागत घटाउने, उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, श्रम अभावको समस्या समाधान गर्ने र कृषि कार्यलाई व्यवस्थित बनाउने काम गरेको संघको भनाइ छ।

विदेशबाट फर्किएका युवाहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्न सके कृषि क्षेत्र नै रोजगारी सिर्जना गर्ने सबैभन्दा ठूलो क्षेत्र बन्न सक्ने अध्यक्ष शर्माले बताए।

कृषि यान्त्रिकीकरण विस्तारका क्रममा विभिन्न समस्या र चुनौतीहरू रहेको संघले जनाएको छ। अध्यक्ष शर्माका अनुसार कृषि यन्त्र तथा प्रविधिमा पर्याप्त बजेट विनियोजन नहुनु, उच्च भन्सार दर, परीक्षणबिना मेसिन आयात हुने समस्या, गुणस्तरहीन मेसिनरी आयात, प्राविधिक जनशक्तिको अभाव, बैंक तथा वित्तीय संस्थाबाट सहज कर्जा नपाउनु, अनुदान वितरण प्रणाली प्रभावकारी नहुनु, भौगोलिक जटिलता, सिँचाइ अभाव, युवाको विदेश पलायन र वित्तीय समस्या मुख्य चुनौतीका रूपमा रहेका छन्।

यी समस्याको समाधानका लागि नामियाले सरकारलाई विभिन्न नीतिगत सुझाव दिएको छ। जसमा कृषि यान्त्रिकीकरण प्रवर्द्धनका लागि छुट्टै केन्द्र स्थापना, कृषि यान्त्रिकीकरण नीति परिमार्जन, स्वदेशी कृषि औजार उद्योगलाई प्रोत्साहन, सहुलियत कर्जा र ब्याज अनुदान, गुणस्तर मापदण्ड कडाइ, कृषि यन्त्र परीक्षण केन्द्र सञ्चालन, कस्टम हायरिङ सेन्टर स्थापना, प्राविधिक तालिम कार्यक्रम सञ्चालन, अनुदान वितरण प्रणाली सुधार लगायतका विषय समावेश छन्।

शर्माले नेपालमा भौगोलिक विविधता, हावापानीको विविधता र कृषि उत्पादनको उच्च सम्भावना रहेको बताए। आधुनिक प्रविधि, बजार सुनिश्चितता र सरकारी नीतिगत सहयोग भएमा नेपाल कृषि उत्पादनमा आत्मनिर्भर बन्न सक्ने उनको धारणा छ।

उनले भने, “नेपालमा रोजगारी सिर्जना गर्ने सबैभन्दा ठूलो क्षेत्र कृषि हो। विदेशबाट फर्किएका युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न सके देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्छ। त्यसका लागि राज्यले कृषि मैत्री नीति ल्याउन आवश्यक छ।”



प्रतिक्रिया दिनुहोस !