व्यवसायीको दबाबपछि अन्तर प्रदेश यातायात भाडा वृद्धि
काठमाडौं । अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादर वृद्धि गरिएको छ । यातायात व्यवस्था विभागले सूचना जारी गर्दै आजदेखि लागू हुनेगरी यात्रुवाहक तथा मालवाहक सवारीको भाडा समायोजन गरिएको जनाएको हो ।
विभागका अनुसार १३ वटा सूचकलाई आधार मानेर २०७२ सालदेखि वैज्ञानिक भाडादर प्रणाली लागू हुँदै आएको छ । यस प्रणालीअनुसार प्रमुख सूचकका रूपमा रहेको इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढे–घटेमा भाडा स्वचालित रूपमा समायोजन हुने व्यवस्था छ ।
पछिल्लो पटक २०८१ पुस २२ गते डिजेलको औसत मूल्य प्रतिलिटर १५० रुपैयाँ ८३ पैसा हुँदा भाडा समायोजन गरिएको थियो । त्यसयता इन्धनसहित विभिन्न सूचकहरूको मूल्यमा आएको वृद्धि तथा परिवर्तनलाई आधार मानेर पुनः भाडा समायोजन गरिएको विभागले जनाएको छ ।
नयाँ समायोजनअनुसार अन्तर प्रदेश (राष्ट्रियस्तरका रुट) मा सञ्चालन हुने यात्रुवाहक सवारीको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ । पहाडी क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशतले बढाइएको छ भने तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले वृद्धि गरिएको छ ।
यसपटक भने नेपाल ट्रक यातायात व्यवसायी महासंघसहित विभिन्न यातायात व्यवसायी महासंघहरूको पहलमा भाडा समायोजन गरिएको जनाइएको छ । ढुवानी तथा सार्वजनिक सवारी सञ्चालन नै कठिन हुने अवस्था आएको भन्दै व्यवसायीहरूले सरकारको ध्यानाकर्षण गराउँदै निरन्तर दबाब दिएपछि भाडा पुनरावलोकन गरिएको हो ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनियाले इन्धनको मूल्य वृद्धि, सवारी साधनका पार्टपुर्जा, मजदुर खर्चलगायतका कारण व्यवसाय सञ्चालन असहज बन्दै गएको बताए । “लागत अत्यधिक बढेको अवस्थामा पुरानै भाडादरमा ढुवानी र सार्वजनिक सवारी सञ्चालन गर्न सम्भव थिएन । सबै महासंघहरूको पहल र सरकारलाई गरिएको दबाबपछि यो निर्णय आएको हो,” उनले भने ।
विभागले समायोजन गरिएको नयाँ भाडादर सूचीसमेत सार्वजनिक गरिसकेको छ र सम्बन्धित सबै पक्षलाई कार्यान्वयन गर्न आग्रह गरेको छ ।








