क्रियाशील सदस्यतामा अलमल नपरौं, व्यवस्थित बनाउन खोजेका हौंः महामन्त्री पौडेल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल बनाउन बाग्मती प्रदेशका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित जिल्ला सभापति, जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा ‘जरा अभियान’का लागि खटिएका केन्द्रीय प्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सदस्यतालाई सहज, व्यवस्थित र प्रविधिमैत्री बनाउन डिजिटल अद्यावधिक प्रक्रिया सुरु गरिएको जानकारी दिए।
उनका अनुसार एकपटक सदस्यताको विवरण डिजिटल प्रणालीमा अभिलेख भएपछि नवीकरण प्रक्रिया सहज हुने छ। त्यसका लागि सबैले आ–आफ्नो स्थानबाट सक्रिय रूपमा काम गर्न उनले आग्रह गरे।
महामन्त्री पौडेलले डिजिटल अद्यावधिक गरिँदैमा पुरानो सदस्यता खारेज नहुने स्पष्ट पार्दै यसबारे कुनै भ्रममा नपर्न आग्रह गरे।
“पुरानो क्रियाशील सदस्यता खारेज गरिएको होइन, अद्यावधिक गर्न लागिएको हो। यसमा कोही अलमलमा नपर्नुहोस्,” उनले भने।
उनले निर्वाचन प्रचारको शैली क्रमशः डिजिटलतर्फ उन्मुख भइरहेकाले पार्टी सर्कुलर, सदस्यहरूको राय संकलन तथा गतिविधिबारे जानकारी प्रवाह गर्न अब डिजिटल प्रविधिको उपयोग बढाइने बताए।
सदस्यहरूसँग पार्टीको विचार आदान–प्रदान गर्ने, जिम्मेवारी बोध गराउने र सदस्यहरूको क्षमताअनुसार रोस्टर तयार गर्न पनि डिजिटल अद्यावधिक आवश्यक रहेको उनले उल्लेख गरे।
महामन्त्री पौडेलले सदस्यता प्रक्रियालाई स्थानीयस्तरसँग जोड्न वडामै पुग्ने व्यवस्था गरिएको बताए। यसले सदस्यहरूलाई आफ्नो टोल–समुदायसँग पुनः जोड्ने र आपसी चिनारी मजबुत बनाउने उनको भनाइ छ।
“हरेक क्रियाशील सदस्यलाई प्रणालीमा जोड्न र अपनत्वको भावना विकास गर्न वडामै पुग्न प्रोत्साहित गरिएको हो। यसले विवरणमा पारदर्शिता कायम गर्न पनि सहयोग गर्छ,” उनले भने।
कुनै विशेष कारणले वडामा जान नसक्ने सदस्यहरूको हकमा के गर्ने भन्ने विषयमा आवश्यक छलफल गरेर निर्णय लिइने उनले जानकारी दिए।
कांग्रेसले जिल्ला सभापतिमार्फत सबै वडामा सदस्यता फारम पठाउने जनाएको छ। वडा सभापतिमार्फत सदस्यताको अद्यावधिक तथा नवीकरण प्रक्रिया अघि बढाइनेछ। नवीकरण गरिसकेका सदस्यहरूको विवरण वडा सभापतिले प्रमाणीकरण गरी प्रणालीमा प्रविष्ट गरेपछि मात्र वैध मानिने व्यवस्था गरिएको छ।
यसैबीच, सदस्यता नवीकरण नगरेका व्यक्तिले नयाँ फारम भर्न सक्ने भए पनि अद्यावधिक नगरेमा आगामी महाधिवेशनसम्बन्धी प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।








