४ बैशाख २०८१, मंगलबार

हरिशयनी एकादशी; तुलसी राेप्ने दिनः यस्ता छन् बहुगुणी तुलसीका फाइदा

प्रकाशित मिति :  1 July, 2020 8:43 am


काठमाडाैं, १७ असार । 

आज असार सुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी । वैदिक सनातन हिन्दू धर्ममा एकादशीलाइ भगवान विष्णुकाे उपासन गर्ने दिनकाे रूपमा लिइन्छ । चतुर्मास व्रत आरम्भ हुने आजकै दिन तुलसी राेप्ने प्रचलन गरेकाे छ । भगवान विष्णुकै अवतार मानिएकाे तुलसी धार्मिक रूपमा मात्र नभइ वैज्ञानिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ ।

तुलसी परम्परादेखि विभिन्न प्रकाका राेगका विरूद्धमा लड्ने गुण भएकाे वनस्पति हाे । पाैराणिक कालमा भगवानकै महिमा धेरै हुने र भगवानकाे नामप्रति सम्मान हुने भएकाले पनि तुलसीलाइ सम्मान गरेर घरघरमा राेप्ने प्रचलन छ । पूर्वीय धर्मग्रन्थ वेदमा समेत तुलसीको बिरुवाको पवित्रतासँगै औषधीय गुणको वर्णन गरिएको छ ।

तुलसीका विभिन्न प्रजातीहरू पाइन्छन् । गुण धर्मअनुसार कालो तुलसीलाई राम्रो मानिन्छ । हरियो तुलसीमा कालोको तुलनामा केही बढी तेल हुनुका साथै सापेक्षित धनत्वसमेत बढी हुन्छ । यसको पातमा ८३ मिलिग्राम प्रतिशत भिटामिन सी एवं २.५ मिलिग्राम प्रतिशत कैरेटिन हुन्छ । तुलसीको बीउमा भने पहेँलो तेल करिब १८ प्रतिशत मात्रामा पाइन्छ ।

प्राकृतिक वायु शुद्घ गर्ने बोट हो । यो बोट दिनहुँ करिब १/२ घन्टासम्म अक्सिजन छोड्छ । तुलसीको बिरुवाले निरन्तर अक्सिजन फ्याल्नुको साथै कार्बन मोनोअक्साइड, कार्बन डाइअक्साइड, सल्फर डाइअक्साइडलगायत विषालु ग्यासलाई समेत सोस्छ । यति मात्र नभई तुलसीको बास्नाले घर, आँगनमा मिठो र ताजा सुगन्ध मिल्छ । जसका कारण मानिसको खराब मुडसमेत परिवर्तन गर्ने विश्वास छ ।

एलोपेथिक, होमियोपेथिक र युनानी औषधिहरूमा समेत तुलसीको प्रयाेग गरेकाे पाइन्छ । तुलसीको बोटले वातावरणलाई समेत स्वस्थ पार्छ ।  तुलसीमा भएको युजेनोल नामक अर्गानिक यौगिकले लामखुट्टे, झिँगालगायत कीरा/फट्यांग्रा भगाउँछ । तुलसीको बोटले त्यो स्थान विशेषमा अक्सिजनको मात्रा बढाउँछ ।

तुलसीकाे सेवन वालकदेखि वृद्धसम्मलाइ फाइदाजनक छ । र साइट इफेक्टसमेत नभएकाे मानिन्छ । बहुगुणी तुलसीका फाइदाहरू यस्ता छन्ः

:: आयुर्वेदको अनुसार तुलसी शरीर, मन र आत्माको पीडा हरण गर्ने मानिन्छ । यसमा जीवाणुनाशक मूत्रवर्धक गुणसमेत पाइन्छ । जसले संक्रमण हटाउनुका साथै तनाव र अन्य रोगविरुद्घ प्राकृतिक प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।

:: तुलसी रोग प्रतिरोधक क्षमता बढाउने शक्तिवर्धक औषधि समेत हाे। तुलसीको नियमित सेवनले स्वाइनफ्लुलगायतका फोक्सोको संक्रमणसँग जुध्न सहज हुन्छ । तुलसीमा हुने एन्टिअक्सिडेन्टले शरीरको मृत कोषिकालाई ठीक बनाउन सघाउँछ । स्तन क्यान्सर र मुखको क्यान्सर बढ्नबाट रोक्छ ।

:: युनानी चिकित्सा पद्घतिअनुसार तुलसीमा रोग निको पार्ने भरमग्दुर क्षमता छ । यसले रुघाखोकीको प्रभावलाई कम गर्छ । ज्वरो कम गर्नुका साथै यो मुटुको रक्तनली, कलेजो, फोक्सो, उच्च रक्तचापसँगै चिनीको मात्रा कम गर्नसमेत सहयोगी मानिन्छ । 

:: तुलसी मुटुका लागि पनि फाइदाजन छ । मानिसको आन्द्रामा पाइने जीवाणुको प्रजाति ‘अक्करमेसिया म्युसिनिफिला’ लाई पास्चराइज्ड गरेर उपयोग गर्दा विभिन्न मुटु रोगको जोखिमको कारकमा बढी सुरक्षा प्रदान गर्ने विभिन्न अध्ययनले पुष्टी गरेका छन् ।

:: तुलसीको पातकाे तेलमा पाइने यूजीनोल, मिथाइल यूजेनल र क्यारियोफिलिन तत्वका कारण तुलसी सेवनले शरीरमा इन्सुलिनको मात्रा कायम रहन्छ र ब्लड सुगर सन्तुलनमा राख्न मद्दत गर्छ । तुलसीकाे नियमित सेवनले मधुमेह हुनबाट समेत राेक्छ । 

:: किड्नीको पत्थरी हटाउनका लागि बिहान तुलसीको रसमा मह मिलाएर खान सुझाइन्छ । ६ महिनासम्म यसरी पिउँदा किड्नीको पत्थरी मात्रै हट्ने र दुखाइ पनि कम हुन्छ । 

:: सासको दुर्गन्ध हटाउन पनि तुलसीको पातकाे प्रयाेग गर्न सकिन्छ । तुलसीकाे पात चपाएमा मुखकाे गन्हाउने समस्या हट्न थाल्छ ।

:: तुलसीको पातको दुई–दुई थोपा रस १४ दिनसम्म आँखामा हाल्दा रतन्धो ठिक हुन्छ । आँखोको पहेँलोपन पनि कि हुन्छ । तुलसीको पत्ताको रस गाजल जसरी आँखामा लगाउँदा आँखाको ज्योति बढ्छ ।

:: ज्वरोका लागि पनि तुलसीकाे प्रयाेग लाभदायक छ । तुलसीकाे २० वटा पात र मरिचकाे १० वटा गेडा मिलाएर उमालेर खाँदा ज्वराे निर्मूल हुन्छ । 

:: कुनै पनि प्रकारको छालाको रोगलाई तुलसीले सजिलै निकाे पार्ने विश्वास छ । तुलसी घोटेर छालाकाे राेग भएकाे ठाउँमा लगाउँदा रोग निर्मूल हुन्छ । साथै तुलसीको पातकाे रस रातमा अनुहारमा राम्ररुी लगाउँदा डण्डीफोरसमेत हट्छ । 

:: पाचनक्रिया सक्रिय पार्ने, भोक जगाउने र झाडाबान्ता रोक्ने काम पनि गर्छ तुलसीले । तुलसीको पत्ता र जिरा पिसेर दिनमा तीन–चार पटक खाँदा पखाला रोकिन्छ । अजीर्ण, अरुचि जस्ता सामान्य समस्यादेखि मुटु, मिर्गौला, कलेजो जस्ता जटिल समस्या पनि तुलसीकाे नियमित सेवनले हल गर्छ । 

:: तुलसीका चार–पाँच वटा पात चपाएर खाएमा पेटमा भएका कीरा नष्ट हुन्छन् । सासको दुर्गन्ध नियन्त्रणमा पनि तुलसीको पत्ताले फाइदा गर्छ । आयुर्वेद ज्ञाताहरूका अनुसार तुलसीले छालाका सबै प्रकारका समस्या हटाउन मद्दत गर्छ । तुलसीको रसले मालिस गर्दा हड्डीहरू बलियो हुन्छन् भने छालाका दागहरू हटाई चमक समेत बढाउँछ ।

:: तातोपानीमा तुलसी मिसाएर खाँदा टाउको दुखाइ, चिसोले नाक बन्द हुने समस्याबाट राहत मिल्छ । खाली पेटमा नियमित दूधमा तुलसी मिसाएर खाँदा दम र श्वास–प्रश्वास सम्बन्धी रोगबाट छुटकारा पाउन सकिने समेत देखाएको छ । 

:: पानीको मात्रा अनुसार हरिया तुलसीका पत्ताहरू हाल्नाले पानी शुद्ध एवं किटाणुरहित बन्छ। तुलसी पत्रलाई पानीमा उमालेर शरीरको दुखेको भागमा बाफ दिनाले दुखेको ठाउँमा आराम हुन्छ। तुलसीको रस लगाउने लामखुट्टेले टोकेको समेत आराम मिल्छ। 

:: सानासाना बच्चाको घाँटी असजिलो भएमा वा रूघाखोकीले सताएमा तुलसीको रस पिलाएमा आराम हुन्छ। साना बच्चाको पेट फुलेमा पनि उमेर अनुसार ५\१० ग्राम तुलसीको रस पियाउनाले आराम हुन्छ।

:: स्त्रीको मासिकको समयमा अत्याधिक रक्तश्राव भएमा वा रिगंटा लागेमा तुलसीको रसमा मह मिलाएर खानाले लाभ हुन्छ। साथै तुलसीको बीउमा जीराको चूर्ण र मिश्री मिलाएर साँझ बिहान दूधसँग पिउने गर्नाले पिसाबसम्बन्धी रोग हटेर जान्छ ।

:: तुलसी पत्ताको चूर्ण, सख्खर र कपुर तीन वस्तुलाई समान मात्रामा मिलाएर राती सुत्ने वेलामा चिसो पानी साथमा पिउनाले स्वप्नदोष नाश हुन्छ। प्रतिदिन तुलसीको केही पात चपाएर खाने गर्नाले रक्तशुद्धि हुनुको साथै सौन्दयवृृद्धि हुन्छ।  

:: तुलसीको पातको गोली बनाएर दाँत दुखेको ठाउँमा राख्नाले दाँतको पीडा कम हुन्छ। साथै तुलसीको रसमा मरिचलाई पिसेर त्यसको गोली बनाएर दाँतको बीचमा राख्नाले पनि दाँतको पीडा कम हुन्छ।

:: तुलसीको हरियो पात पिनेर त्यसको रस कानमा हाल्नाले कर्णशूल आदि रोग नष्ट हुन्छन्। तिलको शुद्ध तेलमा तुलसीको रस मिलाएर उमालेर मनतातो पानी कानसम्बन्धी समस्यामा आराम मिल्छ।



प्रतिक्रिया दिनुहोस !