११ जेष्ठ २०८३, सोमबार

कागेश्वरी मनोहरामा निःशुल्क आँखा शिविर, ३८५ लाभान्वित; ७ जनाको मोतियाबिन्दु शल्यक्रिया गरिने

प्रकाशित मिति :  25 May, 2026 10:42 am


काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–७, हरहर महादेवस्थित एकलव्य शिक्षा सदनमा सम्पन्न निःशुल्क आँखा शिविरबाट ३८५ जना स्थानीयवासीले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

तिलगंगा आँखा प्रतिष्ठानको प्राविधिक सहयोग तथा नेसनल ओपन स्काउट क्र्यू मूलपानी र एकलव्य स्काउट ट्रुपको आयोजनामा सम्पन्न शिविरमा स्थानीय बासिन्दाको निःशुल्क आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा विभिन्न प्रकारका आँखासम्बन्धी समस्या भएका बिरामीहरूको पहिचान गर्नुका साथै आवश्यक परामर्श र निःशुल्क औषधि वितरण गरिएको आयोजकले जनाएको छ।

शिविरबाट छनोट भएका मोतियाबिन्दुका ७ जना बिरामीको तिलगंगा आँखा प्रतिष्ठानमार्फत निःशुल्क शल्यक्रिया गरिने जानकारी दिइएको छ। आर्थिक अवस्था कमजोर तथा उपचार सेवामा सहज पहुँच नपाएका नागरिकहरू यस कार्यक्रमबाट प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

आयोजक संस्थामध्ये एकलव्य शिक्षा सदनकी प्रिन्सिपल रोशनी बस्नेतले यस्ता स्वास्थ्य शिविरहरूले समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै रोगको समयमै पहिचान र उपचारमा सहजता ल्याउने विश्वास व्यक्त गरेकी छन्। उनले आगामी दिनमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरेकी छन्।



प्रतिक्रिया दिनुहोस !