११ असार २०८३, बिहिबार

तोलामा ५२ सय रूपैयाँले घट्यो सुन

प्रकाशित मिति :  25 June, 2026 11:29 am


काठमाडौँ । नेपाली बजारमा बिहीबार सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ। पछिल्ला दिनहरूमा लगातार नयाँ उचाइ कायम गर्दै आएको सुनको मूल्य आज एकै दिन प्रतितोला ५ हजार २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर २ लाख ७८ हजार ३०० रुपैयाँमा कायम भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढाव तथा स्थानीय बजारको माग आपूर्तिको अवस्थाले मूल्य निर्धारणमा प्रभाव पार्ने गरेको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोला ४ हजार ४८५ रुपैयाँ रहेको चाँदी बिहीबार २५० रुपैयाँले सस्तिएर प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ।

विश्व बजारमा देखिएको आर्थिक अनिश्चितता, मुद्रास्फीति सम्बन्धी संकेत तथा लगानीकर्ताको व्यवहारका कारण बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिँदै आएको छ। त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्।

सुनको मूल्यमा आएको यो गिरावटले विवाह, ब्रतबन्ध तथा अन्य सामाजिक कार्यका लागि सुन खरिद गर्ने उपभोक्तालाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस !