सीप र बजारसँग जोडिँदा रत्ननगरका सीमान्तकृत महिला आत्मनिर्भर बन्दै
चितवन । सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका चितवनको रत्ननगर नगरपालिकाका सीमान्तकृत महिलाहरू पछिल्लो समय सीप, उद्यमशीलता र बजारसँग जोडिँदै आत्मनिर्भर बन्दै गएका छन्।
‘सिक्स डिग्रीज नेटवर्क फर वुमेन नेपाल’ले सञ्चालन गरिरहेको कार्यक्रममार्फत महिलाहरूलाई सीपमूलक तालिम, उद्यमशीलता विकास र बजार पहुँचसँग जोडिएपछि उनीहरू आफ्नै खुट्टामा उभिन सफल हुन थालेका हुन्।
संस्थाले विशेषगरी मुसहर, दलित तथा अन्य सीमान्तकृत समुदायका महिलालाई लक्षित गरी साबुन, लिप बामलगायत घरेलु उत्पादन निर्माणका साथै ड्राइभिङ, नेचर गाइड र निर्माणसम्बन्धी सीपका तालिम सञ्चालन गर्दै आएको छ। तालिमपछि व्यवसाय सञ्चालनका लागि आवश्यक प्राविधिक तथा आर्थिक सहयोगसमेत उपलब्ध गराइने संस्थाकी प्रतिनिधि श्रीला सरकारले बताइन्।
उनले भनिन्, “हाम्रो संस्थाले आर्थिक रूपमा पछाडि परेका तथा सीमान्तकृत महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ काम गरिरहेको छ। ‘सिक्स डिग्रीज नेटवर्क’को अवधारणाअनुसार संसारका जुनसुकै दुई व्यक्ति छ जना साथीमार्फत एकअर्कासँग जोडिन सक्छन्। हामी पनि यही सञ्जालको शक्तिलाई प्रयोग गरेर महिलाहरूलाई अवसर, सीप र बजारसँग जोडिरहेका छौँ। महिलाहरूलाई साबुन बनाउने घरेलु उद्योगदेखि परम्परागत रूपमा पुरुषले मात्रै गर्दै आएका ड्राइभिङ, नेचर गाइड र निर्माणसम्बन्धी कामका लागि तालिम दिन्छौँ। तालिमपछि सानो लगानीमै व्यवसाय सुरु गर्न आवश्यक प्राविधिक तथा आर्थिक सहयोग पनि उपलब्ध गराउँछौँ।”
उनका अनुसार महिलाहरूले उत्पादन गरेका साबुन र लिप बाम ‘हामी’ ब्रान्डअन्तर्गत बजारमा बिक्री भइरहेका छन्। ‘हामी शक्ति’ ब्रान्डका साबुन नेपाली बजारका अतिरिक्त नेदरल्यान्डसम्म निर्यात हुन थालेका छन्। यसबाट विशेषगरी मुसहर, दलित तथा अन्य सीमान्तकृत समुदायका महिलाले प्रत्यक्ष रोजगारी र आयआर्जनको अवसर पाएका छन्।
संस्थाले उत्पादनको बजार विस्तारका लागि स्थानीय होटल व्यवसायी, निजी क्षेत्र तथा अन्य सरोकारवालासँग सहकार्य पनि बढाइरहेको जनाएको छ। पर्यटन क्षेत्र र स्थानीय बजारमा ‘हामी’ ब्रान्डका उत्पादनको बिक्री बढे महिलाहरूको आयआर्जन थप वृद्धि हुने संस्थाको विश्वास छ।
सरकारले आगामी दिनमा स्थानीय तह, निजी क्षेत्र र विकास साझेदारसँग समन्वय गर्दै उत्पादनको बिक्री वितरण देशभर विस्तार गर्ने योजना रहेको जानकारी दिइन्।
उनले भनिन्, “हामी उत्पादन मात्रै गरेर बस्ने पक्षमा छैनौँ। महिलाले उत्पादन गरेका वस्तु सहज रूपमा बजारसम्म पुगून् भन्ने हाम्रो प्राथमिकता हो। त्यसका लागि स्थानीय सरकार, निजी क्षेत्र र अन्य साझेदारसँग सहकार्य गर्दै उत्पादनको बजार विस्तार गर्ने रणनीतिअनुसार काम गरिरहेका छौँ। यसबाट अझ धेरै सीमान्तकृत महिलालाई आत्मनिर्भर बनाउन सकिने विश्वास लिएका छौँ।”
सीप, उत्पादन र बजारलाई एउटै शृङ्खलामा जोड्ने यस्ता कार्यक्रमले सीमान्तकृत महिलाहरूको आर्थिक अवस्था सुधार्नुका साथै उनीहरूमा आत्मविश्वास र उद्यमशीलताको भावना पनि बढाउँदै लगेको सरोकारवालाहरूको विश्वास छ।
– न्युज एजेन्सी नेपाल








