भानुजयन्तीका अवसरमा बाल गीताञ्जली स्कूलमा कविता वाचन प्रतियोगिता
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकास्थित बाल गीताञ्जली स्कूलमा आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीका अवसरमा विशेष समारोह तथा विद्यालयस्तरीय कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ।
“भाषा हाम्रो पहिचान हो, साहित्य हाम्रो गौरव हो” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विभिन्न कक्षाका विद्यार्थीहरूले आदिकवि भानुभक्त आचार्यका रचना तथा साहित्यमा आधारित कविता भावपूर्ण ढंगले वाचन गरेका थिए। विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रमलाई थप आकर्षक बनाएको विद्यालयले जनाएको छ।
कार्यक्रममा नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा यस्ता सिर्जनात्मक गतिविधिको महत्वपूर्ण भूमिका रहने विषयमा पनि जोड दिइएको थियो। विद्यालयका अनुसार यस्ता साहित्यिक कार्यक्रमले विद्यार्थीहरूमा नेपाली भाषा र साहित्यप्रतिको रुचि बढाउनुका साथै सिर्जनशील सोच, अभिव्यक्ति क्षमता, वाचनकला, आत्मविश्वास र सांस्कृतिक चेतनाको विकासमा टेवा पुर्याउँछन्।
विद्यालयका प्रिन्सिपल महिन्द्रराज घिमिरेले भानुभक्त आचार्यले नेपाली भाषालाई जनमानससम्म पुर्याउन पुर्याएको योगदान सधैं प्रेरणाको स्रोत रहने बताए। “हामीले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानमा मात्र सीमित नराखी भाषा, साहित्य, संस्कृति र नैतिक मूल्यसँग जोड्ने वातावरण सिर्जना गर्नुपर्छ। यस्ता कार्यक्रमले नयाँ पुस्तामा नेपाली भाषाप्रतिको सम्मान र साहित्यप्रतिको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्छ,” उनले भने। उनले आगामी दिनमा पनि विद्यालयले यस्ता सिर्जनात्मक तथा साहित्यिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा सहभागी सबै विद्यार्थीलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै विजयी विद्यार्थीहरूलाई बधाई दिइएको थियो।
विद्यालयले कार्यक्रम सफल बनाउन योगदान पुर्याउने शिक्षक–शिक्षिका, कर्मचारी, निर्णायक मण्डली तथा उत्साहपूर्वक सहभागी सबै विद्यार्थीप्रति आभार व्यक्त गरेको छ।








