इन्डोनेसियाको ८१औँ स्वतन्त्रता दिवसमा काठमाडौंमा झण्डोत्तोलन
काठमाडौं ।
नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतावासले इन्डोनेसियाको ८१औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाडौंको पानीपोखरीस्थित आइएमई कम्प्लेक्समा झण्डोत्तोलनसहित विभिन्न कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का निवर्तमान अध्यक्षसमेत रहेका नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको राष्ट्रिय झण्डा फहराएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले सन् १९६० मा नेपाल र इन्डोनेसियाबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएयता दुई देशबीचको सम्बन्ध निरन्तर सुदृढ हुँदै गएको बताए। उनले व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानका क्षेत्रमा द्विपक्षीय सम्बन्ध थप विस्तार हुँदै गएको उल्लेख गरे।
स्वतन्त्रता दिवसका अवसरमा आयोजित कार्यक्रमले इन्डोनेसियाको आर्थिक, सामाजिक तथा सांस्कृतिक महत्वसँगै नेपाल र इन्डोनेसियाबीचको दीर्घकालीन मित्रता र सहकार्यलाई उजागर गरेको थियो।
नेपाल र इन्डोनेसियाबीच व्यापार, पर्यटन तथा लगानीका क्षेत्रमा सहकार्य बढ्दो क्रममा छ। नेपालले इन्डोनेसियाबाट खाद्य तेल, कोइला, पेट्रोलियम पदार्थ तथा कागजजन्य वस्तु आयात गर्दै आएको छ। नेपालबाट भने छाला, चिया, कफी र हस्तकलाजन्य वस्तुलगायत सामग्री इन्डोनेसिया निर्यात हुने गरेको छ।
दुई देशबीचको व्यापार असन्तुलन कम गर्न नेपालबाट निर्यात बढाउनुका साथै इन्डोनेसियाबाट प्रत्यक्ष लगानी आकर्षित गर्न थप संयुक्त प्रयास आवश्यक रहेको अवैतनिक वाणिज्य दूतको कार्यालयले जनाएको छ।
ढकालले नेपालमा रहेका इन्डोनेसियाली समुदायका सदस्यको उपस्थितिप्रति धन्यवाद व्यक्त गर्दै व्यापार, लगानी र पर्यटनका क्षेत्रमा दुई देशबीचको सहकार्य थप विस्तार गर्न अवैतनिक वाणिज्य दूतको कार्यालय प्रतिबद्ध रहेको बताए।
कार्यक्रममा नेपालस्थित इन्डोनेसियाली समुदायका सदस्य, अवैतनिक वाणिज्य दूतको कार्यालयका कर्मचारी, आइएमई ग्रुपअन्तर्गतका विभिन्न संघसंस्थाका नेतृत्व तथा प्रतिनिधि, शुभचिन्तक र अन्य महानुभावको उपस्थिति थियो।








