नायिका करुणा पाण्डेको तीज गीत ‘मेरै मायाको प्यारी हुने हो’ सार्वजनिक
काठमाडौं । नुवाकोटको रिमालडाँडामा बाल्यकाल बिताएकी नायिका करुणा पाण्डेको नयाँ तीज गीत ‘मेरै मायाको प्यारी हुने हो’ सार्वजनिक भएको छ। सोमबार भदौ १ गते साँझ ४ बजे गीतको म्युजिक भिडियो युट्युबसहित विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको हो।
विभिन्न म्युजिक भिडियो तथा चलचित्रमा अभिनय गरिसकेकी पाण्डेले तीजको अवसर पारेर नयाँ सांगीतिक प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ आएकी हुन्। अभिनयसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएकी पाण्डेले गीतमार्फत आफ्नो कला यात्रालाई थप अघि बढाएकी छन्।
नुवाकोटको ग्रामीण परिवेशमा हुर्किएकी पाण्डे नेपाली कला, संस्कृति तथा सामाजिक गतिविधिसँग नजिक रहेर कलाकारितामा सक्रिय रहँदै आएकी छन्। तीज नेपाली महिलाहरूको महत्वपूर्ण सांस्कृतिक पर्व भएकाले यस अवसरमा सार्वजनिक गरिएको गीतले नेपाली मौलिक संस्कृति र मनोरञ्जनलाई समेट्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ।
‘मेरै मायाको प्यारी हुने हो’ मा गायिका गंगा सोनामको स्वर रहेको छ। गीतका शब्द अशोककुमार सापकोटाले लेखेका हुन् भने नारायण दंगालले संगीत संयोजन गरेका छन्। गीतको म्युजिक भिडियो निर्देशन बिक्रम चौहानले गरेका छन्।
म्युजिक भिडियोमा करुणा पाण्डेसहित अन्य कलाकारहरूको समेत अभिनय रहेको छ। तीजको सांस्कृतिक परिवेश, आकर्षक पहिरन र नृत्यलाई समेटिएको भिडियोले दर्शकको ध्यान आकर्षित गर्ने निर्माण पक्षको विश्वास छ।
गीत सार्वजनिक गरेपछि पाण्डेले दर्शक तथा श्रोताबाट माया, साथ र सकारात्मक प्रतिक्रिया पाउने विश्वास व्यक्त गरेकी छन्। उनले आफ्नो नयाँ सिर्जना हेरेर तथा सुनेर प्रतिक्रिया दिन सबैमा आग्रह गरेकी छन्।
पछिल्लो समय तीजलाई लक्षित गर्दै नेपाली कलाकार तथा सर्जकहरूले नयाँ–नयाँ गीत सार्वजनिक गर्ने क्रम बढिरहेको छ। यही क्रममा पाण्डेको ‘मेरै मायाको प्यारी हुने हो’ पनि तीजको सांगीतिक माहोलमा थपिएको नयाँ प्रस्तुति बनेको छ।








