१५ चैत्र २०८०, बिहिबार

बाढी र पहिरामा परेर गुल्मीमा दुई जनाको मृत्यु

प्रकाशित मिति :  3 July, 2020 1:46 pm


गुल्मी,१९ असार ।

अविरल वर्षासँगै आएको बाढी र पहिराका कारण गुल्मीमा दुई जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् ।

बिहीबार मध्यराति आएको पहिरामा परी इस्मा गाउँपालिका १ मल्दीका वसन्त सारुका १८ महिने छोरा सुरज, र इस्मा– १ अन्तर्गत निस्ती ढाँडफाँटकी सात वर्षीया अपिच्छा खत्रीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए ।

पहिरामा परेर घाइते बनेकी बालिकाकी आमा ईश्वरीलाई स्थानीयवासीले आज बिहान ६ घण्टापछि जीवितै उद्धार गरेका थिए । ढाँडफाँटमा गए राति बस्ती माथिबाट पहिरो खसेको थियो ।

आमासँगै भाग्ने क्रममा बेपत्ता बनेकी बालिकाको शव आज बिहान खोला किनारमा फेला परेको हो।  पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटलसमेत बगाएको छ ।

होटलमा बास बसेका मुसिकोट नगरपालिका –२ का भागीरथ घिमिरे सम्पर्कविहीन भएका छन् । घटनाको जानकारी पाएपछि आज बिहानै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली अत्यावश्यक सामग्रीसहित घटनास्थलतर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।



प्रतिक्रिया दिनुहोस !