५ भदौ २०८३, शुक्रबार

रास्वपा केन्द्रिय समितिको बैठक शुरु, निर्वाचन कार्यविधि र सांगठनिक मनोनयन मुख्य एजेण्डा

प्रकाशित मिति :  21 August, 2026 1:17 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय समितिको बैठक पार्टीको केन्द्रिय कार्यालय चमतीमा शुरु भएको छ ।

बैठकमा पार्टीको आगामी सांगठनिक कार्यदिशा, निर्वाचनको तयारी र आन्तरिक नियुक्तिहरूका सम्बन्धमा विभिन्न प्रश्तावहरूमाथि छलफल भइरहेको हो । बैठकको मुख्य कार्यसूचीमा आगामी २०८३ सालको स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा अनुमोदन गर्ने र ‘राइट टु रिकल’ (प्रत्याह्वानको अधिकार) सम्बन्धी दस्तावेज निर्माण गर्ने विषय समावेश छन् ।

सांगठनिक व्यवस्थापनतर्फ केन्द्रिय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य र विभागीय प्रमुखहरूको मनोनयनका विषयमा बैठकमा निर्णय लिइनेछ। साथै, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्यहरूको मनोनयन गर्ने कार्यसूची समेत रहेको छ ।

यसैगरी, पार्टीका केन्द्रिय सदस्य र प्रतिनिधि सभा सदस्यहरूको नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’ सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुने बताइएको छ । बैठकले पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रश्तावमाथि पनि विचार विमर्श गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !