८ भदौ २०८३, सोमबार

हिक्मत कार्कीले पाए विश्वासको मत

प्रकाशित मिति :  24 August, 2026 5:23 pm


काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

मुख्यमन्त्री कार्कीले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ सांसदले मतदान गरेका छन् । विपक्षमा २२ मत खसेको छ ।

मुख्यमन्त्री कार्कीलाई नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्यले समर्थन गरेका हुन् । कोशी प्रदेशसभामा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सांसद छन् ।

यस्तै, नेपाली कांग्रेसका प्रदेशसभा सदस्यले विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । कांग्रेसका २९ प्रदेशसभा सदस्य रहे पनि विपक्षमा २२ मत खसेको थियो ।

राप्रपाका सभामुखसहित ५ प्रदेशसभा सदस्यले भने मतदानमा सहभागिता जनाएनन् । जनता समाजवादी पार्टीकी एक्ली प्रदेशसभा सदस्य निर्मला लिम्बु पनि बैठकमा उपस्थित भइनन् ।

कोशी प्रदेशसभामा ९३ सदस्यीयमध्ये एक सदस्यले राजीनामा दिएपछि हाल ९२ सदस्य छन् ।



प्रतिक्रिया दिनुहोस !