१६ चैत्र २०८०, शुक्रबार

राखेप सदस्य सचिवमा पुनः सिलवाल, उपाध्यक्षमा कोइराला

प्रकाशित मिति :  27 July, 2020 8:47 pm


काठमाडौं, १२ साउन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव पदमा पुनः रमेशकुमार सिलवाल नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले सिलवाललाई चार वर्षका लागि राखेप सदस्य सचिवमा नियुक्त गरको हो । नयाँ खेलकुद विकास ऐन २०७७ कार्यान्वयनपछि स्वत खारेज भएको सदस्य सचिवको पदमा पहिलो पटक छनोटका आधारमा सिलवाल पुनःनियुक्त भएका हुन् ।

नयाँ ऐनअनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफारिस समितिले पठाएको एक महिलासहित तीन जनामध्येबाट सिलवाल सदस्य सचिव नियुक्त भएका हुन् ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राखेपकी पूर्वसदस्य इन्दिरा निरौला र राखेपका पूर्वअधिकृत रिम रानाभाट सदस्य रहेको समितिले सिलवासहित राष्ट्रिय महिला भलिबल टोलीकी पूर्वकप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल सङ्घका पूर्वउपाध्यक्ष लिलबहादुर थापाको नाम सिफारिस गरेको थियो ।

उक्त पदका लागि २७ जनाले आवेदन दिएका थिए । नयाँ ऐनअनुसार राखेपको सदस्य सचिवका लागि पाँच वटा मापदण्ड तोकिएको थियो । जसमा नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव र प्रचलित कानूनले अयोग्य नभएको हुनुपर्ने उल्लेख गरिएको छ । सिलवाल गत वर्ष असार २३ गते सदस्य सचिव पदमा नियुक्त भएपनि नयाँ ऐन कार्यान्वयनसँगै यही असार १८ गते उनी पदमुक्त भएका थिए ।

बैठकले १३औँ दक्षिण एशियाली खेलकुद (साग) को प्रचारप्रसार विभाग संयोजकको भूमिका निर्वाह गरेका शिव कोइराला राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष नियुक्त भएका छन् । उपाध्यक्ष कोइरालाको पनि चार वर्षको पदावधि रहनेछ ।



प्रतिक्रिया दिनुहोस !