१३ बैशाख २०८१, बिहिबार

मुख्यमन्त्री राउत सप्तरी पुगेर कोरोनाबारे छलफल, रोकथामका लागि १ करोड रुपैयाँ उपलब्ध गराउने

प्रकाशित मिति :  27 July, 2020 9:03 pm


सप्तरी, १२ साउन ।

मुख्यमन्त्री लालबाबु राउतले कोरोनाको उच्च जोखिममा रहेको सप्तरीको स्थलगत निरीक्षण गरेका छन् ।

कोरोनाको अवस्था, रोकथाम, नियन्त्रण तथा उपचारमा भई रहेको गतिविधि तथा अगामी दिनमा चाल्नु पर्ने कदमबारे बुझन मुख्यमन्त्री राउत सप्तरीको सदरमुकाम राजविराज पुगेका हुन् ।

मुख्यमन्त्री राउतले निरीक्षणका क्रममा कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम कार्यलाई उच्च प्राथमिकतामा राख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

समाजिक विकास मन्त्री नवल किसोर साह, चार वटै सुरक्षा निकायका प्रदेश प्रमुखलाई संगै लिएर राजविराज पुगेका मुख्यमन्त्री राउतले कोरोना संक्रमणको वस्तु स्थिति तथा तयारीबारे सप्तरीका सरोकारवालाहरुसँग छलफल गरेका छन् ।

वर्तमान अवस्थामा विकास निर्माण कार्यलाई समेत थाती राखेर जनताको जीवन जोगाउनुपर्नेमा जोड दिंदै मुख्यमन्त्री राउतले भने ,”विकास निर्माण भन्दा जनताको जीवन जोगाउनु आवश्यक छ, यसकालागि सम्पूर्ण व्यवस्थापन गर्न प्रदेश सरकार तयार छ । महामारी रोकथाम , नियन्त्रण तथा उपचारमा कुनै प्रकारको कमी हुन दिने छैनौं ।”

स्वास्थ्यकर्मीलाई पीपीई, मास्क, ग्लोभ्स, स्यानिटाइजर, औषधीसहित अन्य अभावलाई कमी हुन नदिन आवश्यक रकमको प्रबन्ध मिलाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै मुख्यमन्त्री राउतले तत्काल सप्तरीमा आवश्यक व्यवस्थापन गर्न एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा समेत गरे ।

न्यून श्रोत साधनकाबीच कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्यकर्मी, स्थानीय सरकारका जनप्रतिनिधि एवम् कर्मचारीहरुले निभाएको भूमिकाको उनले प्रशंसा गरे ।

सप्तरीमा कोरोना भाइरस समुदायस्तरमा प्रवेश गरिसकेको भन्दै मुख्यमन्त्री राउतले पीसीआर परीक्षणको दायरा बढाउनकालागि तत्काल मेसिन थप्न सम्बन्धित मन्त्रालयलाई निर्देशन समेत दिएका छन् ।

सप्तरीमा कोभिड–१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । यसअघि लक्षण नभएका सङ्क्रमितहरु हुने गरेकामा अहिले आउने सङ्क्रमितमा कोभिड–१९ को लक्षण देखिन थालेको चिकित्सकहरुले बताएका छन् ।

पछिल्लोपटक आउने सङ्क्रमितमध्ये १५ प्रतिशतमा लक्षण देखिने गरेको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रणजीतकुमार झाले बताए ।

जगढ गाउँपालिकाको सेवा बन्द

कोरोना सङ्क्रमणको जोखिम बढेपछि राजगढ गाउँपालिकाले भोलीदेखि अनिश्चितकालका लागि सार्वजनिक सेवाहरु बन्द गरेको छ ।

गाउँपालिकाका अध्यक्ष परमानन्द यादवले आज एक सूचना प्रकाशित गरी गाउँपालिकाबाट प्रदान गरिने सार्वजनिक सेवा बन्द भएको जानकारी दिए । अर्को सूचना नआउञ्जेल अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द रहने सो सूचनामा जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !