८ बैशाख २०८१, शनिबार

‘युरोपका अन्तिम तानाशाह’को २६ वर्षे सत्ताको जग हल्लाउँदै ३७ वर्षीय युवती

प्रकाशित मिति :  10 August, 2020 11:28 am


स्वेतलाना टिखानोव्स्काया

काठमाडौं, २६ साउन । 

बेलारूसको राजधानी मिन्स्कसहित देशका विभिन्न शहरहरूमा प्रहरी र प्रदर्शनकारीहरू बीच हिंसात्मक झडप भईरहेको छ ।

बेलारुसको सरकारी टिभी च्यानलले आइतबारको चुनावको ‘एक्जिट पोल’ जारी गरेको छ र लामो समयदेखि सत्तामा रहेका अलेक्ज्याण्डर लुकाशेन्कोले नै फेरि राष्ट्रपतिमा जित्ने संकेत देखिएपछि उनको विरोधमा नागरिकहरु प्रर्दशनमा उत्रिएका छन् ।

मिन्स्कमा प्रहरीले शहरको केन्द्र नजिकै भेला भएका भीडहरूलाई तितरबितर पार्न ह्याण्ड ग्रिनेड प्रयोग गरेको छ र केही व्यक्ति घाइते भएको खबर सर्वाजनिक भएको छ ।

सरकारी टीभी च्यानलमा प्रसारित ‘एग्जिट पोल’ले लुकाशेन्कोले करिब ८० प्रतिशत मत प्राप्त गरिसकेको र देशका सबै जिल्लाहरुमा विजयी भइरहेका देखाएको छ । जबकि मुख्य विपक्षी उम्मेद्वार स्वेतलाना टिखानोव्स्कायाले ७ प्रतिशत मात्र मत पाएको उल्लेख छ । लुकाशेन्कोलाई रसियन राष्ट्रपति पुटिनले समर्थन गरिरहेका छन् ।

आइतबार साँझ आयोजित पत्रकार सम्मेलनमा स्वेतलानाले आफूलाई यी तथ्याहरुमाथी पटक्कै विश्वास नभएको बताईन् । उनले भनिन्,”मसँग मेरो आँखामा विश्वास छ र म देख्न सक्छु कि बेलारूसको बहुमत हामीसँग छ।”

३७ वर्षीया स्वेतलानाले जेलमा रहेका उनका पतिको ठाउँमा चुनाव लडेकी थिईन र विपक्षी दलको ठूला जनसभाको नेतृत्व गरेकी थिईन् । विपक्षीले पहिल्यै मतदानमा धाँदलीको आशंका गर्दै उनीहरुले वैकल्पिक रुपमा मत गणनाको संख्या राख्ने बताएका थिए ।

देशभर प्रर्दशन चर्किन थालेपछि १९९४ देखि सत्तामा रहेका लुकाशेन्कोले ‘देशको अवस्था नियन्त्रणमा’ रहने  वाचा गरेका छन्।

आइतबारको एग्जिट पोलपछि बेलारुसमा विपक्षीहरूको सबैभन्दा ठूलो जुलुस देखेको थियो त्यसपछि बेलारुस प्रशासनले अगुवा सामाजिक कार्यकर्ता र पत्रकारलाई निशाना बनाएको छ ।

अलेक्ज्याण्डर लुकाशेन्को

मिन्स्क शहरमा आइतबार दिउँसो ‘ मिन्स्क-हीरो सिटी, स्मारक नजिक हिंसात्मक झडप भएको थियो।  प्रत्यक्षदर्शी र संवाददाताहरूका अनुसार पुलिसले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न रबरको गोली प्रयोग गरेका थिए भने मान्छेहरूलाई पानीको फोहोरा प्रहार गरेका    थिए ।

कैंयौ एम्बुलेन्सहरू घटनास्थल तर्फ गईरहेको देखिएको थियो ।

सोशल मिडियामा आएका भिडियो र सञ्चार माध्यमका रिपोर्टहरुमा प्रर्दशनकारी र प्रहरीबीच झडप भएका दृश्यहरु देखिन्छन् । स्थानीय मिडियाहरुका अनुसार थुप्रै व्यक्तिहरू पक्राऊ परेका छन्।

मिन्स्कको सडकमा भेला भएका भिडहरुले लुकाशेन्कोको बिरूद्ध नाराबाजी गर्दै भन्ने गरेका छन्, ‘लुकाशेन्को शक्तिबाट बाहिरिनु पर्छ।’
ब्रेस्ट र जोन्डिनो शहरमा रात भर प्रर्दशन जारी रहेका छन् ।

इन्टरनेट निगरानी समूह ‘नेटब्लक’का अनुसार बेलारुसमा कनेक्टिविटी गम्भीर रूपमा बाधा पारिएको छ जसका कारण मानिसहरूलाई वर्तमान अवस्थाको सही जानकारी लिन ठूलो कठिनाइको सामना गर्नुपरेको छ ।

६५ वर्षीय राष्ट्रपति लुकाशेन्को जसलाई ‘युरोपको अन्तिम तानाशाह’को रूपमा चिनिने गरिन्छ उनले १९९४ मा पहिलो पटक चुनाव जितेका थिए।

२०१५ को चुनावमा उनले विशाल अन्तरले जीतेको घोषणा गरे । त्यो वर्ष लुकाशेन्कोले आफूलाई ८५.५ प्रतिशत भोटले विजयी भएको घोषित गरेका थिए ।

उक्त घोषणका समयमा कुनै उम्मेदवारले उनलाई गम्भीर चुनौती दिएका थिएनन् यद्यपी निर्वाचन पर्यवेक्षकहरूले मत गणना र तालिकिकरणमा केही कमजोरीहरू औंल्याएका थिए । यस वर्षको चुनाव भने उनको नेतृत्वमा बढ्दो निराशाको संकेत बीच भएको थियो।

यसैक्रममा स्वेतलानाले पनि राम्रो ढंगले चुनाव लडिन् । चुनाव अभियानको क्रममा मानिसहरूलाई लाग्थ्यो कि उनले एक राम्रो नेतृत्व दिन सक्छिन् र उनी चुनावको समयमा आम जनताकाबीच छलफलको विषय बनिन् ।

स्वेतलाना एक शिक्षिका थिइनन् र उनी सक्रिय राजनीतिमा प्रवेश गर्नु अघि उनको बच्चालाई सामान्य गृहिणीको रुपमा समय दिईन्। तर उनको श्रीमानलाई पक्राउ गरिसकेपछि र मत दर्ता गर्न प्रतिबन्ध लगाएपछि स्वेतलानाले उनको श्रीमानको राजनीतिमा प्रवेश गरिन् ।

चुनावको सुरुमा उनले बीबीसीलाई भनेका थिईन्, “बेलारुसका जनता हाम्रो देशमा निष्पक्ष निर्वाचन सम्भव छ भन्नेमा विश्वास गर्दैनन्।”

उनले भनेकि थिईन्,”तर म अझै पक्का विश्वास गर्दछु कि हाम्रो राष्ट्रपतिले आफ्नो समय सकिएको बुझ्नेछन्। मानिसहरूले अब उनलाई चाहँदैनन्।”

राष्ट्रपति लुकाशेन्कोले अहिलेसम्म स्वेतलानालाई ‘सानी केटी’भनेर अस्वीकार गरिरहेछन्। लुकाशेन्कोले भने स्वेतलानाले विदेशबाट शक्ति पाईरहेको र उनी कठपुतलीको रूपमा अभिनय गरिरहेको आरोप लगाएका छन् ।

लुकाशेन्को खास गरी स्वेतलानाका समर्थकहरूप्रति कठोर देखिएका छन् । गत महिना जब दशौं हजार मानिसहरु मिन्स्कमा भेला भएका थिए बेलारुसको प्रशासनले केहि मानिसहरुको बिरूद्ध कारबाही शुरू गर्यो।

भियनाको मानवअधिकार केन्द्रका अनुसार मेमा निर्वाचन अभियान सुरु भएदेखि यता २,००० भन्दा बढी मानिसहरूलाई पक्राउ गरिएको छ।
मतदान हुनुभन्दा एक दिन अघि, स्वेतलानाको टोलीले आफ्ना अभियान प्रबन्धक पक्राऊ परेका र उनीहरू सोमबार अगाडि रिहा हुने सम्भावना नरहेको जानकारी गराएका थिए ।

मतदानको दिनमा बेलारुसमा पनि इन्टरनेट सेवाहरू अवरुद्ध भएका थिए। विपक्षीहरूले इन्टरनेट बिना चुनावी धाँधली विरुद्ध प्रमाण जम्मा गर्नु गाह्रो काम भएकाले सरकारले अवरोध गरेको आरोप लगाएका छन् ।

बेलारुसमा निष्पक्ष निर्वाचनलाई लिएर चिन्ताहरू भइसकेका थिए किनकि निर्वाचन पर्यवेक्षकलाई निर्वाचनको निरीक्षण गर्न आमन्त्रित गरिएको थिएन र ४० प्रतिशत भन्दा बढी मतदान आधिकारिक मतदानको मितिभन्दा अघि गरिएको थियो।

कोरोना भाइरस महामारीको विरुद्ध लुकाशेन्को प्रशासनको मनोवृत्ति र असन्तुष्टिका अन्य धेरै कारणहरू मध्ये केही हदसम्म मानिसहरू आक्रोशित छन् ।
राष्ट्रपति लुकाशेन्कोले महामारीको प्रकोपलाई ‘धेरै हल्का’भनेका छन। उनले देशवासीलाई कोरोना संक्रमणबाट बच्न भोडका र सोना बाथ (तातो पानीले नुहाउने) सल्लाह दिएका छन्।

लगभग ९५ लाख जनसंख्या भएको बेलारूसमा अहिलेसम्म ७० हजार कोरोना संक्रमित भइसकेका छन् भने ६ सय मानिसको मृत्यु भएको छ । -बीबीसी



प्रतिक्रिया दिनुहोस !