१६ चैत्र २०८०, शुक्रबार

मकवानपुरको थाहा नगरपालिकामा पहिरो, एक बेपत्ता

प्रकाशित मिति :  14 August, 2020 7:36 am


मकवानपुर, ३० साउन ।

त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा पहिरोमा परेर एक जना बेपत्ता भएका छन् ।

पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तान बेपत्ता भएको इलाका प्रहरी कायालय पालुङका प्रहरी निरीक्षक विकासराज तामाङले जानकारी दिए ।

हिजो बेलुकी गैरीगाउँमा सञ्चालनमा रहेको ढुङ्गाखानी जाने सडकमाथि ढिस्कोबाट खसेको पहिरोले एउटा स्काभेटर र तीनवटा टिप्पर पुरिएका छन् । खानीबाट ढुङ्गा निकाल्ने एक्साभेटर र ढुङ्गा बोक्ने टिप्पर सडकमा रोकिराखेको अवस्थामा पहिरोमा परेका हुन् । गाडीमा रहेका व्यक्ति भने सिसा फुटाएर बाहिर निस्किएका छन् ।

पहिरोपछि बेपत्ता रहेका मोक्तान ढुङ्गाखानीकै कर्मचारीको रुपमा रेखदेखको काम गर्दै आएका थिए । मोक्ता सम्पर्कविहीन भएपछि बेहोस भएकी उनकी पत्नीलाई राति नै नौखण्डेस्थित स्वास्थ्यचौकी पुर्‍याएर उपचार गरिएको छ। पहिरोले सडक पुरिएपछि त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।

घटनाको खबर पाउनेबित्तिकै इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी टोली घटनास्थल पुगेको भए पनि उद्धार गर्न नसकेपछि राति अबेर फर्किएको थियो। अहिले बिहान प्रहरी घटनास्थल पुगिसकेको छ।  पहिरोले सडक पुरिएपछि त्रिभुवन राजपथ अवरुद्ध भएको छ ।रासस



प्रतिक्रिया दिनुहोस !