७ जेष्ठ २०८१, सोमबार

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २५ हजार नाघ्यो

प्रकाशित मिति :  14 August, 2020 4:44 pm


काठमाडौं, ३० साउन ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २५ हजार नाघेको छ ।

पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ५ सय ९४ जना  कोरोना संक्रमित भेटिएपछि कुल संक्रमितको संख्या २५ हजार ५ सय ५१ जना पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा अहिलेसम्मकै धेरै २४ घण्टामा ११ हजार ५७५ जनाको नमूना परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा पर्सा ७१, मोरङ ५३, सुनसरी २४, महोत्तरी २४, बारा २४, तनहुँ २२, बाँके २२, सुर्खेत २१, मकवानपुर १८, सप्तरी १४, सर्लाही १४, चितवन १४, रुपन्देही १४, सिन्धुली ११, झापा ९, कैलाली ९, सिरहा ६, अछाम ६, रौतहट ५, बर्दिया ५, कपिलवस्तु ५, दैलेख ३, सिन्धुपाल्चोक २, नवलपुर २, कञ्चनपुर २ तथा उदयपुर, नुवाकोट, दोलखा, धादिङ, कास्की, लमजुङ, पर्वत, स्याङ्जा, दाङ, सल्यान, बाजुरा, हुम्ला र बझाङमा १–१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा  ११९ जना संक्रमित भेटिएका छन् ।  काठमाडौं जिल्लामा ८३, ललितपुर ३० र भक्तपुरका छ जना संक्रमित भेटिएका हुन् ।

यस्तै कोरोनाबाट हालसम्म नेपालमा मृत्यु हुनेको सङ्ख्या ९९ पुगेको छ । मृत्यु हुनेमा ७७ पुरुष र २२ महिला छन् । कोरोनाबाट मर्नेमा सबैभन्दा बढी प्रदेश नं २ मा ४२ तथा सबैभन्दा कम कर्णाली प्रदेशमा चारजना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट चार जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार आज कोरोनाबाट मोरङ र सिरहाका एक/एक पुरुष तथा बारामा दुई पुरुषको ज्यान गएको हो ।

संक्रमित २५ हजार ५ सय ५१ पुगेकोमा १७ हजार ७७ जना उपचारपछि घर फर्किएका छन् भने ९९ जनाको ज्यान गएको  छ ।



प्रतिक्रिया दिनुहोस !